Sunday, November 22, 2020

नेपालकाे इतिहासको सबैभन्दा कालो दिनः मंसीर ७ गते

ईण्डियनहरुको नागरिकता षडयन्त्रको जग नै मंसीर ७

आज नेपालको इतिहासमा सबैभन्दा कालो दिन। देशलाई आज जुन अवस्थामा पुर्याइएको छ, त्यसको शिलान्यास गरिएको दिन। आजकै दिन २०६२ सालमा प्रायोजित द्वन्दरत पक्षहरुलाई दिल्लीमा जुटाएर नेपाल विरोधी मिशनमा खटाईएको थियो। त्यसै दिन विदेशीहरुले बोकाएका एजेन्डाहरुलाई साझा एजेन्डा बनाएर हिंडेपछि दल नामका गिरोहहरुका बीचको तुलनात्मक अन्तर समाप्त भैसकेको छ।

ईण्डियाका दिवंगत राष्ट्रपति प्रणव मुखर्जीले अल जजीरा टेलिभिजनमा १२ बुँदे समझदारी आफूहरुले गराएको दाबी गरेका थिए। संविधान जारी गर्नुभन्दा अगाडि १२ बुँदेका ईन्जिनियर श्यामशरणले आफूहरु १२ बुँदे समझदारी गराएको र नेपालको सत्ता राजनीतिको स्टेक होल्डर भएको हुँदा संविधानमा आफ्ना मागहरु पनि सामेल गर्नुपर्ने भन्दै ईण्डियनहरुले सहज ढंगले नागरिकता पाउन सक्नेगरी ऐन बनाउनुपर्ने कुरा उठाएका थिए। १२ बुँदेमा स्वीकार गरिएको ईण्डियन सर्तअनुसार नै जन्मका आधारको नागरिकता पारित गरेर अन्तरिम संविधानमा हालिएकाे थियो। २०७२ सालको ईण्डियन नाकाबन्दीको मूख्य कारण यही थियो।

२०६३ सालपछि १२ बुँदे समझदारीलाई आधार बनाएर संगठित गरिएको राज्य प्रणालीको अन्त्य वर्तमान संकटको समाधानको दिशामा पहिलो सर्त हो। जसले उक्त षडयन्त्रमूलक कालो घटनालाई अग्रगमन र शान्ति प्रकृयाको थालनीका रुपमा अपव्याख्या गर्दछन्, ती अहिले पनि विदेशी मिशनमा सकृय छन् भन्ने कुरा स्पष्ट हुन्छ।

विदेशीकाे डरलाग्दाे षडयन्त्रका जगमा निर्माण गरिएको अहिलेकाे राज्यप्रणाली, राज्यनीति र राज्यसत्ताकाे जग भत्काउनु नै नेपालकाे स्वाधिनतालार्इ बचाइराख्ने अन्तिम उपाय हाे। विदेशीले जुटाइ दिएर गरिएको राष्ट्रघाती १२ बुंदे सम्झौताले हामीलाई कहाँ पुर्याउँदैछ, हरेक नेपालीजनले गहन समिक्षा गर्ने बेला भैसकेकाे छ। –भरत दाहालकाे फेसबुक वालबाट

Monday, November 16, 2020

आज तिहारको अन्तिम दिन भाइटीका: दिदी–बहिनीहरूद्वारा दाजु–भाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै

तिहारको अन्तिम दिन आज अधिराज्यभरि परम्पराअनुसार दिदीबहिनीहरूद्वारा  दाजुभाइको दीर्घायुको कामनाका साथ भाइटीका लगाइँदै छ। यसपालि भाइटीकाको उत्तम साइत विहान ११ बजेर ७ मिनेटजाँदा जुरेको कुरा नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। तिहारको अन्तिम दिन आज दिदीबिहनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिंदा धार्मिक विधिअनुसार मण्डप बनाएर अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर नओइलाउने मखमली, सयपत्री र दूबाको माला लगाइदिएर चिरायुको कामना गर्नेगर्दछन। 

पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मानपूर्वक पूजाआजाका साथै टीका लगाई दिर्घायुको कामना गरेकी हुँदा त्यसै घटनाको सम्झनामा दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबिहनीले भाइटीका लगाउने परम्परा चल्दैआएको हो। 

टीकामा साइतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनुका साथै दाजुभाइलाई 'गुन, मिठाई, फलफूल, ओखर, कटुस र मसला तथा सेलरोटी दिने चलन छ। दिदीबहिनीहरूले टीका लगाइदिएपछि दाजुभाइहरूले पनि आफ्नो गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर उनिहरूको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको काना गर्दछन। 

दिदीबहिनी नहुने दाजुभाइहरूले आज काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित यमलेश्वर महादेवको मन्दिरमा दर्शन गरी टीका लगाउने चलन छ। प्रत्येक वर्ष उक्त मन्दिर आज भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहन्छ। आज टीका लगाएर खानपान गरिसकेपछि घरघरमा गई श्रीसम्पत्तिको कामना गर्दै देउसी खेल्ने चलन छ। तर काेराेना महामारीका कारण यस पटककाे द्याैसी भैलाे पूर्णरुपेण प्रभावित बनेकाे छ।

यमलेश्वर मन्दिर रानीपोखरी

वर्षमा एक पटक भाइटीकाका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडाैं रानी पोखरीस्थित यमलेश्वर, बालगोपालेश्वर महादेव मन्दिरमा आज विहानैदेखि दिदीबहिनी नहुने दाजुभाइहरूको भीड लाग्नेगरेको छ। तर यस वर्ष काेराेनकाे महामारीका कारण मन्दिर खुल्ने सम्भावन कमै छ। दिदीबहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिरमा स्थापित महादेवको मूर्तिबाट टीका लगाउने वा मन्दिर वरपर बसेका दिदीबहिनीका हातबाट टीका ग्रहण गर्ने गदर्छन। दिदीबहिनी नहुने कतिपय दाजुभाइले तुलसीको डाँठले आफै टीका लगाउने पनि गर्छन। 

