Sunday, December 30, 2012

के संघीय समाजवादी पार्टीले जनताका समस्या बुझ्नसक्ला: या फेरि यो पनि सत्ता साझेदारीको हिस्सा मात्र बन्ला?


यो देशमा राजनीतिक दलहरुको ओइरो लाग्ने क्रम अझै जारी छ। राजनीतिक दलगत सिद्धान्त भन्दा पनि व्यक्तिगत सिद्धान्तमा बेमेल देखिनासाथ दुइ/चारजनालाई फुटाएर आफ्नो पक्षमा ल्याई नयाँ दल गठन गर्ने र पार्टी अध्यक्ष बन्ने, परिआएका बेला सत्ता बनाउने र भत्काउने खेलमा सहभागी हुने, त्यसैका माध्यमबाट राजनीतिक फाइदा लिने नेपाली राजनीतिको परम्परा नै बनिसकेको छ। यसै परम्पराको परिणाम हो, नेपालमा शायद संसारका कतिपय मुलुकको तुलनामा सबैभन्दा बढी राजनीतिक दल छन्। 

तर दुर्भाग्य नेपालको र नेपालीको, कुनै पनि राजनीतिक दलले आजसम्म देश र जनताका मुद्दामा नगन्य मात्र आवाज उठाएको छ। कथमकदाचित उठाइहलेछ भने पनि, त्यो आवाज आफ्नो दलगत स्वार्थ पूर्तिसम्म मात्र अस्तित्वमा रहनेगरेको पाइएको छ। हेरौं, अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टी घोषणा भएको एक महिनापछि आज घोषणा गरिएको जन-जाति अगुवाहरुको नेतृत्वमा गठित सामाजिक लोकतान्त्रिक पार्टीले जनतालाई के दिने आँट गर्छ। यो राजनीतिक दल पनि कतै आफ्ना झोलेहरुको पक्षपोषक नै बन्ने हो कि भन्ने कुरामा शंका गर्ने ठाउँ भने प्रशस्तै छ। 

अशोक राईको नेतृत्वमा पार्टी बनाउन एकमत भए पनि सैद्धान्तिक विषयमा कुरा नमिलेको भन्दै अन्तिममा छुटि्टएका चैतन्य सुब्बा, पासाङ शेर्पा, कृष्ण भट्टचन, कुमार राईलगायतका राजनीतिक व्यक्तित्वद्वारा आज राजधानीको चाबहिलमा आयोजित कार्यक्रममा नयाँ पार्टीको घोषणा गरिएको छ। 
सात सदसीय अध्यक्षमण्डल र एकाउन्न सदसीय कार्यसमिति गठन गरिएको यस राजनीतिक दलको अध्यक्षमण्डलमा सुब्बासहित पासाङ शेर्पा, बमकुमारी बुढामगर, कुमार राई, पासाङ शेर्पा, दलमर्दन कार्मी, निमाग्याल्जेन हृयोल्मो र ज्योति दनुबार रहनुभएको छ। सहमतिअनुसार, उहाँहरुले पालैपालो नेतृत्व गर्नुहुनेछ। घुम्दैफिर्दै रुम्जाटार भनेझै कुरा नेतृत्वकै देखिन्छ। तथापि, दलको घोषणा सभामा दिइएको जानकारीअनुसार 'संघीयता, बहुराष्ट्रवाद, आदिवासीवाद र सामाजिक न्याय यस दलको प्रमुख सिद्धान्त हुनेछ । आशा गरौँ, यस दल पनि सत्ता साझेदारीका मुद्दामा मात्रै नअल्झियी थोरै मात्र भए पनि जनताका समस्यामा जोरदार आवाज उठाउनतिर लाग्नेछ। 

No comments:

Post a Comment