काठमाडौ, मंसिर २० - राष्ट्रपति र प्रधानमन्त्रीकै विशिष्ट तहमा समेत कूटनीतिक आचारसंहिता पालना हुन नसकेको विषयमा परराष्ट्र मन्त्रालयले 'गम्भीर आपत्ति' जनाएको छ । 'राष्ट्रपति र प्रधानमन्त्रीसँग बारम्बार भारतीय राजदूतको भेटवार्ता हुने गरेको छ, अस्ति भर्खरै अर्का नेता करण सिंहको भेटवार्ता भयो । तर यसबारे परराष्ट्र मन्त्रालयलाई केही जानकारी हुन्न,' मन्त्रालयले कूटनीतिक आचारसंहिता पालना गराउने क्रममा देखिएको कमजोरी भन्दै ध्यानाकर्षण गराएको छ । 'हामीले जसरी कूटनीतिक आचारसंहिता ल्यायौं, त्यो राष्ट्रपति र प्रधानमन्त्रीबाटै पालना नभएको स्थिति छ,' परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कान्तिपुरसँग भने, 'अब राजनीतिक दलका नेताहरूलाई पनि समेट्ने गरी कूटनीतिक आचारसंहिता ल्याउने तयारीमा परराष्ट्र छ ।' आफ्नो स्वाभिमान र प्रतिष्ठाका कुरामा राज्य संयन्त्रका प्रमुख व्यक्तिहरू आफैं सचेत रहनुपर्ने धारणा राख्दै मन्त्री श्रेष्ठले कूटनीतिक आचारसंहिताकाबारे नैतिक विषयका रूपमा मनन गर्न आग्रह गरे ।
अर्को एउटा सन्दर्भमा राष्ट्रपति र प्रधानमन्त्रीबीचका वार्ताहरूमा पूर्वसभासद अमरेशकुमार सिंहलाई 'मध्यस्थ' बनाएर राख्नु आफैंमा आधारहीन कुरा भएको ठहरसमेत परराष्ट्रका अधिकारीले गरेका छन् । यसैगरी यसै साता भारतको नयाँदिल्लीमा भएको द्विदेशीय सुरक्षा बैठकमा 'भारतीय सहयोगमा सञ्चालित योजनाहरूको सुरक्षाबारे' एजेन्डा नेपालले उठाएकामा परराष्ट्रले गम्भीर असहमति जनाएको छ । 'सुरक्षा दिनेबारे आन्तरिक रणनीति तय हुनुपर्छ, तर द्विपक्षीय वार्ताको एउटा एजेन्डा बनेर यो विषय आउनु आफैंमा लज्जास्पद कुरा हो,' एक अधिकारीले भने ।
साभार: इकान्तिपुर
No comments:
Post a Comment