मन्दिर परिसरमा सप्तरंगी टिका र रातो अक्षता लिएर बसेका दिदीबहिनीहरूको हातबाट अहिले थुप्रै सर्वसाधारणले टीका थापिरहेका छन। 

वर्षमा एक पटक मात्र खुल्ने भएकाले यस मन्दिरमा टीका लगाउका लागि मात्र नभई घुमफिरका लागि पनि मानिसहरु आउनेगर्दछन। तस्विर सौजन्य: गुगल 

 

Sunday, November 15, 2020

आज कार्तिक शुक्ल प्रतिपदा तिथि, अधिराज्यभरि गोबर्द्धन पूजा गरी मनाइँदै

हिड्दा ठेस, नुहाउदा केश नझरोस… 

आज कार्तिक शुक्ल प्रतिपदा तिथि, अधिराज्यभरि गोबर्द्धन पूजा गरी मनाइँदै छ। 

नेपालीहरूको दोश्रो ठूलो चाड तिहारअन्तर्गत आज अधिराज्यभरि गोबर्द्धन पूजा गरिदैछ। आज कृषि कार्यसँग विशेष रूपमा गाँसिएका गाई, बाच्छा तथा गोरूलाई पूजा गरी रोटी, बाबर, पीठो आदि खानेकुरा खुवाइन्छ। प्रचलनअनुसार, आज सारा बारी जोतेर अन्न उत्पादनमा सहयोग गर्ने गोरुको निधारमा रातो टीका लगाएर पूजा गर्ने, माला लगाइदिने अनि मीठा-मीठा घाँस तथा अन्य खानेकुरा खानादिइन्छ। 

धार्मिक मान्यताअनुसार गोवंशको सुरक्षा एवं वृद्धिका लागि भगवान श्रीकृष्णले घाँसपात र पानीले सम्पन्न गोबर्द्धन पर्वतको पूजा गर्ने परम्परा बसालेको विश्वास लिई आज गोबरबाट गोबर्द्धन पर्वतको प्रतीक बनाएर गाई, गोरू, बाच्छा र पर्वतको पूजा गरिन्छ।  

भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा अाइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबरधन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ। भगवान श्री कृष्णसंँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ। आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाउनुभएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ। यसरी गोबर्धन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोबर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिअाएको छ।

गोबर्धनका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै अाज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो। श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन। आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो। हलोको तलपट्टि जमिनलाई खोस्रिन धातूबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ। आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरु लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ।

प्राचिन नेपाली समाजको स्मरण गर्ने हो भने गोरुगाडा लगायतका जनावरले तान्ने गाडाहरु नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरु थिए। यीनै गोरुहरु अनि बहरका लागि आजको दिन पिठो, नुन, चोक्कर र पानी मिश्रीत घोलका साथै चामलको पिठो र तिउन हालेर बनेको गिलोरोटी अर्थात सया खान दिइन्छ। 

आजको दिनको अर्को महत्वपूर्ण सांस्कृतिक रौनक हो, देउसी ! बलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरुको यो साङ्गीतिक टाेलीले गाउने अनि प्रस्तुत गर्ने सांगीतिक कोसेली नै देउसी हो। 

देउसीमा एकजना भट्याउने ब्यक्ति हुन्छन् जसलार्इ अन्य सदस्यहरूले  सामान्यतया सामूहिक रूपमा भाकामा साथ दिने गर्दछन। स्वर अनि छन्दका विषयमा भने भट्याउने ब्यक्ति जानकार हुन जरुरी छ। 

देउसेले दिएको आशिषले साँच्चिकै विशेष मान्यता राख्दछ....

"
यसपाला आँउदा जस्ताको छाना 
अर्कोसाल आँउदा पक्काको छाना 
त्यस्पछि आँउदा चाँदीको छाना 
त्यसपछी आँउदा सुनको छाना 
यो घरैका केटा केटी
दुवो मौलाए झै मौलाइ रहुन..." जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भीक छन। यसपालि सामाजिक दूरी कायम गरेर भए पनि देउसी खेल्न नदिने सरकारकाे निर्णयले हाम‍्राे सा‌ंस्कृतिक परम्परामाथि अाघात पुगे पनि वास्तवमै हामी सबैलाई देउसेले दिने आशिष लागोस्, सद्भाव बढोस। 

Saturday, November 14, 2020

देवकाेटा जयन्तीका दिन देवकाेटाबारे केही जानकारी जस्ताकाे तस्तै

 

महाकवि देवकोटा – प्रमुख सन्दर्भ

• लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
• तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए ।
• देवकोटाका सात जना दिदीहरू थिए ।
• देवकोटाले दस वर्ष नपुगी कविता लेखेका थिए । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षकमा उनले कविता लेखे ।
• देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढेका थिए ।

