पाँचथर जिल्लाको सदरमुकाम फिदिममा उमेर नपुगेका केटा-केटीको विवाह गराएको आरोपमा प्रहरीले जग्गेबाटै बेहुला-बेहुली, बेहुलाका बाबु सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १७ वर्षीय बेहुला राजन धमला, १७ वर्षीया बेहुली सुमित्रा घिमिरे, बेहुलाकी दिदी रिता धमला, बाबु धनकुमार धमला, हजुर बुबा अमृतमान धमला र पुरोहित कृष्ण गदाल रहेका हुन् ।
१८ वर्षमुनिका केटा-केटीको विवाह गरे-गराए बाल-विवाह मानिने कानुन अन्तर्गत उनीहरु विरुद्ध मुद्दा चलाइने प्रहरी निरीक्षक गोपाल ढकालले बताउनुभयो। अदालतबाट अभियोग प्रमाणित भएमा उनीहरुलाई जनही १० हजार रुपैंयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था कानूनमा छ ।
बेहुला-बेहुलीले उमेर नपुगेको भनिए पनि आफूहरुले राजीखुसीसाथ अन्तर्जातीय विवाह गरेको बताएका छन् । सुमित्रा यसअघि मंसिर ८ गते नै भागेर बेहुलाको घरमा बसिरहेकिथिइन। उनीहरुको सहबासलाई वैधानिक रूप् दिनका लागि शुक्रबार विवाह गर्नलागेपछि जिल्ला बाल क्लव सञ्जालका पूर्व अध्यक्ष तथा सल्लाहकार सुन्दर लावतीको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
तीन साताअघि नै भागी विवाह गरेपछि केटा-केटी पक्षबीच असमझदारी बढेको थियो। केटी पक्षले दुई वर्ष छुट्याउने सर्त राखे पनि केटा-केटीले नमानेपछि यसै मंसिर १५गतेदेखि एकैसाथ बस्दैआएका थिए । केटीले केटा छोड्नु परे झुण्डिन्छु भनेपछि सँगै बस्न अनुमति दिइएको जानकारी दिदै बेहुलाका बाबु धनकुमारले विवाहलाई वैधानिकता दिनखोज्दा झन्झटमा परिएको बताउनुभयो।
केटा-केटीले सँगै बस्न चाहे पनि केटीका काका पर्ने गोपाल घिमिरेसहितले केटा पक्षलाई छुट्याउन दबाब दिंदैआएको केटी पक्षले बताए । दलित जातीय मुक्ति समाजका अध्यक्ष लक्ष्मी सुनारले 'उनले केटा-केटीलाई अलग नगरे राम्रो नहुने धम्की पटक-पटक दिएकाछन्' भन्नुभयो। ब्राम्हण र दलितबीच भएको अन्तर्जातीय विवाहलाई प्रोत्साहित गर्नुपर्नेमा यसलाई उल्टै अमान्य गराउन प्रहरी लागेको गुनासो पनि उहाँले गर्नुभयो। उमेर नपुगे पनि केटा-केटी राजीखुशीले सँगै बसेको अवस्थामा यसो गर्नु नहुने धारणा सुनारको छ। चित्रमा-पक्राउ गरी ल्याइएका बेहुला राजन धमला र बेहुली सुमित्रा घिमिरे प्रहरी कार्यालयमा ।
तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment