Thursday, January 31, 2013
अहिलेको सरकारमा सहभागी भएर मात्र माओवादीलाई परास्त गर्नसकिने: नेकाँकेस सुजाता कोइरालाले
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले विपक्षी दलको आन्दोलनको बलमा प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकार नढल्ने कुरा बताउनुभएको छ। भारतको दिल्लीमा भएको बाह्रबुँदे सम्झौता बिपरित अहिलेको दलहरु आन्दोलनमा उत्रिएकाले यो आन्दोलनले भट्टराईको सरकारलाई कुनै असर नपर्ने दाबी उहाँले गर्नुभयो।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले दलहरुको आन्दोलनले देशमा मुठभेडको अवस्था सिर्जना हुने भएकाले मुठभेड हुन नदिन दलहरुले सहमति र सहकार्यको साथ अघि बढ्नुपर्ने कुरा बताउनुभयो।
अहिलेको सरकारमा सहभागी भएर मात्र माओवादीलाई परास्त पार्नसकिने बताउँदै उहाँले अन्दोलनको बलमा माओवादीलाई परास्त पार्न नसकिने दाबी गर्नुभयो ।
तत्काल निर्वाचनमा जानेहेतु सहमतिमा आउँन कांग्रेस र एमालेलाई माओवादी अध्यक्ष दाहालको आव्हान
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र नेपाली कांग्रेसका कारण संविधान सभा बिघटन भएको कुरा बताउनुभएको छ। सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले खुलामञ्चमा आयोजना गरेको जनजागरण सभामा बोल्दै अध्यक्ष दाहालले यो सभा कसैको भण्डाफोर गर्न नभई जनतालाई यथार्थ कुरा भन्नका लागि गरिएको हो भन्नुभयो।
देशलाई राजनीतिक निकास दिनु आफ्नो गठबन्धनको प्रमुख मुद्दा भएको बताउँदै दाहालले कांग्रेस र एमाले तत्काल सहमतिमा नआए उनीहरुलाई ठूलो क्षति हुनेछ भन्नुभयो।
तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको मृत्युपछि कांग्रेसमा बाह्र-बूंदे समझदारीका विरोधीहरुको बोलबाला भएको विचार पनि व्यक्त गर्नुभयो।
देशको आवश्यकता अनुसार गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन संविधान र संघीयताको मुद्दामा एकजुट भएको बताउँदै माओवादी अध्यक्षले गठबन्धन सत्ताको लागि नभएको प्रष्ट पार्नुभयो।
यो सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध भएको कुरा पनि प्रधानमन्त्री भट्टराईले स्पष्ट पार्नुभयो।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप-प्रधानमन्त्रि एवम् गृहमन्त्री बिजयकुमार गच्छदारले एमाले र कांग्रेसले संघीयता स्वीकार नगर्दा देशको दुर्गति भएको आरोप लगाउनुभयो। यी दुईवटा दलले संघीयता स्वीकार गरेको भए संविधान सभाबाट संविधान जारी भइसक्ने दाबी समेत गर्नुभयो।
मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले समयानुकुल परिवर्तन हुन नसक्ने पुरानो चिन्तन बोक्नेहरु आफै बिलिन हुने दाबी गर्नुभयो।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ संविधान सभाबाटै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बन्नुपर्ने कुरा बताउनुभयो।
दलित जनजाति पार्टीका अध्यक्ष बिस्वेन्द्र पासवानले सत्ता मागेर नपाइने विचार व्यक्त गर्दै बहुमत जुटाएर सत्ता चलाउन विपक्षीहरुलाई चुनौति दिनुभयो। तस्वीर सौजन्य: ईकान्तिपुर
इजरेली लडाकु विमानद्वारा सिरियाको सीमाभित्र आक्रमण: दुइजनाको मृत्यु, पाँचजना घाइते
इजरेली लडाकु विमानले सिरियाको सीमाभित्र आक्रमण गरेको कुराको पुष्टि सिरियाली सेनाले गरेको छ। तथापि, लेबनानका लागि हतियारहरु बोकेर गैरहेका गाडीहरु भने त्यस आक्रमणबाट प्रभावित नभएको सेनाले जनाएको छ।
सिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा इजरेली आक्रमणको लक्ष राजधानी दमास्कसदेखि उत्तर-पश्चिममा अवस्थित सैनिक अनुसन्धान केन्द्र बनेको कुरा उल्लेख गरिएको छ। सो आक्रमणमा दुइजना मारिनुका साथै पाचजना घाइते भएको जानकारी विज्ञप्तिमा दिइएको छ।
लेबनानका सुरक्षा शुत्र, पश्चिमी कुटनीतिज्ञहरु र सिरियाली बिद्रोहीहरुले हतियार बोकेर गैरहेका गाडीहरुको समूहमाथि लेबनानको सिमाना नजिकै सफल आक्रमण गरिएको दाबी गरेका थिए।
अमेरिका र इजरेलले यस घटनाका बारेमा टिप्पणी गर्न नचाहेको कुरा बिबिसीले जनाएको छ।
तस्विर सौजन्य: बिबिसी
Wednesday, January 30, 2013
नेकपा माओवादी पनि फागुन एक गतेदेखि सडकमा
विपक्षी गठबन्धन सरकार ढाल्ने अठोठक साथ सडकमा ओर्लिएको बेला नेकपा–माओवादी पनि थपिनभएको छ। महाधिवेशनपछि बसेको करिव एक साता लामो बैठकपछि माओवादीले फागुन १ गतेदेखि सडक तताउने निर्णय गरेको हो।
सङ्घीय गणतान्त्रिक संविधान निर्माणको सुनिश्चितता, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा तथा वर्तमान सरकारको विस्थापन गरी राष्ट्रिय संयुक्त सरकारको गठन गर्न दबाव सिर्जना गर्नक लागि माओवादी आन्दोलनमा जानलागेको हो।
पार्टीको सातौं महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले चार दलका शीर्ष नेताहरूले राजनीतिक सङ्कट समाधान गर्न नसकेको भन्दै वर्तमान सरकारले गरेका असमान सन्धि सम्झौता तथा सहमतिहरूको खारेजी तथा माओवादीमाथि लगाइएका दैलेखलगायतका जन=युद्धकालीन मुद्दाहरूको खारेजीका लागि दवाव दिन आगामी फागुन १ गतेबाट जनआन्दोलनमा जाने निष्कर्ष निकालेको हो।
यही माघ ७ देखि १३ गतेसम्म पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत बुधबार सार्वजनिक गर्दै पार्टीले फागुन १ गतेको जन-युद्ध दिवस, सहिद सप्ताह, ८ मार्चको अन्तर्र्राष्ट्रिय महिला दिवस, चैत्र ५ को साँस्कृतिक प्रतिरोध दिवस र चैत २५ गतेको जन-आन्दोलन दिवसको सन्दर्भलाई समेत समेटी प्रचार प्रसार, भेला, गोष्ठी, अन्तरक्रिया, धर्ना, घेराउ, जन-प्रदर्शन र मुख्य सहरमा बृहत् जन-प्रदर्शन गर्ने जानकारी दियो।
राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण तथा जन-जीविकासँग सम्बन्धित मुद्दाहरूको आधारमा सबै देशभक्त, राष्ट्रवादी, गणतन्त्रवादी, लोकतन्त्रवादी, सङ्घीय पक्षधर शक्तिहरूसँग बृहत्तररुपमा वार्ता, तालमेल, सहकार्य र कार्यगत एकता कायम गर्दै आन्दोलनलाई व्यापक बनाउने नीति माओवादीले लिएको छ।
यस्तै भूपू केन्द्रीय सल्लाकारहरूलाई राखी केन्द्रीय सल्लाहकार समिति बनाउने, गैर-भौगोलिक राज्य समिति हटाउने, मुख्य–मुख्य सहरमा गैर-भौगोलिक संरचनाको रुपमा साधारण शाखा र एकाईहरू बनाउने र प्रवासमा पार्टी सङ्गठन विस्तार गर्ने निर्णय लिइएको अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लिखित छ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष वैद्यले राजनीतिक सङ्कट समाधान गरी निर्वाचन सुनिश्चित गर्न दलहरू असफल भएकाले आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो।
उहाँले गोलमेच सम्मेलनबाट राष्ट्रिय सहमतिको सरकार निर्माणमा आफ्नो पार्टी सकारात्मक रहेको कुरा पनि दोहोउनुभयो। –रासस
निर्वाचनप्रति प्रतिबद्धता जनाएर सत्ता ग्रहण गर्न विरोधीहरुलाई के समस्या छ?