• देवकोटाले १७ वर्षको हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढेका थिए ।
• देवकोटाले आइएस्सी पढ्दा लेखेको ‘वसन्तषोडसी’ शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो ।
• देवकोटाले प्राइवेट परीक्षार्थीका रुपमा पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे ।
• सोह्र वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो ।
• देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए ।
• देवकोटा जुवा, तास र पासामा पनि पारङ्गत थिए । उनी रक्सी पनि खान्थे ।
• देवकोटा गीत गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे ।
• देवकोटालाई २००४ सालमा वनारसबाट प्रकाशित हुने “उदय”मा ईश्वर बरालले “महाकवि” लेखेपछि उनलाई महाकवि भन्न र लेख्न थालियो । त्यसभन्दाअघि उनलाई युगकवि भनिन्थ्यो ।
• देवकोटा महाकविमा प्रसिद्ध भएपछि सिद्धिचरण श्रेष्ठले देवकोटासँग “युगकवि”को उपाधि मागेर २०१२ सालमा आफ्नो नाउँअघि युगकवि लेखे; अनि उनी पनि युगकविमा नै चर्चित भए ।
• देवकोटाले लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए ।
• देवकोटाले त्रिचन्द्र कलेजमा प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसर हुने उनी प्रथम नेपाली थिए ।
• देवकोटा गरीव थिएनन् तर अति अव्यवहारिक थिए । हातमा पैसा परेपछि कसरी फुर्मास् गर्ने भन्ने सोचमा उनी केन्द्रित हुन्थे । अनि जताबाट भए पनि उनी पैसा मास्नेतिरै उन्मुख हुन्थे र भोलिपल्टदेखि भोकै पनि सुत्थे ।
• देवकोटाले पैसा जोहो नगर्ने मुख्य कारण के पनि थियो भने मनदेवीले धर्मका नाउँमा पैसा उडाउन थालेपछि देवकोटाले पनि घरमा पैसा ल्याउन मन गर्दैन थिए ।
• देवकोटालाई १९९५ साल पुस २० गतेदेखि १५५ दिन राँचीको पागल खानामा राखिएको थियो ।
• पागल खानाको उपचारका क्रममा देवकोटालाई डा.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मनु भौगोलिक गल्ती हो ।’
• देवकोटाले २०१० सालमा रूमानिया जाँदा सिरक, डस्ना र सिरानी नेपालबाटै लगेका थिए । उनी जहाजबाट ओर्लेपछि आफ्नो बेडिङ आफै बोकेर हिड्थे । त्यतिबेलाको त्यो दृश्य धेरैलाई रमिता भएको थियो ।
• देवकोटा २०१० सालमा चीन गए । त्यसबेला अध्यक्ष माओ त्सेतुङसँग उनले हात मिलाएका थिए ।
• देवकोटाले चीनबाट फर्केपछि चीन र माओको धेरै व्याख्या गरे । त्यसबारे उनले दुईटा कविता पनि लेखे । त्यसपछि उनलाई कम्युनिष्टको आरोप लगाएर काङ्ग्रेसले धेरै दुक्ख दिन थाले । तर उनलाई राजा महेन्द्र र गणेशमान सिंहले काखी चेपेका थिए ।
• गणेशमान सिहंले देवकोटाको खुट्टा नै ढोग्थे ।
• देवकोटा भारतका तीन महान कवि प्रसाद, पन्त र निराला बराबरी एउटै सिङ्गो कवि थिए भनेर भारतका महापण्डित राहुल साङ्कृत्यानले लेखेका थिए ।
• देवकोटाले महापण्डित राहुल साङ्कृत्यानकै कारणले ‘पागल’ लेखे र त्यस कविताको प्रथम पाठक जनकलाल शर्मा थिए । पागल कविता वाचनकै क्रममा देवकोटाले जनकलाल शर्मालाई झन्नै कुटेका थिए ।
• देवकोटालाई पागल सम्झेर मदन पुरस्कार (त्यस पुरस्कारलाई म बक्सिस् भन्छु) दिइएन । खास कुरा के थियो भने रानी जगदम्बाले देवकोटालाई पुरस्कारका साथै थप नगद र जिन्सी दिन्छिन् भन्ने डरले उनलाई जगदम्बाको आँखाबाट ओझेल पारिएको थियो ।
• देवकोटा अति नै लोकप्रिय भएपछि मदन पुरस्कार गुठीका अध्यक्ष (रानी जगदम्बाका तत्कालीन निजीसचिव) कमल दीक्षितले देवकोटाको स्तुति गरेर २०६६ सालमा “गुरूभेटी” भन्ने किताप लेखे- “२००४ सालमा वनारसमा देवकोटाले भिख माग्दा मैले पनि एक रूपियाँ चन्दा दिएको थिएँ” भन्ने उक्त कितापको मुल मन्त्र देखियो । त्यसै सन्दर्भमा मैले (नरेन्द्रराज प्रसाईले) त्यस बेहोराको कठोर आलोचना गरेर दीक्षितकै सम्पादनमा मदन पुरस्कार गुठीबाट प्रकाशित “नेपाली” त्रैमासिक २०६६ सालमा एउटा लेख छपाएको थिएँ ।
• देवकोटाबारे कमल दीक्षितको “गुरूभेटी” काण्डको लिङ्क प्रस्तुत छ; http://hknepal.com/wp/?p=11914
• देवकोटाले आदिकवि भानुभक्त आचार्यलाई सर्वोत्कृष्ट कवि मान्थे ।
• देवकोटाले कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समलाई धेरै सम्मान गर्थे । उनी पौड्यालको त खुट्टै ढोग्थे ।
• देवकोटाका गणेश पं.श्यामदास वैष्णव थिए । देवकोटा भन्थे वैष्णव कविता लेख्तै जान्थे । देवकोटाले तलव थाप्ने दिन पैसाको थैलो बोक्न पनि वैष्णव उनी सँगसँगै जान्थे । त्यस बेला कागजको नोट हुँदैनथ्यो धातुको सिक्का हुन्थ्यो ।
