नेपाल-भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा योजना गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनीमा जन्मिएका, तर उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक पुस्तिका तथा पर्चाहरु वितरण गरेको छ।
बुद्ध सर्किटसम्बन्धी दुई देशका पर्यटन बोर्ड, नेपालका संस्कृति तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बाँडेको थियो।
कार्यक्रममा दुई देशका ट्राभल एजेन्टहरु तथा पर्यटन व्यवसायी पनि सहभागी थिए।
लुम्बिनीमा माघ २ र ३ गते दुइ दिनसम्म चलेको सो कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीहरुले व्यापकरुपमा कार्यक्रमस्थलमै पुस्तिकाहरू वितरण गरिरहँदा नेपाल पर्यटन बोर्ड भने रमिते देखिएको सहभागी कार्यक्रमका प्रकाश न्यौपानेले बताउनुभयो।
भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा सो पुस्तिकामा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै उल्लेख गरिएको छैन। भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङ्किसा, कउसम्बी, कुशीनगर र लुम्बिनीलाई मात्र बुद्ध सर्किट भनेर व्याख्या गरेको छ।
उनीहरुले वितरण गरेको पुस्तिकामा लुम्बिनी समेत नेपालमा पर्दछ भनेर लेखिएको छैन। उनीहरुको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन् मात्र लेखिएको छ भने अरू सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ।
नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको, तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्नु आवश्यक रहेको बताउनुभयो।
भैरहवा क्याम्पसका क्याम्पस प्रमुख डा घनश्याम न्यौपानेले बुद्धको जन्म तथा शुद्धोधनको दरबार नेपालमा पर्छ भन्ने यथेष्ट प्रमाण हुँदा पनि नेपाली पक्षबाट यसको कुटनीतिक पहल गरी नसच्याउनु नेपालको दुर्भाग्य भएको कुरा बताउनुभयो।
स्थानीय पत्रकार नरेश केसीले नेपालमै आएर कपिलवस्तु भारतमा पर्छ भन्दैपुस्तिका वितरण गर्नु नेपालीहरुका लागि लज्जाजनक भएको कुरा बताउनुभयो। -रासस
मेरो विचार: नेपालका मन्त्री मात्र होइन, प्रायजसो सबै कुटनीतिक मर्यादाको ख्याल गर्दैनन। उनीहरुलाई उपस्थित हुन पाए हुन्छ, त्यसमा पनि विदेश जान पाए त हामफाल्नु पर्छ। भारतीय राजदूत उपस्थित हुने कार्यक्रममा नेपालका मन्त्री किन उपस्थित हुन्छन? जहाँसम्म पुस्तिकाहरू बाँडिएको कुरा छ, यो त नेपालको दुर्भाग्य नै हो। हाम्रो कुटनीति यति फितलो छ कि, कुटनीतिक नियोगमा मानिसहरु खालि जागिर मात्र खान्छन। राजनीतिक दलको मानिस कुटनीतिज्ञ भएर गएपछि त्यसले के कुटनीति गर्ने? आफ्नो राजनीतिक दलको पक्षपोषण गर्ने मात्र न हो।
र सबैभन्दा दुर्भाग्यको कुरा नेपाली जनता आफै हुन जो कुर्चीका लागि लडिरहने राजनीतिक दलका झोले मात्र भएका छन। त्यसैले उनीहरु नेपाली भूमिको जतिसुकै अपमान भए पनि अपमान गर्नेकै पक्षमा बोल्छन, खासगरी त्यति बेला जति बेला विपक्षीहरुको सरकार सत्तामा हुन्छ।
No comments:
Post a Comment