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले नयाँ संविधान निर्माणका लागि निर्वाचनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने कुरा बताउनुभएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, माले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत नौ राजनीतिक दलहरुले वर्तमान सरकारको बर्हिगमन र सहमतिको सरकारको गठनका लागि भन्दै हिजो मंगलबार शहिदद्वारमा आयोजना गरेको संयुक्त विरोधसभालाई सम्वोधन गर्दै महामन्त्री सिंहले राजनीतिक सङ्कटको अन्त्य तथा राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेको बताउनुभयो।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले पनि पटक-पटक हरेकजसो कार्यक्रममा नेकपा माओवादीको नेतृत्वको सरकार प्रतिपक्षलाई मान्य नहुने हो भने संविधान सभाको नयाँ निर्वाचनका लागि प्रतिबद्ध हुने कुनै पनि दल वा व्यक्तिको नेतृत्व स्वीकार्न र सरकार छोड्न नेकपा माओवादी तयार छ भनेको हामीले विभिन्न संचार माध्यमहरुमा सुनेकै छौं।
नेकपा माओवादी निर्वाचन गराउन प्रतिवद्ध कसैका लागि पनि सत्ता त्याग्न तयार छ, नेपाली कांग्रेस र एमालेलाई 'हामी पक्का निर्वाचन गराउछौ' भनेर सत्ता ग्रहण गर्न के समस्या छ? र उनीहरु किन 'वर्तमान सरकारको बर्हिगमन र सहमतिको सरकारको गठनका लागि' नारा दिंदै सडक तताउन लागिरहेका छन? त्यसोभन्दा बरु 'सहमतिको सरकारको गठन र वर्तमान सरकारको बर्हिगमनका लागि' भन्दै सडकमा उत्रिएको भए राम्रो हुन्थ्यो कि।
'हामी पक्का निर्वाचन गराउछौ' भनेर प्रतिबद्धता जाहेर गर्दै सत्ता ग्रहण गर्नुको साटो पछाडिबाट कान समाउने प्रयास गरिगहेको जस्तो लाग्ने यस अवस्थामा 'माओवादीको गठबन्धन सरकारलाई जतिसक्दो छिटो सत्ताच्युत गराउने' प्रयासस्वरुप यही माघ २६ गते खुल्लामञ्चबाट बृहत् विरोधसभा गरी निर्णायक आन्दोलन गर्ने उद्घोष पनि उनीहरुले गरे। शहिदका तस्बिरमा माल्यार्पणका साथ शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रारम्भ भएको सभालाई सम्बोधन गर्ने ती दलका नेताहरुले 'हामी निर्वाचन गराउन प्रतिवद्ध छौं' भनेर सत्ता ग्रहण गर्न नचाहेर अस्पष्ट बाटो समातेको देख्ने ज्ञात/अज्ञात शहिदहरुले पनि के सोचेहोलान! तस्विर सौजन्य: इकान्तिपुर
पशुपति मन्दिरमा दैनिक भक्तजनहरूबाट जम्मा हुने भेटी पारदर्शी- विगत दस महिनामै झन्डै सात करोड भेटी सङ्कलन
आफूले गरेको सबै राम्रो, प्रतिपक्षीहरुले गरेको कुनै पनि काम नराम्रो भन्ने, विरोध गरिहाल्ने, अदालतसम्म धाइहाल्ने र अदालतले पनि तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भन्ने आदेश दिइहाल्ने संस्कारले गर्दा हाम्रो देश र जनताले सास्ती बेहोर्नुपरिरहेको छ। नेपाली जनताको रगत र बलिदानको बलमा ल्याइएको प्रजातन्त्र नेपाली राजनीतिक दलहरुका लागि मोलतोल र सत्ता लुछाचुंडीको खेल खेल्ने साधन बनेकोछ।