• देवकोटा आफ्नो निर्णयमा हिड्दैन थिए; जसले जे भन्यो उनी त्यसकै पछि लाग्थे ।
• देवकोटालाई २००४ साल साउन ३ गते आफ्ना दास्तावेज लेखाउन काङ्ग्रेसले अनेक प्रलोभन देखाएर बनारस पुर्याएका थिए । भोकभोकै बस्न थालेपछि उनी काङ्ग्रेसलाई सराप्तै नेपाल आए ।
• देवकोटा २००९ साल वैशाख १ गते राजा त्रिभुवनबाट सांसद भए । त्यसपछि पनि राजा महेन्द्रले उनलाई माननीय सांसदमा मनोनीत गरेका थिए ।
• देवकोटा साइकलमा हिंड्थे ।
• २०१३ सालमा भारतमा सम्पन्न अफ्रोएशियाली लेखक सम्मेलनमा भाग लिने देवकोटा पहिलो नेपाली थिए । त्यसबेला उनको केहीले अपमान गरे तापनि सबैभन्दा धेरै मान उनैको गरिएको थियो । “धर्मयुग”जस्तो सुप्रसिद्ध र विशिष्ट हिन्दी पत्रिकाले समेत देवकोटाको फोटो आवरणमा राखेर जय मनाएको थियो ।
• २०१५ सालमा अफ्रोएशियाली सम्मेलन सोभियतसङ्घको तासकन्दमा भएको थियो र त्यहाँ जाने पनि देवकोटा पहिलो नेपाली थिए । त्यसबेला उनको भाषण संसार प्रसिद्ध भयो । देवकोटापछि अफ्रोएशियाली सम्मेलमा भाग लिने प्रथम नारी स्रष्टा डा.वानीरा गिरी थिइन् ।
• देवकोटाले नै नेपाली भाषालाई सर्वप्रथम अङ्ग्रेजी साहित्यका माध्यमले अन्तर्राष्ट्रिय जगतमा पुर्याएका थिए । उनी नेपाली, अङ्ग्रेजी, नेवारी लगायत चौध भाषा बुझ्थे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदामा छापिएको थियो ।
• डा.केआई सिंहको प्रधानमन्त्रित्वमा देवकोटा शिक्षा मन्त्री भए । केआई सिंहले धर्मराज थापालाई मन्त्रीमा सिफारिस गरेका थिए तर राजा महेन्द्रले देवकोटाको नाउँ मन्त्रीमा घोषणा गरे ।
• देवकोटा २०१४ साल साउन ११ गतेदेखि ११० दिनसम्म मन्त्री भएका थिए । त्यसैबेला नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा हिन्दी भाषा झिकेर नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाएका थिए ।
• देवकोटाले मन्त्री भएका बेला उनका समकक्षी मन्त्री जनरल भूपालमानसिंह कार्कीको समेत साथ पाएर त्रिभुवन विश्वविद्यालयका लागि कीर्तिपुरमा पाँच हजार रोपनी जग्गा अधिकरण गरेका थिए ।
• देवकोटा मन्त्री भएका दिन उनलाई निवासबाट मन्त्रालय पुर्याउने काम सत्यमोहन जोशीले गरेका थिए ।
• देवकोटाको समेत सल्लाहमा राजा महेन्द्रले २०१४ सालमा रोयल नेपाल एकेडेमी (नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान) को स्थापना गरेका थिए ।
• देवकोटा केटी प्रिय थिए । उनले केहीसँग मन जोडे र केहीसँग तन पनि जोडे । उनले सोभियत रूस, भारतको पटना र दार्जिलिङ अनि काठमाडौंका केही केटीसँग माया साटासाट गरेका थिए ।
• देवकोटाले एक पटक देवकुमारी सिन्हालाई मन पराएका थिए । त्यसैले उनी सिन्हा (पछि थापा)लाई भेट्न घरिघरी दार्जिलिङ पुग्थे ।
• देवकोटाले कृष्णप्रसाद भट्टराई नेपालको नागरिक नै होइनन् भारतीय नागरिक हुन् भनेर मुद्धा हालेका थिए ।
• देवकोटा क्यान्सर पीडित हुँदा राजा महेन्द्रले आर्थिक सहयोग गरेका थिए ।
• भारतीय दूतावासका साँस्कृतिक सहचारी कवि शिवमङ्गल सिंह सुमनले कोलकातामा देवकोटाको उपचारका लागि खुबै सहयोग गरेका थिए ।
• देवकोटाका ८४ वटा किताप छापिए; उनका ४५ किताप छाप्न अझै बाँकी छन् ।
• देवकोटाले ‘मुनामदन’ खण्डकाव्य ८ घन्टामा लेखेका थिए ।
• देवकोटाले १० दिनमा “सुलोचना” महाकाव्य लेखे । उनले भने “सुलोचना” लेख्न मलाई ६० घन्टा लागेको थियो ।
• देवकोटाले खण्डकाव्य र काव्य ३६ वटा, महाकाव्य ६ वटा, कवितासङ्ग्रह २१ वटा र नाटक, निबन्ध प्रबन्ध, कथा, उपन्यास, समालोचना आदि लेखे । साथै उनले केही किताप अनुवाद पनि गरे ।
• देवकोटा एउटा खसीको टाउको खाएर एकै रातमा एउटा खण्डकाव्य लेख्न सक्थे ।
• देवकोटाकै स्नेहले सोभियत रूसकी डा.आगानीनाले महाविद्यावारिधि गरेकी थिइँन् ।
• देवकोटा र आगानीना एकअर्कालाई स्नेह गर्थे । उनी सुरूसुरूमा आगानीनाको तस्विर खल्तीमा बोकेर पनि हिंडे ।
• देवकोटाले ‘उद्धेश्य के लिनु ? उडी छुनु चन्द्र एक’ लेखे । त्यो लेख्ता धेरैले देवकोटा पागलै हुन् भनेका थिए; तर उनी स्वर्गीय हुनु पाँच घण्टाअघि उनकी प्रिय स्रष्टा डा.आगानीनाकै देश अर्थात् रूसको यानले चन्द्रमामा खुट्टा टेकेको थियो ।
• देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजे र १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

