Sunday, December 23, 2012

राष्ट्रपति रामवरण यादव अहिले विदेश भ्रमणमा जान नहुने:सभापति कोइराला


नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुक असहज स्थितिमा रहेकाले यस्तो अवस्थामा राष्ट्रपति रामवरण यादव विदेश भ्रमणमा जान नहुने कुरा बताउनुभएको छ। क्षेत्रीय सभापतिहरूको राष्ट्रिय भेलाअघि शनिबार काठमाडौंको थलीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले मुलुकको संकट समाधानपछि राष्ट्रपतिले विदेश भ्रमण गरे मात्रै राम्रो सन्देश जाने बताउनुभयो।
राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफैंले पटक-पटक गरेको आह्वान सफल नहुँदै राष्ट्रपति यादव अनावश्यक मानिसहरुको भिड (छोरा, बुहारी, छोरी, नाति, सचिव, सल्लाहकारहरूदेखि भान्सेसहित २६ जना) बटुलेर भारतको पाँच दिने भ्रमणका लागि सोमबार त्यसतर्फ जाँदैहुनुहुन्छ।

उप-प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति विदेश भ्रमणमा नजानु नै उत्तम हुन्छ भनेर आफूहरूले पटक-पटक आग्रह गरेको बताउनुभएको छ। 'अप्ठ्यारो परिस्थितिमा मुलुक नछाड्न राष्ट्रपतिज्यूको ध्यानाकर्षण गराएकै हौं', शनिबार संचारकर्मिहरुसङ्ग कुरा गर्दै श्रेष्ठले भन्नुभयो, 'यस्तो बेलामा जाने/नजाने भन्ने स्वविवेकको कुरा हो।'

विदेश मामलाविज्ञ राजन भट्टराईले 'दलहरूबीच सहमति नबनिरहेका बेला राष्ट्रपति भारत भ्रमणमा जानु उपयुक्त नहुने कुरा बताउनुभएको छ। दलहरू छलफलमै भएकाले राष्ट्रपतिको भूमिका बढेर जानसक्ने भएकाले विदेश भ्रमणको औचित्यबारे सोच्नुपर्ने कुरा उहाँले संचारकर्मीहरुलाई बताउनुभयो। 

भूतपूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले  राष्ट्रपतिज्यूको भ्रमणको आशय जेसुकै भए पनि आफ्नो मुलुकको समस्याको निकास खोज्नका लागि नेपाली नेताहरूले विदेश धाउन नहुने टिप्पणी गर्नुभयो।

राष्ट्रपति यादवले भारत भ्रमणका क्रममा बनारस विश्वविद्यालयको एक सय पचासौं स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी भएपछी  नयाँ दिल्ली गई भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री मनमोहन सिंह, वरिष्ठ मन्त्रीहरू, यूपीए अध्यक्ष, विपक्षी दलका नेताहरू सङ्ग भेट-वार्ता गर्ने कार्यक्रम रहेको कुरा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

मेरो विचार: राष्ट्रपति रामबरण यादवले पाँचौ पटकको समयावधिमा पनि सहमतिको सरकार गठन गर्नेबारे दलहरु बीच सहमति हुननसकेको खण्डमा नयाँ सरकार गठन गर्नका लागि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा अघि बढ्नुपर्ने संकेत गर्नुभएको भन्ने समाचार केही दिनअघि  बाहिर आएको थियो। धेरैजसो विकसित देशहरुको कुरा गर्दा, ति देशका नेताहरु विदेशको भ्रमणमा रहेको भए पनि आफ्नो देशमा असहज परिस्थिति आइपर्दा भ्रमण छोट्ट्याएर भए पनि स्वदेश फर्कन्छन। नेपाली नेताहरुले पनि यस अभ्यासलाई उदाहरणका रुपमा लिए हुँदैन र? आफ्नो सुबिधाअनुसार भए विदेशी अभ्यासलाई उदाहरणका रुपमा स्वीकार गर्ने, अनुकुल नभए त्यस्ता अभ्यासको बेवास्ता गर्नु शायद उचित राजनीतिक संस्कार होइन। त्यसका अतिरिक्त, देशमा असहज परिस्थिति आइपरेका बेला विदेश भ्रमण गरी त्यहाँका  नेताहरुसङ्ग गरिने भेट-वार्ताले सही संदेश दिन्छ जस्तो लाग्दैन। 

No comments:

Post a Comment