कुनै देशको राष्ट्रपतिजस्तो सर्वोच्च, त्यसमा पनि कुनै विवादमा पर्नु नपर्ने गरिमामय संवैधानिक पदमा रहेको व्यक्तिलाई दिइने सम्मानका सन्दर्भमा सम्मान प्रदान गर्ने निकायले निस्चय नै औपचारिक पत्र पठाएको हुनुपर्ने। त्यस पत्रमा स्पष्टसङ्ग लेखिएको हुनुपर्ने- राष्ट्रपति यादवलाई कुन सम्मानले विभूषित गरिंदै छ भनेर।
राष्ट्रपति यादवलाई 'डक्टर अफ लेटर्स' अर्थात् डिलिट उपाधि प्रदान गर्न लागिएको भन्ने राष्ट्रपति कार्यालयको दाबीको बनारस हिन्दु विश्वविद्यालयले खण्डन गरेको छ। विश्वविद्यालयको प्रेस विभागका अध्यक्ष प्राध्यापक राजेश सिंहले राष्ट्रपति यादवलाई कानुनसम्बन्धी उपाधि 'डक्टर अफ ल' अर्थात् एलएलडी प्रदान गर्नलागिएको कुरा स्पष्ट पार्नुभएको छ।
त्यसोभए, यत्रो संवेदनशील विषयमा गलती कसले गर्यो त? 'यताबाट सूचना दिन कुनै किसिमको गलती भएको छैन, नेपाली प्रेसले नै गलत खबर छापे' भनेर भारतीय पक्षले यस बारेमा आफू स्पष्ट भएको कुरा जनाइसकेपछि गलती राष्ट्रपति कार्यालयकै सूचना निकायबाट भएको स्पष्ट हुन्छ। यसको गलतीका कारण घरेलु आलोचना छल्दै परिवारका सबै सदस्यहरु समेटेर भारतको पाँच दिने भ्रमणका लागि सोमबार वाराणसी पुग्नुभएका राष्ट्रपति महोदयलाई असहज परिस्थितिको सामना गर्नुपर्यो।
राष्ट्रपति महोदयले अब नेपाली संचार माध्यमहरुले राष्ट्रपति कार्यालय र मन्त्रीहरुलाई उद्धृत गर्दै प्रसार गरेको विद्यावारिधिभन्दा उच्च स्तरको डाक्टर अफ लेटर्स नभई कानुनमा विद्यावारिधि सरहको डाक्टर अफ लको उपाधि थापेर फर्कनुपर्ने भएको छ।
घटना परिस्थितिले राष्ट्रपति महोदयलाई अलिक खल्लो अनुभव जरुर भएको हुनुपर्छ, तर कुरा सम्मानको मात्र भएकाले यो अथवा त्यो विषयको सम्मानले केही पनि फरक पार्दैन। तथापि, राष्ट्रपति कार्यालयको सूचना निकायमा कार्यरत पत्रकार मित्रहरुको कार्य-क्षमता र विश्वसनीयतामा भने यस घटनाले प्रश्न उठाउने ठाउँ जरुर बनाइदिएको छ।
No comments:
Post a Comment