★★★★
१) देवकोटाबारे यी आदि ४०० पृष्ठको “देवकोटाको जीवनशैली” मेरो १८ वर्षको तपस्या थियो ।

२) “देवकोटाको जीवनशैली” (२०६६) तेस्रो संस्करण पनि बजारमा सकिनेक्रममा छ रे; अब चौथो संस्करण ल्याउन प्रयासरत छु ।

३) “देवकोटाको जीवनशैली” पाउने प्रमुख ठाउँ : १. एजुकेशनल बुक हाउस, जमल; २. भृकुटी पुस्तक पसल, प्लाजा; ३. एकता बुक्स, थापाथली ।

४) “देवकोटा शताब्दी महोत्सव”का अवसरमा आयोजित देवकोटा विषयक चित्रकला प्रतियोगितामा प्रसिद्ध चित्रकार राजन काफ्लेबाट निर्मित प्रस्तुत महाकवि देवकोटाको चित्र (फोटो) समेत सर्वोत्कृष्ट घोषित भएको थियो ।

५) २०५७ सालमा “पारिजातको जीवनकथा” नाउँको जीवनी कृति पनि झन्नै “देवकोटाको जीवनशैली”कै स्वरूपमा मैले लेखेको थिएँ । किताप छापिएपछि नाउँ र छद्मनाउँबाट मैले धेरै गाली खाएको थिएँ । वास्तवमा त्यस बेलाको त्यो साहित्यिक युद्ध मैदानमा आगै बलेको थियो । तर ईश्वरवल्लभ, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, कमल दीक्षित, नरहरि आचार्य, प्रदीप नेपाल, खगेन्द्र सङ्ग्रौला आदिले मेरो लेखनबारे वकालत गरिदिए र मलाई अघि हिंड्न सहज भएको थियो ।

® मैले लेखेका ७७ वटा कृतिमध्ये जीवनी कृति मात्र २८ वटा प्रकाशित भैसकेका छन् ।

मैले लेखेका कृतिहरूको सूची हेर्नका लागि www.nai.com.np मा गएर “नइको चिनारी” क्लिक गर्नुहोस् ।

© नरेन्द्रराज प्रसाई

यमपञ्चकको दोश्रो दिनः आज अधिराज्यभरि कुकुरको पूजा गरी कुकुरतिहार मनाइँदै

आज तिहार पर्वअन्तर्गत यमपञ्चकको दोश्रो दिनकार्तिक कृष्ण चतुर्दशी, अधिराज्यभरि कुकुरको पूजा गरी कुकुरतिहार मनाइँदै छ। तिथीकाे घटबढका कारण अाज दिउँसाे १बजेर ४९ मिनेट जाँदासम्म मात्र चतुर्दशी र त्यसपछि अाैंसी शुरु हुने कुरा पंचाङ्ग निर्णायक समितिले जनाएकाे छ।

इमान्दार, स्वामीभक्त र भैरवको बाहनका रूपमा समेत परिचित कुकुरलाई पूजा गरी फूलको माला र टीका लगाइदिनुका साथै मीठा-मीठा खानेकुरा खान दिइन्छ। कार्तिकमासमहात्म्यमा कालो र रंगीविरंगी दुइथरि कुकुरमृत्युदेवका छोरा र यमराजका सेवकलाई दीपदान गरेमा यमराज खुशी हुने कुरा उल्लेख गरिएको छ।

यमपञ्चकभरि भगवान विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभरि यमराजका साथै यमदूत तथा यमराजका सहायक अनुचरहरुले समेत पूजा र सम्मान पाउने धार्मिक एवं पौराणिक मान्यताअनुसार आज यमराजको द्वारपाल मानिएको कुकुरलाइ पूजा गर्ने र मीठा मीठा खानेकुरा खुवाउने गरिन्छ। 

कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। पौराणिक मान्यताअनुसार, मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज विहान तारा नअस्ताउँदै जलमा दीप प्रवाह गर्ने कार्य सम्पन्न गरियो। 

यमपञ्चकमा पहिलो दिन काग, दोश्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा गर्ने र पाँचौं दिन भाइटीका लगाउने चलन छ।


आज दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिंदै

 आज कार्तिक शुल्क औसी- तिहार पर्वअन्तर्गत आज गाई तिहार अर्थात लक्ष्मी पूजा। आज फूल-अक्षताले गाईको पूजा गरी टीका लगाएर मीठा-मीठा खानेकुरा खुवाएपछि दिनभरि व्रत बसी बेलुकि दीपावलीका साथ धनधान्यकी अधिष्ठात्री देवी महालक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरिन्छ। तिथीकाे घटबढका कारण अाज दिउँसाे १बजेर ४९ मिनेट जाँदासम्म मात्र चतुर्दशी र त्यसपछि अाैंसी शुरु हुने कुरा पंचाङ्ग निर्णायक समितिले जनाएकाे छ।

आज घर घरमा झ्यालढोकाका साथै गाग्री र कलशमा फूलका माला लगाएर आँगन, पिंढी, कोठाचोटा र छिंडी गोबरले लिपेर सफा र चिल्लो पारिन्छ। चामलको पीठोद्वारा लक्ष्मीको पाइलाको प्रतीक चिन्ह बनाएर आँगनदेखि भण्डार वा ढुकुटीसम्म पुर्याइन्छ, र बेलुकि यिनै पाइलामा टेक्दै लक्ष्मी घरभित्र प्रवेश गरेर विराजमान हुन्छिन भन्ने धार्मिक विश्वासका साथ देवी महालक्ष्रमीको मूर्ति वा चित्र स्थापना गरी सुन, चाँदी, गरगहना, रूपियाँ पैसा आदिकाे पूजा गरिन्छ, उनकै प्रतीक मानेर।   

