एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमाले र राष्ट्रपति चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउँदै त्यस षडयन्त्रका विरुद्ध नयाँखाले विद्रोह गर्ने चेतावनी दिनुभएको छ। पार्टीको कास्की जिल्ला समितिको पाँचौं सम्मेलनको पोखरामा उद्घाटन गर्दै उहाँले आउँदो वैशाख वा जेठको दोस्रो सातासम्म संविधान सभाको चुनाव हुन नदिए पहिले गरिएका सबै सम्झौताहरु च्यातिने र नेपाली जनताले यस्ता अपराधीलाई दण्डित गर्ने चेतावनी दिनुभयो।
शान्तिपूर्ण सम्झौताको बाटोबाट परिवर्तन संस्थागत होस् भन्ने नेकपा माओवादीले चाहे पनि त्यस विरुद्ध षड्यन्त्र भइरहेको छ भन्दै अध्यक्ष दाहालले चुनाव हुन नदिने आफ्नो दल नभई कांग्रेस, एमाले र राष्ट्रपति हुन भन्नुभयो। ‘अध्यादेश गएर राष्ट्रपतिकहाँ रोकिन्छ। कांग्रेस-एमाले राष्ट्रपतिलाई अध्यादेश पास नगर्न खबरदार गर्दैछन्,' दाहालले भन्नुभयो, ‘अध्यादेश जारी भए भोलि नै निर्वाचन प्रक्रिया अघि बढाउन आपत्ति छैन।'
आफ्नो दलको नेतृत्वको सरकारले नयाँ निर्वाचनको घोषणा गरे पनि कानून बनाउन नदिएर नेकपा माओवादीलाई घेराबन्दीमा गरिएको गुनासो दाहालले गर्नुभयो। ‘हिजो बाह्र बुँदे सहमतिको विरोध गर्ने तथाकथित बुद्धिजीवीहरुले अहिले डेकेन्द्र र कुमार लामाको प्रकरणमा फसाउन वा माओवादीलाई निर्वाचन घोषणा गरेर पनि नियम कानून बन्न नदिन सघाएको कुरा अध्यक्ष दाहालले बताउनुभयो।
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि दैलेख प्रकरण कोट्ट्याउँदै ‘मानवता विरुद्ध काम गर्नेलाई सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएर छानबिन गरौं भनेका हौं, तर त्यससम्बन्धी राष्ट्रपतिकहाँ पुगेको विधेयक छ महिनादेखि त्यहीं रोकिएकोमा चिन्ता व्यक्त गर्नुभयो। द्वन्द्वकालमा मारिएका १५ हजारमध्ये १३ हजारको मृत्यु कांग्रेस र एमालेको शासनकालको घटना भएकोमा ती सबै छाडेर एउटा मात्र मुद्दा उचालेर १२ बुँदे सहमतिलाई बिथोल्ने काम भैरहेको कुरा प्रधानमन्त्रीले बताउनुभयो।
कानूनको अभावमा बजेट दिन नपाएर वर्तमान सरकारले जनतासामु राहतका कार्यक्रम ल्याउन नसकेको गुनासो प्रधानमन्त्री भट्टराईले गर्नुभयो।
No comments:
Post a Comment