Monday, December 17, 2012

बाबुराम भए पनि रामबाबु भए पनि हामी नेपाली जनतालाई के फरक पर्छ र?

प्रधानमन्त्री बाबुराम भट्टराईले 'तत्काल राजीनामा नदिने' अडान दोहर्‍याएपछि सोमबार हुने भनिएको सहमति तुहिएको छ अरे। आफै त कामचलाउ, त्यस्तो कामचलाउले कसरी राजिनामा दिने? त्यसमाथि पनि, अलिकति भए पनि राजनीतिक जिम्मेवारी बोध गर्नसक्ने व्यक्तित्व हो भने उसले आफूखुशी सत्ताबाट बाहिरिनै मिल्दैन। किनकि त्यसो गर्दा देशमा सत्ता रिक्तताको स्थिति आउँछ। त्यही सत्ता रिक्तताको स्थिति नआवस भन्ने अभिप्रायले नै कामचलाउको व्यवस्था गरिएको हो। नत्र भने, प्रधानमन्त्री बाहिर कतै जाँदा मन्त्रिमण्डलको बरिष्टतम मन्त्रीलाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोक्नुपर्ने आबश्यकता किन पर्थ्यो र? यौटा सामान्य सानो कार्यालयको हाकिम बाहिर जाँदा पनि अर्को अधिकारीलाई कायममुकायम दिएर जानुपर्ने व्यवस्था छ। 

भनेपछि, यहाँनेर को बुद्धिमान देखिन्छ? 'तत्काल राजिनामा' दिएर सत्ता रिक्तताको स्थिति सिर्जना गर्न नचाहने (कामचलाउले कसरी राजिनामा दिने?) प्रधानमन्त्री, कि सत्ता रिक्तताको स्थिति आए आवस, तिमी राजिनामा देउ(कामचलाउले कसरी राजिनामा दिने?), अनि हामी प्रधानमन्त्री बन्छौं भन्ने मान्छे? कसले सहमति गर्न चाहिरहेको छैन, कसले अर्घेल्याईं गरिरहेको छ, छुट्याउने जिम्मेवारी तपाईं आदरणीय पाठकहरुको। मैले त मेरो यो सानो दिमागले बुझेको कुरा स्थितिको अवस्थासहित जस्ताकोतस्तै राखिदिएको मात्रै हुँ।
जे होस्, जसका कारणले होस्, सहमति फेरि भाँडिएछ। प्रधानमन्त्रीले संविधान संशोधन गरी पुनः हुने संविधानसभा चुनावको मिति घोषणापछि मात्र राजीनामा दिने अडान लिएपछि सहमति अन्तिम समयमा भाँडियो रे। संविधान संशोधन गरी पुनः हुने संविधानसभा चुनावको मिति पनि  घोषणा नगर्ने, विघठित संविधान सभाले आजसम्म गरेका कामलाई निधिका रुपमा स्वीकार गर्ने व्यवस्थामा सहमति पनि नगर्ने, खालि तिमी राजिनामा देउ, म प्रधानमन्त्री बन्छु, अनि सबै काम म पछि गर्छु भन्ने? अरु सारा विषय-वस्तुलाई एकातिर पन्छाएर प्रधानमन्त्रीको राजीनामाको मात्र रट लगाइरहेकाहरुले कुर्ची पाएपछि यी सबै काम गर्छ भन्ने के ग्यारन्टी? आखिर प्रधानमन्त्रीकै कुर्चीकै लागि मात्र यो लुछाचुंडी हो भने त बाबुराम भए पनि रामबाबु भए पनि हामी नेपाली जनतालाई के फरक पर्छ र? 
प्रधानमन्त्रीले अडान नछाडेपछि विपक्षी दलहरुले प्रधानमन्त्रीलाई मनाउने जिम्मा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन अरे। कुकुरको ध्यान हड्डीतिर भन्दा अन्त जान्छ र? माधव नेपालले पनि तिमी राजिनामा देउ, हामी प्रधानमन्त्री बन्छौं, अनि सहमति गरौंला भन्ने नै हो। अनि कसरी सहमति बन्छ? म केही पनि छोडदिन, तिमी मात्र केही छोड या पूरै छोड भनेर सहमति हुन्छ र? 

No comments:

Post a Comment