नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा स्वीकार्न नसकिने कुरा बताउनुभएको छ। आफ्नै निवास महाराजगंजमा आज पत्रकारहरुसँग कुराकानी गर्दै सभापति कोइरालाले 'त्यो कुरालाई (अध्यक्ष दाहाललाई) कुनै पनि हालतमा स्वीकार्न सकिँदैन' भन्नुभयो।
सहमतिका लागि अहिले कुनै पनि प्रयास नभएको बताउंदै सभापति कोइरालाले राजनीतिक निकासका लागि नेपाली कांग्रेसले वार्ता, आन्दोलन र संवैधानिक उपायलाई एकैसाथ अवलम्बन गरिरहेको जानकारी दिनुभयो।
मेरो विचार: सहमतिका लागि कुनै प्रयासै नगर्ने, खालि तिमी छोड, मेरो नेतृत्वमा सरकार गठन गर्छु भन्दैमा कसैले मान्ला र भनेको? अर्कालाई निषेध गर्ने, प्रधानमन्त्री सहभागी भएको कार्यक्रम नै बहिष्कार गर्ने, तर प्रधानमन्त्री पाइने भयो जस्तो लागेपछि प्रचण्ड निवास लाजिम्पाटसम्म आफै धाउने, आफुलाई अस्वीकार गरिएपछि नानाथरी गाली गर्ने, चरित्रहत्या गर्ने प्रयास गर्ने, अब आएर दाहाललाई हुदैहुदैन भन्ने; यस्तो गरेर पनि सहमति हुन्छ र भनेको?
म बाहेक अरु कसैलाई पनि हुँदैन भन्ने हो भने, तिमीलाई पनि हुँदैन भनेर अर्काले पनि जरुर भन्छ। त्यसैल, यो निषेध र बहिष्कारको राजनीतिलाई त्यागेर, जुँगाको लडाईं छोडेर अब त देशको अवस्थातिर पनि दृष्टि दिने कि, राजनीतिक दलहरुले।
संविधान सभाका लागि निर्वाचनको मिति घोषणा, रिक्त संवैधानिक आयोगमा पदपूर्ति र संविधान संशोधनलगायतका विषयबारे समग्रमा सहमति गर्ने र त्यसपछि निश्चित समयसम्म अहिलेकै सरकारलाई सहमतिको सरकारमा रुपान्तरण गरेर त्यसपछि निर्वाचन सम्पन गराउनका लागि कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने भन्ने प्रधामन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलको प्रस्ताव कसैका लागि घातक त निश्चय नै देखिदैन। फरक के मात्रै हो भने, माओवादीले राखेको यी प्रस्तावलाई सहमतिको रुप दिएको खण्डमा भोलि सत्तामा गएपछि निर्वाचन गराउन्न भन्न पाइदैन। माओवादीले शायद यसै कुराको सुनिश्चितता खोजेको छ, जुन, मेरो विचारमा, नेपाल र नेपाली दुबैको हीतमा छ।
No comments:
Post a Comment