Friday, January 4, 2013

इलाममा यौन दुर्व्यवहारको अवस्था र सजाय


इलाममा यौन दुर्व्यववहारका घटनामा आश्चर्यजनक रूपमा बृद्धी भएपछि त्यहाँको सुरक्षा निकाय चिन्तित भएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा यस आर्थिक वर्षको छ महिनामा आठवटा यौन दुर्व्यवहारका घटना दर्ता गरिएको छ। यौन दुर्व्यवहारका आठमध्ये चारवटा घटनाका शिकार बालिकाहरु नै भएका छन्।
गत वर्ष जबर्जस्ती करणी र यौन दुर्व्यवहारका नौवटा मुद्दा प्रहरीमा दर्ता भएको जानकारी दिदै प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले भन्नुभयो, “यो वर्ष छ महिनामै गत वर्षको जति यौन दुर्व्यवहारका घटना प्रहरीकहा आएका छन्, यसले यौन दुर्व्यवहारका घटना बढेको देखाएको छ।”
जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्षमा बालिका बलात्कार गरी हत्या गरेका इलाम सुलुबुङका युवराज लुम्रेमगर सर्वस्वसहित जन्मकैद भोगिरहेका छन् । गत आवमा बालिका र महिलामाथि जबर्जस्ती करणी गर्ने सन्तोष सुनुवार दर्जी, तेजप्रसाद ढकाल, खगेन्द्र बस्नेत र तुफान राई पुर्पक्षका लागि थुनामा छन।
यस्तै करणी मुद्दाकै आरोपित इलाम सिद्धिथुम्काका मनबहादुर सिञ्जाली फरार रहेको कुरा प्रहरीले जनाएको छ । यस्तै यस वर्षको साउनदेखि पुस १७ गतेसम्ममा जबर्जस्ती करणी अभियोगमा रत्नबहादुर तामाङ, अमृत फागो लिम्बु, अर्जुन लामगादे विक थुनामा परेका छन।
त्यस्तै चुलाचुलीस्थित भानु मावि बुकुवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर सम्वाहाम्फे, चमैताका आकाश राई र कुमार गुरुङ, दिलकुमार तामाङ र मनवीर एक्तेन पुर्पक्षका लागि थुनामा परेका छन।
दिन प्रतिदिन महिला हिंसाका घटनामा वृद्धि भइरहेकाले यसको नियन्त्रणका लागि ग्रामीण क्षेत्रसम्म सूचनाको विस्तार गर्नुपर्ने, जनचेतना अभिवृद्धि गर्नुपर्ने श्री दाहालको सुझाव छ । त्यसका लागि प्रहरी कार्यालयले स्थानीय एफएम रेडियोमार्फत सार्वजनिक सूचना प्रसारण गर्ने तयारी पनि गरेको छ । रासस

No comments:

Post a Comment