नेपालको पहिलो गणतान्त्रिक सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिको व्यवस्थापनसम्बन्धमा गर्नुभएको निर्णय नेपाली कांग्रेसका लागि स्वीकार्य हुनसकेन। दाहालले दाहाललाई मूलभट्ट तोक्यो भन्दै हल्लाखल्ला मच्चाइयो, कांग्रेसका गगन थापा र सुप्रभा घिमिरेहरू भारतीय मूलभट्टलाई हटाउन पाइदैन भन्दै पशुपतिको मूलद्वारमा सुत्न पुगे। प्रतिपक्षको मागलाई स्वीकार गर्दै दाहाल सरकारले आफ्नो निर्णय फिर्ता लियो, अनि कांग्रेसी नेताहरुले फेरि दक्षिण भारत पुगेर भारतीय मूलभट्ट ल्याएर पशुपतिमा विराजमान गराए।
हिनामिना भैरहेको पशुपतिको भेटीलाई व्यवस्थित गर्ने र त्यसबाट बचत हुने रकमबाट पशुपतिकै विकास निर्माणको काम गर्ने भन्ने मनसायले गरिएको दाहाल सरकारको निर्णय नमाने पनि भारतीय मूलभट्टलाई हटाएर नेपाली मूलभट्ट तोक्ने बाहेक माओवादीपछि सत्ता रोहण गर्ने सौभाग्य पाएको एमाले सरकारले गरेको निर्णय दाहाल सरकारले गरेको निर्णय नै हो।
यहाँनेर स्मरण गर्नलायक कुरा के छ भने, कांग्रेस समर्थनको एमाले सरकारले गरेको यो निर्णय पशुपति क्षेत्रको विकासका लागि हितकर छ भनेर त्यति बेला प्रतिपक्षमा रहेको माओवादीले कुनै विरोध गरेन। यस अर्थमा नेपाल र नेपालीको हित हुनेखालका निर्णयहरु प्रतिपक्षले गरेको भए पनि तीनलाई स्वीकार गर्नुपर्छ भन्ने विवेक नेपाल कम्युनिस्ट पार्टी माओवादीमा भएको देखिन्छ।
माओवादी सरकारले त्यति बेला पशुपतिका मूलभट्टलगायतका पुजारीहरुको तलब तोक्ने, दैनिक भेटी गणना गर्नेलगायतका विषयमा गरेको निर्णय फलदायी भएको देखिएको थियो। दैनिक भेटी गणना गर्ने क्रममा त्यति बेला एकै दिनमा एक लाख एघार हजार रुपियाँसम्म जम्मा भएको थियो।
नेपाल सरकारले गत वर्षको चैत्र महिनामा पशुपति मन्दिरमा दैनिक भक्तजनहरूबाट जम्मा हुने भेटीलाई पारदर्शी बनाउन 'पशुपति मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८' लागू गरेपछि विगत दस महिनामै झन्डै सात करोड रुपियाँ भेटी संकलन भएको देखिएको छ, जसमध्ये भेटीबाट ४ करोड २४ लाख ३१ हजार ९ सय ८ रुपियाँ र विशेष पूजाबाट २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपियाँ संकलन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आर्थिक वर्ष २०६७/६८ मा ९६ लाख रुपियाँ र आर्थिक वर्ष २०६८/६९ मा १ करोड १२ लाख रुपियाँ संकलन भएको जानकारी कोषको आर्थिक शाखाले दिएको छ।
नियमावली लागू हुनुभन्दा अघि पशुपतिका मूलभट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो नियमावली लागू भएपछि मूलभट्टको तलब निर्धारण गरिएको छ । मासिक डेढ लाख रुपैयाँ मूलभट्टको तलब तोकिएको छ । मूलभट्टको बस्न, खान, टेलिफोन लगायतका सेवा सुविधासमेत डेढ लाख रुपैयाँ निर्धारण गरिएको छ । अन्य पुजारीको पनि करिब एक लाख रुपैयाँ तलब तोकिएको छ ।
मन्दिरमा हाल दैनिक तीसवटा भन्दा बढी विशेष पूजा हुनेगरेका छन्। विशेष पूजामा भक्तजनले तीस हजारदेखि एक लाख रुपियाँ भेटी चढाउने गरेका छन। नवग्रह, हनुमान, उन्मत्तभैरव र चौसठ्ठी लगायतका मन्दिरबाट हाल भेटी संकलन गरिन्छ। मन्दिरमा चढाएकोबहुमूल्य धातु र अन्य जिन्सीको हिसाबकिताब भने कोषले हालसम्म सार्वजनिक गरेको छैन।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाका अनुसार, जिन्सीमध्येको लत्ताकपडा बिक्रीका लागि राखिन्छ र सुन, चाँदी नियमावलीअनुसार कोषमा राखिन्छ, अन्य चीज बिक्री गरेर पैसा कोषमा जम्मा गरिन्छ।
संकलित रकममध्ये ३३ प्रतिशत सामाजिक क्षेत्रमा, ३३ प्रतिशत अक्षय कोषमा र बाँकी मन्दिर सत्तल जीर्णोद्धारका लागि प्रयोग गर्नुपर्ने नियमावलीमा उल्लेख छ।
Tuesday, January 29, 2013
जमेको हिउँमाथि नांगै बसेर योग गर्ने हल्याण्डेली नागरिक बीम खोफ
बाउन्न वर्षीय हल्याण्डेली नागरिक बीम खोफ यस कुरामा प्रतिष्ठित छन, कि उनी आरामदायी गलैंचामा नभई जमेको हिउँमाथि, त्यो पनि नांगै बसेर, योग गर्छन। अझ आश्चर्यको कुरा त के भने, यसरी योगमा तल्लिन रहँदा उनि कत्ति पनि अशान्त देखिदैनन, अथवा जाडोले काँपेको वा हलचल गरेको देखिदैन।
उनको यस्तो व्यवहारका लागि उनलाई 'ध्रुबीय मानिस'को संज्ञा दिइएको छ। शून्य डिग्रीभन्दा न्यून तापक्रममा यसरी बसेर खोफले आठ पटक विश्व किर्तिमान बनाइसकेका छन्।
दुइ वर्षअघि फिनल्याण्डमा आयोजित दौड प्रतियोगितामा खोफले शून्यभन्दा बीस डिग्री न्यून तापक्रममा एउटा जाङ्गे मात्र लगाएर बाइस किलोमिटर दौड पूरा गरेर विश्व कीर्तिमान कायम गरेका थिए। अनि सन् दुइ हजार आठमा उनले त्रिहत्तर मिनेट अठ्चालीस सेकेन्ड हिउँको गुफाभित्र बसेर अर्को कीर्तिमान बनाएका छन। त्यसपछि चिकित्सकहरुले गरेको परीक्षणमा उनको शरिरमा कुनै पनि प्रकारको नकारात्मक प्रभाव परेको पाइएन।
चिसोले कुनै असर नपार्ने खोफको शारीरिक अवस्थाबारे वास्तविकता पत्ता लगाउन वैज्ञानिकहरु समेत असमर्थ देखिएका छन। अन्य कुनै पनि सर्बसाधारण मानिसका लागि घातक साबित हुनसक्ने त्यस कठाङ्ग्रिने चिसोमा बीम खोफले सहज तरिकाले व्यवहार गरेको देख्ने अरु मानिसहरु पनि छक्क पर्नेगरेका छन। तस्विर तथा सामग्री सौजन्य: ज्नाडेली इचे लि बुइ?