आजै विराट बहुमुखी प्रतिभाका धनि, साहित्यकार महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११२औं जन्मजयन्ती। महाकवी लक्ष्मीप्रसाद देवकोटा (वि.स. १९६६२०१६ साल) को जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइन्छ। नेपाली साहित्यका शिखर व्यक्तित्व महाकवि देवकोटाका मुनामदन, शाकुन्तललगायतका कयाैं काव्य-कृति प्रकाशित छन जसले नेपाली जनमानसमा अमिट स्थान बनाएका छन। तस्विर सौजन्य: गुगल 

 


Friday, November 13, 2020

आजदेखि यमपन्चक शुरु: आज कागलाई मिठा मिठा खानेकुरा दिएर पजा गरी मनाइदै

हिन्दुहरूको दोश्रो ठूलो चाड तिहार आजदेखि शुरू भयो। पाँच दिनसम्म मनाइने भएकाले यम पञ्चक पनि भनिने यस पर्वअन्तगर्गतको पहिलो दिन आज काग तिहार हो। धार्मिक मान्यताअनुसार, यमराजको सन्देशवाहकका रूपमा मानिएको कागलाई आज यमदूतकै रूपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरिन्छ। 

तिहार पर्वलाई वैदिक कालमा भगवान विष्णुले खुशी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य भोग गर्नपाउने वरदान दिएको र यी पाँच दिन बलि राजाले आफ्नो राज्यभरि दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ। यसो गरेमा धनकी अधिठात्री देवी महालक्ष्मी खुशी भई सबैका घर-घरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन तथा यमराज पनि खुशी हुन्छन भनी भगवान विष्णुले बलि राजलाई वरदान दिएको कथा प्रचलित छ।  

पौराणिक कथाअनुसार, बलि राजाले राज्य गर्ने पाँच दिन यमराजले पनि फुर्सद पाउने  हुँदा आफ्नी बहिनी यमुनकहाँ गई  स्वगत सत्कार पाई  पुजिएका र यमराजले पनि बहिनी यमुनाको पूजा गरी वस्त्र, आभूषणहरू दिएर भ्रातृस्नेह जनाएकाले यमपञ्चकको अन्तिम दिन दाजु–भाई  र दिदी–बहिनीले आपसी स्नेह, सत्कार र पूजा गरी भाइटीका मनाउँदा दाजु–भाइको आयु, कीर्ती , सुख र सम्पन्नतामा वृद्धि हुने विश्वास अनुरूप हिन्दुहरूले यमपञ्चकलाई  विशेष श्रद्धाभक्तिपूर्वक धुमधामसङ्ग  मनाउने गर्दछन। 

शास्त्रअनुसारआजै आयुर्वेदका आचार्य धन्वन्तरिको प्रादुर्भाव भएको भनी वैद्यकविराजहरूद्वारा धन्वन्तरिको जन्म–जयन्ती पनि  मनाइन्छ। यस उपलक्ष्यमा नयाँ भाँडा किन्ने र त्यसैमा नैवेद्य बनाई  लक्ष्मीलाई  अर्पण गर्ने चलन छ।   



Friday, November 6, 2020

हुम्लाको लिमी लाप्चाबाटै कैलास मानसरोवर दर्शन गर्न सकिने

 होस्ट खबर
२० कार्तिक २०७७, बिहीबार



पृष्ठभूमीमा कैलाश पर्वत र मानसरोवर देखाउँदै पत्रकार नरजन तामाङ्ग । तस्विर : पत्रकार तामाङ्ग


हुम्ला : नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ। हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चाबाट दर्शन गर्न सकिने भएपछि यस स्थान मानसरोवरको दर्शन गरिने नेपालको एकमात्र भू–भागका रुपमा पनि चिनिँदै आएको हो।

कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ। चीनले कैलाश मानसरोवर जाने हिल्सा नाकामा रोक लगाएपछि नेपालकै लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा यस वर्ष वृद्धि भएको छ।पृष्ठभूमीमा कैलाश पर्वत र मानसरोवर देखाउँदै पत्रकार नरजन तामाङ्ग । तस्विर : पत्रकार तामाङ्ग

यसरी पछिल्लो समयमा लिमी उपत्यका कैलाश मानसरोवरको दर्शन गर्नसकिने नेपालको एकमात्र भूमि बनेको छ। लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रष्टरुपमा देख्न सकिन्छ। हाम्रा पुर्खाहरु मात्रै नभएर, विसं २०६० सम्म कैलाश मानसरोवर दर्शन गर्न जाने प्रमुख मार्ग यो नै हुनेगरेको थियो। यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलो मिटरको दूरीमा पर्छ। सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट अहिलेको भन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिने छ।

यसतर्फको चिनियाँ भूभागमा पुग्दा जुनसुकै क्षेत्रबाट पनि देख्न सकिने यो प्रसिद्ध तीर्थस्थल नेपालतर्फबाट भने यसै स्थानबाट मात्र सहज दर्शन गर्न सकिन्छ। लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरु पनि निकै छन। यो क्षेत्र पनि पछिल्लो सयममा सहज बन्दैआएको छ।

पहिले घोडा चढेर लिमीको गाउँबाट कैलाश मानसरोवरभन्दा उत्तरतिरको छोपाहरुको गाउँमा पुग्ने गरेका थिए। पहिला यहाँका बासिन्दा घोडाबाटै होडछुँयो भन्ने गाउँमा पुग्ने गर्थे। त्यसरी पनि एक दिनको पैदल यात्रामै लिमीबाट कैलाश मानसरोवरको दर्शन गर्न सकिन्छ।

कसरी पुग्ने लिमी लाप्चा ?

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ। सिमकोटबाट दुई दिनजति गाउँमा बास बस्दै जान सकिन्छ भने दुई दिन आफूसँग टेन्ट, खाने कुरालगायतका सामान बोक्नुपर्छ।



दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ। सहजै रूपमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्नसकिने स्थानमा पुग्न सकिने हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नाम्खावासी नाम्गेल तामाङले बताए। तममाङले भने, ‘‘हामीमा सुनको सिरानी हालेर नूनको खोजी गर्ने संस्कार भएकाले यो लिमी लाप्चा ओझेल परेको हो। नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ। यसवर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि त्यस समयमा लिमी लाप्चाबाट कैलाश मानसरोवर दर्शन गर्ने झण्डै पाँच सयजना आन्तरिक पर्यटक यहाँ पुगेका पनि उनले जानकारी दिए।

कैलाश दर्शनको धार्मिक विश्वास

धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीको धार्मिक विश्वास रहेको छ। हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्रस्थल मानिन्छ। हिन्दू धर्मावलम्बीहरुले स्वर्ग पुग्ने धार्मिक विश्वासले प्रत्येक वर्षको श्रावण पूर्णिमामा कैलाश मानसरोवर पुग्नेगरेको सिमीकोट गाउँपालिका वडा नं २ निवासी वलरुप बोहराले बताए।

कैलाश दर्शन गरेपछि स्वर्ग गइन्छ भन्ने जनविश्वास रहेको उनि बताउँछन् । पर्यटकीय रुपमा पनि आकर्षक गन्तव्य रहेको मानसरोवरको यहाँको स्थानीय चिनारी भने धार्मिक तीर्थस्थल नै हो। त्यसो त तीर्थयात्रीहरु वर्षैभरी मानसरोवरको यात्राका लागि निस्किने गर्छन् तर त्यसमा पनि मानसरोवर जाने सहज याम भने असार महिना हो।

वर्षेनी महोत्सव, उपलब्धि शून्य

नाम्खा गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि भन्दै प्रत्येक वर्ष कहिले महोत्सव, कहिले व्यापार मेलाका नाममा लाखौँ रुपैयाँ खर्च गरे पनि उपलब्धि भने खासै केही नहुने गरेको स्थानीयकै गुनासो छ। विदेशी तथा स्वदेशी पर्यटक भित्र्याउन भन्दै गाउँपालिकाले प्रत्येक वर्ष रकम खर्च गर्दै आएको छ।

यति मात्रै होइन कहिले सम्पूर्ण कर्मचारीलाई भ्रमण भन्दै लिमी लाप्चा भ्रमण गरेको छ तर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि खासै चासो नदिएपछि लिमी लाप्चा ओझेलमा परेको स्थानीयको दुखेसो छ। लिमी लाप्चाबाट मात्रै कैलाश मानसरोवर दर्शन गराउन गाउँपालिकाले नै यसको वातावरण निर्माण गर्न सकेमा गाउँपालिकाको आम्दानीको मुख्य स्रोत बन्ने सम्भावना देखिन्छ।

के हो लिमी ?

तिब्बती शब्द ‘लिमे’ बाट ‘लिमी’ शब्द बनेको हो। लिमेको अर्थ तिब्बती भाषामा दुई बस्ती जोड्ने भू–भाग अर्थात् क्षेत्र भन्ने लाग्दछ। लिंक खोला र गेउ स्याक्च्या खोलालाई जोड्ने भू–भागमा बस्ती भएकाले त्यसलाई लिमे भनिएको पौराणिक मान्यता छ। पछि नेपाली भाषामा अपभ्रंस हुँदै लिमी भएको स्थानीय जानकारहरु बताउँछन।

लिमीको टाक्चीमा एक कोट दरबार छ। टाक्ची डाँडोको चुच्चोमा अहिले पनि दरबारको अवशेष भेट्न सकिन्छ। कोटको माथि सेउ कुनाको छेउमा बौद्ध गुम्बा छ। परापूर्व कालमा तिब्बत क्षेत्रमा गुम्बाबाट सरकार वा राजकाज चलाउने व्यवस्था थियो। सोहीअनुसार तिब्बतबाट आएका शासकहरुले त्यही गुम्बा र दरबारबाट तत्कालीन लिमी क्षेत्रमा शासन चलाउने गरेका रहेछन। पहिले कोट दरबार, गुम्बाको बीचमा बगेर आएका दुई नदीको बीचमा लिमे हालको लिमी बस्ती थियो।



पछि शासन व्यवस्था परिवर्तन भएर दरबार र गुम्बा दुवैको प्रभाव कम हुँदै गएपछि लिमे बस्ती पनि त्यहाँबाट सरेको देखिन्छ। शुरुमा एकै गाउँमा भएको लिमे बस्ती अहिले तिल, जाङ र हल्जीमा सरेपछि लिमीकारुपमा परिचित भएको कुरा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए।

उच्च हिमाली पठार क्षेत्रमा रहेको लिमी उपत्यका प्राकृतिक सौन्दर्य, पर्यावरणीय, जैविक विविधता र मानव सभ्यता तथा संस्कृतिका हिसाबले पनि निकै महत्वपूर्ण क्षेत्र हो, जसका कारण नेपाल सरकारले अहिले पनि लिमी भ्यालीलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ। समुद्र सतहदेखि १७ हजार फिटको उचाइमा अवस्थित न्यालु लेक पार गरेर देखिने मनमोहक लिमी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य हो।

लिमी क्षेत्र रैथाने तिब्बती संस्कृति भएको बस्ती हो। तिब्बतको ल्हासामा समेत नभएको परम्परागत तिब्बती संस्कृतिको प्रयोग लिमीमा मात्र रहेको बताइन्छ। ल्हासा चीनमा समाहित भएपश्चात तिब्बती संस्कृति मिश्रित खालको छ तर लिमीमा अहिले पनि तिब्बत क्षेत्रको जीवित संस्कृति बाँकी नै छ।

