केका लागि झापड हानेहोलान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बाग्लुंगे भाइ पदम कुँवरले? आखिर उनी अट्ठाइस हजार रुपियाँ धरौटी पनि तिर्न नसक्ने अवस्थाका रहेछन। गाँउका सिधासादा नेपालीहरु बरु पिंडा खपेर बस्छन, तर यस्ता हुलहुज्जत गर्ने काम गर्दैनन्। यसो गर्नुको उद्देश्य के चर्चामा आउनु नै थियो त उनका लागि? या त कसैले उनलाई उकास्यो? सबै ठुला पार्टीका नेताहरुले झापट खाइसकेको अवस्थामा एकीकृत नेकपा माओवादीका नेता मात्र चोखो रहेकोमा कसैलाई दाढ़ लागेको थियोहोला कि!
जे होस्, आफै गरे पनि, कसैले उकासेर गरे पनि एक दुइजनाको झापडले यी भ्रष्टहरुले भरिपूर्ण यस देशमा कुनै सुधार हुनेवाला छैन भन्ने कुरा त कुँवर भाइले देशका पछिल्ला राजनीतिक परिघटनाबाट अनुमान लगाइसक्नुभयोहोला। यदि नबुझ्नुभएको भए म सुझाव दिने धृष्टता गर्छु: भेडा-बाख्राका रूप धारण गरिसकेका हामी सबै नेपालीहरुले एक जुट भएर प्रजातन्त्रका खोल ओढेका यी सबै 'गधा'हरुलाई बहिष्कार गर्नसकेको खण्डमा मात्र देशको अवस्थामा सुधार आउने छ।
अहिले मैले यो 'प्रजातन्त्र'भन्दा पंचायती प्रजातन्त्र शान्ति-सुरक्षा र जनहितका दृष्टिकोणले राम्रो थियो भन्दा कसैले मलाई प्रतिगामी पन्चे भन्नसक्छ। तर म कसैको अन्ध-भक्त पनि होइन, र कसैको झोले पनि होइन जो मालिकको झोला बोकेवापत पाउने दुइ पैसाका लागि उसका हरेक गलतीलाई पनि सही भन्दैहिंड्छ। म त सही राम्रो कुरा त कट्टर विरोधीले गरेको भए पनि समर्थन गर्छु, र लाजै नमानी अनुसरण पनि गर्छु। सहीलाई सही भन्न केको लाज? हैन त?
अट्ठाइस हजार रुपियाँको धरौटी पनि आफै तिरेर तारिखमा उम्कन नसक्ने (या त नसक्ने देखाएका) कुँवर भाइको धरौटी स्वंय एमाओवादी अध्यक्ष दाहालले तिरिदिने भएपछि कुँवरको घैंटामा घाम लग्योहोला कि, को आफ्नो को पराया भन्ने कुराको ज्ञात भयोहोला कि! यदि कसैले उक्साएर नै झापड हन्नापुगेको भए, त्यो उक्साउने मानिस त तिमीलाई सहयोगको हात बढाउन आइपुगेन!
जे होस्, कुँवरको रिहाइसम्बन्धी प्रक्रियागत कुराहरुका बारेमा माओवादी अध्यक्ष दाहालले प्रहरी महानिरीक्षक कुवेरसिंह रानासङ्ग टेलिफोनमा छलफल गरिसक्नुभएको छ। दाहालका स्वकीय सचिव चुडामणि खड्काले कुँवरको धरौटी तिरिने बताइसक्नुभएको छ। भनेपछि, कुँवर भइ छिट्टै रिहा होलान। यसको केही सकारात्मक प्रभाव पर्छ कि!
तस्विर सौजन्य: इकान्तिपुर
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment