Monday, December 3, 2012

एनेकपा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा कांग्रेस सभापति कोइरालासङ्ग छुट्टा-छुट्टै भेट-वार्ता

एकिकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले आज नेपाली कांग्रेसका सभापति सुशील कोइरालासङ्ग छुट्टा-छुट्टै भेट-वार्ता गर्नुभएको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले थपेको अर्को एक हप्ताको समयावधि सकिन अब दुइ दिन मात्र बाँकी रहेको अवस्थामा सहमतिको प्रयासस्वरूप उहाँहरु पालै पालो कोइराला निवास महाराजगंज पुग्नुभएको हो।

एकिकृत नेकपा (माओवादी)का अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकारका विषयमा कांगेस सभापति कोइरालासङ्ग छलफल गरे पनि  सहमति भने हुन नसकेको जानकारी दाहालले संचारकर्मिहरुलाई दिनुभयो। प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकारको निर्माणका लागि अध्यक्ष दाहालले गर्नुभएको प्रस्तावलाई कांग्रेस सभापतिले अस्वीकार गर्नुभएको बताइएको छ ।
आइतबार बसेको एमाओवादी पदाधिकारी बैठकले भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेबमोजिम अध्यक्ष दाहालले कोइरालासङ्ग छलफल गरेको बुझिएको छ ।  
प्रधानमन्त्री भट्टराईले पनि आजै कांग्रेस सभापति कोइरालासङ्ग गर्नुभएको राजनीतिक गतिरोधको अन्त्य सम्वन्धी वार्ता विनानिष्कर्ष टुंगिएको छ । निर्वाचन आयोगमा रिक्त भएको प्रमुख तथा अन्य आयुक्तको नियुक्तिका साथसाथै सर्वोच्च अदालतमा रिक्त हुँदैगएको न्यायाधीशको  रिक्त स्थान पूर्ति सम्बन्धमा प्रधानमन्त्री भट्टराईले कोइरालासङ्ग छलफल गर्नुभएको थियो।

दलहरुबीच सहमतिका आधारमा आगामी तीन दिनभित्र रिक्त पदाधिकारीहरुको नियुक्त प्रक्रिया अघि बढाउने तयारीमा प्रधानमन्त्री भट्टराई लाग्नुभएको छ।

No comments:

Post a Comment