नेपालले कसैलाई (कुनै देशको 'युद्ध-अपराधीलाई') यस्तो व्यवहार गरेको भए उनीहरु मानव अधिकारको कुरा उठाएर विश्वभरि हल्ला फैलाउँथे, सर पूंजीवादी संचार माध्यमलाई उचल्थे, अनि देशलाई नै अपराधी साबित गर्न पछि पर्दैनथे, जसरी यिनीहरुले युद्ध अपराधको बोझमा थिचिएको इजरेललाई काखी च्यापेर भए पनि आफ्नो राज्यको अधिकार मागिरहेका निहत्था प्यालेस्टिनी जनतालाई अपराधी साबित गरिरहेका छन।

यस्तो अवस्थामा कमजोरहरुले ढीकतिर जानुहुन्न (धकलेर लडाइदिनसक्छन), कान्लातिर पनि जानुहुन्न (च्यापेर मारिदिनसक्छन)। यो हाम्रा बुढा-पाकाहरुको भनाइ हो। एकदम सटिक भनाइ। त्यसैले, आमा नभएको बाच्छाले गराको बीचमै उभिएर चर्नुपर्छ।
नेपाली राजनीतिज्ञहरु हो, तिम्रो अचाक्लिका कारण महासेनानी लामालाई बेलायतले पक्राउ गर्नसकेको हो, दलगत स्वार्थलाई त्यागेर, देशको हितलाई सर्वोपरी ठानेर, तिमीहरु मिलेर समयमा शान्ति प्रक्रियालाई टुङ्ग्याइदिएको भए, त्यसको मर्मअनुसार पहिलेइ तय भएको सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर युद्ध अपराधका घटनाहरुको आफै छिनोफानो गरेको भए, देशको संविधान बनाइदिएको भए, देशको आन्तरिक समस्या समाधानका नाममा अर्को स्वदेशी दललाई पछारेर आफू सत्तामा पुग्ने होडमा विदेशीका ढोका-ढोका चाहार्ने नगरेको भए लामालाई गिरफ्तार गर्न सक्दैनथ्यो, बेलायत सरकार। औषधि दिन समेत हेलचेक्र्याईं गरिएको भनेर लन्डनस्थित नेपाली दूताबासले दाबी गरेको मधुमेहका रोगी लामालाई भेट्नका लागि कन्सुलर एक्सेस् राइट विपरीत भेट्न नदिइएको आक्रोश बेलायती निकाय समक्ष व्यक्त गर्नुपर्दैनथ्यो, आदि इत्यादि।
यसर्थ, यी सबै समस्याको मूल कारण हामी आफै हौँ भन्ने बुझेर नेपाली राजनीतिक दलहरुले 'तँ सत्तामा रहेर चुनाब गराउँन मिल्दैन, म सत्तामा गएर चुनाब गराउँछु' भन्नेजस्ता केटाकेटी कुरालाई एकातिर पन्छाएर मिलेर तत्काल चुनाबमा जानुपर्छ, र वैधानिक निकायमार्फत, फेरि पनि मिलेर, देशको प्रशाशन चलाउने प्रयास गर्नुपर्छ, अनि तिमीहरु मिलेर अघि बढेको अवस्थामा कुनै पनि बेलायती कानूनले तिमीलाई छुनसक्नेछैन।
No comments:
Post a Comment