निरन्तरको हिमपात र पहिलेको सोभियत संघको पालाको जस्तो केन्द्रिय आतापन व्यवस्थाको अभावका कारण पहिलेको सोभियत गणराज्य युक्रेनमा चिसोबाट मर्ने मानिसहरुको संख्या कम्तिमा त्रियासी पुगेको छ।
यस महिनाको अधिकतम तापक्रम शून्यबाट तेइस डिग्री न्यून रहेको र निरन्तररुपमा बाक्लो हिमपात भैरहेका कारण युक्रेनको राजधानी कीइव र मुलुकको अधिकांश भाग जमेको बाक्लो हिउँको पत्र मुनि रहेको युक्रेनी अधिकारीहरुले जनाएका छन्।
युक्रेनको पश्चिमी भागमा तीन दिनदेखि जाममा परेका वाहनहरुको लाम करिब बीस किलोमिटर पुगेको बताइएको छ। यस प्रकारको विषम मौसमको चपेटमा परेका युक्रेनका छिमेकी राष्ट्रहरु बल्गेरिया र रोमानियामा पनि छजना मानिस मरेको खबर छ।
त्यस क्षेत्रमा यस प्रकारको मौसमी अवस्था यस्तै रहिरहनसक्ने र तापक्रम अरु घट्नसक्ने चेतावनी मौसमविद्हरुले दिएको बिबिसीले जनाएको छ। अत्यधिक चिसोका कारण एक सयभन्दा बढी शहर र गाउँहरुको विद्युत आपूर्ति बन्द भएको छ, आकस्मिक कार्यमा लागेका मानिसहरु मरम्मत कार्यमा जुटेका छन्।
यसैबीच, आवश्यक परेका स्थानहरुमा, खासगरी घरबार बिहीन र बुढा-बुढीहरुका लागि हजारौं तापन केन्द्रहरुको व्यवस्था गरिएको, र उनीहरुलाई तातो खान र सुत्नका लागि न्यानो बिछ्यौन दिईएको जानकारी युक्रेनका स्वास्थ्य मन्त्री ब्लाजिमिर युर्चेन्कोले दिनुभएको छ।
तस्विर सौजन्य: रोएटर
No comments:
Post a Comment