एघारौँ शताब्दीमा बनेको हल्जी गुम्बा

लिमीमा ११ औँ शताब्दीमा निर्माण भएको हल्जी गुम्बा छ। तत्कालीन लोचाओ (कवी) रिञ्जिन जाङवुले भारत, नेपाल र तिब्बतमा निर्माण गरेका १०८ गुम्बामध्येको १०८ औँ गुम्बाका रुपमा निर्माण भएको अन्तिम गुम्बा पनि लिमीमै अवलोकन गर्न सकिन्छ।

यो ऐतिहासिक र पुरातात्विक रुपमा पनि निकै महत्वपूर्ण छ। अन्य गुम्बा भारतको लद्दाक र चीनको ल्हासामा निर्माण भएका छन। यति मात्रै होइन, तत्कालीन जुम्लाको सिञ्जा क्षेत्रका एक राजाले बुद्ध धर्म मान्ने भएका कारण यही गुम्बामा गएर श्रमदान गरेको लिपि पनि यही गुम्बामा रहेकाले कर्णाली क्षेत्रको इतिहासका बारेमा समेत यो गुम्बा निकै महत्वपूर्ण मानिन्छ। ती राजाले हल्जी गुम्बामा माटो बोकेर श्रमदान गरेको कुरा खुलेको लिपि अहिले पनि यही गुम्बामा सुरक्षित छ।

दुर्लभ वन्यजन्तु संरक्षित क्षेत्र

नेपालमा कैयौँ दुर्लभ वन्यजन्तुको अवलोकन गर्न सकिने क्षेत्रहरु छन् र तीमध्येको लिमी भ्याली पनि एक हो। वन चौँरी, वन घोडा, वन बिरालो, बाघ, हिउँ चितुवा, ध्वाँसे चितुवा, मृग, भालुलगायतका सयौँको सङ्ख्याका प्रजातिका वन्यजन्तुको आवास क्षेत्र हो लिमी उपत्यका। लिमी उपत्यकाको हल्जी गाउँबाट मानसरोवर जाने बाटोमा थुप्रै सुख्खा घाँसे मैदान देखिन्छन् जुन भारी बोक्ने चौँरी, च्याङ्ग्राको चरन पनि हो।

सन् २०१३ मा लिमी उपत्यकामा राखिएका केही स्वचालित क्यामेराले कैद गरेका तस्बिरले पनि लिमी उपत्यकामा अनौठा र दुर्लभ जनावर तथा वन्यजन्तु भएको प्रमाणित गरेको छ, जसमध्ये एउटामा अनौठो बिरालो पनि यस क्षेत्रमा पाइने उल्लेख गरिएको छ।

करिब चार हजार मिटरको उचाइ र गाउँबाट निकै पर यो अनौठो बिरालो यसअघि नेपालबाट अभिलेख नगरिएको ‘युरेसिएन वाइल्ड क्याट’ (युरेसिएन वन बिरालो) हो भन्ने जनाइएको छ। यो क्षेत्र लोपोन्मुख वन्यजन्तुको अवलोकन गर्ने क्षेत्रका रुपमा पनि निकै महत्वपूर्ण रहेको बताइन्छ।

परम्परागत शासन कायमै

नेपालको लिमी उपत्यका यस्तो क्षेत्र हो जहाँ अहिले पनि आफ्नै आन्तरिक शासन कायमै छ। लिमीमा भएका तीन गाउँ तिल, जाङ र हल्जीको आन्तरिक तथा बाह्य ९ जनप्रतिनिधिले गर्ने प्रशासनिक काम बाहेकका सबै काम गर्न आन्तरिक नेताका रुपमा छुट्टै प्रतिनिधि चुन्ने व्यवस्था अहिले पनि जीवितै छ। उक्त प्रतिनिधिलाई तीनै गाउँमा अध्यक्ष भनेर सम्बोधन गरिन्छ।

शुरुमा हरेक तीन वर्षमा निर्वाचित हुने लिमीका अध्यक्ष नयाँ संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्ष भएपछि उनीहरुको पदावधिसमेत पाँच वर्ष पुर्‍याउने सल्लाह भएको नाम्खा गाउँपालिका वडा नं ६ का अध्यक्ष पाल्जोर तामाङले बताए। तामाङले भने, ‘विसं २०७४ वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित आफूसहितका वडा सदस्य र गाउँपालिकाका पदाधिकारीहरुलाई सरकारी प्रतिनिधिका रुपमा मान्ने गरे पनि गाउँको अधिकांश कामको छिनोफानो गर्ने जिम्मा परम्परागत पद्धतिबाट चुनिएका अध्यक्षहरुले नै गर्ने गर्छन।’

तत्कालीन लिमी गाविस भए पनि राज्य पुनर्संरचनामा एक वडामा सीमित गरिएको थियो। तर अहिले जाङ गाउँमा छिरिङ तामाङ, तिल गाउँमा लाक्पा तामाङ र हल्जी गाउँमा छिङतुरुप तामाङ परम्परागत रुपमा हुने निर्वाचनबाट निर्वाचित अध्यक्ष हुन। ‘कुनै योजना छनोट गर्ने होस् वा उपभोक्ता समिति निर्माण गर्नेदेखि हरेक काममा पहिलो निर्णायक अधिकारी गाउँका नेताहरुको हुन्छ र गाउँको सत्ताले गरेको निर्णयानुसार वडा र गाउँपालिकाका जनप्रतिनिधिले कार्यान्वयन गर्ने प्रचलन लिमीमा अहिले पनि कायमै छ।

कोही नयाँ व्यक्ति गाउँमा आएमा कता बस्ने, के कुरा बोल्ने भन्नेदेखि लिएर गाउँको विकासका साथै अन्य विषयमा सामूहिक नियम बनाउने पहिलो अधिकारी पनि त्यही संयन्त्रलाई हुने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए।