Sunday, December 30, 2012

नेविसंघभित्र सर्वसत्तावाद लादिएको भन्दै असन्तुष्टि


काठमाडौं, पुस १५ - नेपाल विद्यार्थी संघका नेताहरुले संगठनभित्र सर्वसत्तावाद लादिएको भन्दै महामन्त्री प्रकाशमान सिंहसँग असन्तुष्टि जनाएका छन् ।
घोषित महाधिवेशन नहुने निश्चित हुँदा पनि पार्टीले सहजिकरण नगरेको भन्दै नेविसंघ पूर्वउपाध्यक्ष नैनसिंह महर नेतृत्वको टोलीले सिंहसँग आइतबार बिहान असन्तुष्टि जनाएका हुन् । 'हामी एमाओवादीले सर्वसत्तावाद लादेको भनिरहेका छौं,' महरले भने, 'तर नेविसंघभित्र पार्टीले उल्टै सर्वसत्तावाद लादेको कस्ले देख्ने ?'
कांग्रेसले नेविसंघ महाधिवेशन माघ पहिलो साता गर्ने घोषणा गरे पनि क्याम्पस ईकाई, क्षेत्रीय र जिल्ला अधिवेशनहरु भएका छैनन् । 'क्याम्पस ईकाई अधिवेशन अब सम्भव छैन, सवै क्याम्पसमा जाडो बिदा भएको छ,' महरले भने, 'यो सरासर महाधिवेशन हुन नदिने षड्यन्त्र हो, पार्टीले पहलकदमी लिन सकेन ।'
असन्तुष्ट नेविसंघ नेताहरुले आफूखुशी गठन र विघटन गरेका ईकाई समिति खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले निर्वाचन समिति बनाउन, महाधिवेशन स्थलको घोषणा गर्न पनि माग गरेका छन् ।
महामन्त्री सिंहले सभापति सुशील कोइरालासँग छलफल गरी नेविसंघको विवाद मिलाउन पार्टीले भूमिका खेल्ने स्पष्ट पारे ।
 साभार: इकान्तिपुर 

No comments:

Post a Comment