Monday, December 24, 2012

सन्त नेता कृष्णप्रसाद भट्टराईले स्थापित गर्नुभएका मूल्य-मान्यताको राजनीति अहिले पनि उत्तिकै आवश्यक: प्रधानमन्त्री बाबुराम भट्टराई


प्रधानमन्त्री बाबुराम भट्टराईले कसैलाई पनि निषेध गरेर राजनीति अघि बढ्न नसक्ने कुरा बताउनुभएको छ। नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको उनानब्बेऔ  जन्मजयन्तीका अवसरमा ललितपुरको बाडेगाउँस्थित उहाँकै आश्रममा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले सन्त नेता कृष्णप्रसाद भट्टराईले स्थापित गर्नुभएका मूल्य-मान्यताको राजनीति अहिले पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो।
 
प्रधानमन्त्री भट्टराईले मूल्य र मान्यताको राजनीतिको क्षयीकरण डरलाग्दो तरिकाले भैरहेको विचार व्यक्त गर्दै यसमा सुधार गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। 

प्रधानमन्त्री भट्टराईले सहमतिको सरकार र आफ्नो राजीनामाका सन्दर्भमा देशमा अहिले नराम्रो खेल भैरहेको, र अहिले पनि संविधान सभाको निर्वाचनभन्दा प्रधानमन्त्री को हुने भन्ने कुरा पहिलो प्राथमिकतामा परेको छ भन्नुभयो। उहाँले संसदीय प्रणालीमा संसद् विघटन हुँदा यस अघि बहाल रहेको सरकारले नै निर्वाचन गराउने परम्परा छ, तर अहिले प्रधानमन्त्रीको विषयलाई लिएर अनावश्यक हठ सिर्जना गरिएको छ भन्नुभयो। 

प्रधानमन्त्री भट्टराईले संविधान संशोधनका लागि बाधा अड्काउ फुकाउन, निर्वाचनको मिति घोषणा गर्न र निर्वाचन आयोगका पदाधिकारी नियुक्तिका लागि सहमति गरौं, त्यसपछि पहिलो चरणमा समय तोकेरै मेरै नेतृत्वमा सहमतिको सरकार बनाऔं, अनि निर्वाचनका लागि कांग्रेस नेतृत्वमा जाऔं। यसो गर्दा वैधानिकता पनि रहन्छ भन्नुभयो। 

आफ्नो यस प्रस्तावलाई कुनै लप्पनछप्पनका रूपमा नलिन आग्रह गर्दै प्रधानमन्त्रीले 'म बाधक छैन, बरु दूत बनेर आउने व्यक्तिहरुले स्वार्थ लुकाएर वास्तविकता नभनेको हुनसक्छ, 'कांग्रेसका नेताहरू यहाँ हुनुहुन्छ, तपाईंहरूले वास्तविकता यस्तो रहेछ भनेर भनिदिनुपर्‍यो' भन्नुभयो।

प्रधानमन्त्रीले पुस मसान्तभित्र सहमति गर्न नसके वैशाखमा निर्वाचन हुन नसक्ने बताउँदै आकर्षक मन्त्रालय लिएर भए पनि यही सरकारमा आउन पटक-पटक आग्रह गर्नुभयो। 'कुन-कुन मन्त्रालय लिँदा चित्त शान्ति हुन्छ, त्यसमा सहमति गर्न तयार छौं, तर एउटाले हार्ने अर्कोले जित्ने गरी प्रधानमन्त्री नै चाहिन्छ भन्ने हो भने सहमति हुनसक्दैन', प्रधानमन्त्रीले भन्नुभयो।
 
कार्यक्रममा प्रधानमन्त्री भट्टराईले सन्त नेता कृष्णप्रसाद भट्टराईको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवशीय टाँचा पनि लगाउनु भयो।

यसैबीच, प्रधानमन्त्री भट्टराई उपस्थित भएका कारण सन्त नेता कृष्णप्रसाद भट्टराईको जन्मजयन्ती मनाउन कांग्रेसका शीर्ष नेताहरू  बाडेगाउँ नगई  क्षेत्रीय सभापतिहरूको प्रशिक्षणस्थल थलीमा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले आयोजना गरेको स्मृति कार्यक्रममा सहभागी भएको बताइएको छ।

यसरी सहमति हुनसक्ला त?

No comments:

Post a Comment