आज फेरि नेपालको हवाई क्षेत्रको उल्लङ्घन गर्यो कसैको लडाकु विमानले। चीन र जापान दुबैले 'मेरो' भनी दावी गरिरहेको त्याओ यु (जापानी भाषामा सेन्ककु) द्वीप नजिकैबाट अस्ति भर्खरै चिनियाँ हवाई जहाज उडेको विरोधमा प्रतिकारस्वरुप जापानले त्यहाँ लडाकु विमान पठाएको थियो। तर नेपालसङ्ग त लडाकु विमान पनि छैन, के पठाउने! त्यसका अतिरिक्त, हामीसङ्ग त्यस्तो राडार पद्धति पनि छैन, जसले हाम्रो हवाई क्षेत्रको उल्लङ्घन भएको सङ्केत र जानकारी देवोस। भए पनि, शायद अहिलेको अवस्थामा हामी त्यसको उपयोग गर्दैनथ्यौंहोला। मरम्मतका लागि भनेर झिकिराखेको बोइंगको पांग्रो समेत बेचेर खाइदिने हामी नेपालीहरु मरम्मत र कमिसनको चक्करमा त्यो राडार पद्धति पनि बिग्रेको छ भनेर नचलाएर राखिदिन्थ्यौं, शायद।
यस्तै अव्यवस्था र भ्रस्टाचारको भुमरीमा फसेकै कारण नेपालले विश्वमा बेइज्जती खप्नु परिरहेकोछ। तर पनि हामी चेत्दैनौ। किनकि हामी सबै व्यक्तिगत हिस्सा र लाभको चक्करमा फसेकछौँ। नेपाल टेलिकमले भित्र्याएको टोकन पद्धति यस्तै यौटा उदाहरण हुनसक्छ।
काठमाडौँको मध्ये-आकासलाई सेतो पारदर्शी धुवाँको मुस्लोले दुइ फ्याक पार्दै गएको त्यो आकृतिलाई मेरा आँखाले देखे। नेपालको ताल देखेर मेरो दील पनि त्यसैगरी दुइ फ्याकजस्तै भयो तर म केही गर्न सक्दिन। त्यस दृश्यलाई कैद गर्नका लागि मसङ्ग क्यामरा त छैन, अरु के गर्नसक्नु! नेपाल नागरिक उड्डयन प्राधिकरण वा विमानस्थल संचार बुर्जामा सोध्यो भने उठ्पट्याङ्ग जवाब दिएर टारीदिन्छन।
नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापछि यसरी पटक-पटक नेपाली हवाई क्षेत्रको उल्लङ्घन भैरहेको छ। तर हामीकहाँ कतै कोही बोल्दैन, मानौं कतै केही भएकै छैन। कतिपयलाई त थाहै छैन, त्यो लामो, सेतो धुवाँको धर्सो कसरी बन्यो भन्ने कुरा। अधिकांश सर्बसाधारण नेपालीका लागि त त्यो बादलको धर्सो मात्र हो। बुझ्नेले नबुझिदिएपछि कसको के लाग्छ र!
No comments:
Post a Comment