लोकतन्त्र विरोधीहरुको आफै पतन हुने: कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइरालाले लोकतन्त्रका विरोधीहरु आफै पतन भएर जाने दाबी गरेका छन् ।
एकीकृत (माओवादी) लोकतन्त्रको विरुद्धमा लागेको आरोप लगाउँदै कोइरालाले भने, "लोकतन्त्रलाई नमान्दा राजा रजौटा तथा पञ्चायती पक्षधर जसरी पतन भएका थिए, एमाओवादी पनि यही रवैया जारी राखे त्यसरी नै पतन भएर जानेछ ।"
स्याङ्जाको कुवाकोटमा दियालो गैरसरकारी संस्थाले आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरको सोमबार उद्घाटन गर्दै उहाले वर्तमान सरकारका तानाशाही कार्यका विरोधमा जनता सडकमा आइसकेकाले सडकबाटै सरकार ढल्ने दाबी गरे।
मुलुकलाई सही निकास दिन सम्पूर्ण दलहरू मिल्नुको विकल्प नभएको बताउँदै कोइरालाले भने, "सबै दलहरू बसेर सहमतीय सरकार गठन गर्ने र सोही सरकारले निष्पक्ष निर्वाचन गराउनु नै उत्तम विकल्प हो । रासस
मेरो विचार: पेशाले चिकित्सक डा शशाङ्क कोइरालाले दियालो गैर-सरकारी संस्थाद्वारा स्याङ्जाको कुवाकोटमा आयोजित विशेषज्ञ स्वास्थ्य शिविरको हिजो उद्घाटन गर्दै यस्तो कुरा भन्नुभएछ। कांग्रेसको सदस्य, त्यसमा पनि केन्द्रीय, का नाताले अरुलेझै उहाँले पनि विरोधी बिरुद्ध विष बमन गर्नु स्वाभाविक कुरा हो। तर, विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गर्ने मानिसले स्वास्थ्यका सम्बन्धमा केही पनि नबोलेर खालि माओवादीलाई मात्रै गाली गरेर आफ्नो भाषण सिध्याउनुभयोहोला भन्ने कुरामा मलाई विस्वास लाग्दैन। यसमा समाचार बनाउने मानिस— पत्रकार– ले पूर्णरुपेण आफू संचारकर्मी बन्न नसकेको प्रष्ट देखिन्छ।
पत्रकारले समाचार लेख्ने हो, राजनीति गर्ने होइन। वक्ताले बोलेकोमध्ये आफूलाई मनपर्ने मात्र छानेर समाचार बनाउनु समाचार लुकाउनु सरह हो। अनि समाचार लुकाउनु गैह्र-कानूनी पनि हो, शायद। राष्ट्रिय समाचार सिमितिको व्यवस्थापन पक्षले पनि समाचार प्रवाहित गर्नुअघि कार्यक्रमको विषय-वस्तु प्रेषित समाचारको अन्तर्वस्तु मिल्छ कि मिल्दैन हेरेर त्यसलाई पूर्णता दिने प्रयास गर्नुपर्ला कि। तस्विर सौजन्य: इकान्तिपुर
आफ्नो ज्यू-ज्यानको सुरक्षा नभएको भन्दै सुर्खेत पुगेका बाइसजना दैलेखी पत्रकारहरु आज फर्किए
आफ्नो ज्यू-ज्यानको सुरक्षा नभएको भन्दै छ दिनअघि दैलेखबाट सुर्खेत पुगेका बाइसजना पत्रकारहरु आज सुर्खेतबाट दैलेख फर्किएका छन। उनीहरुले सुर्खेतमा मध्य-पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिनुका साथै वीरेन्द्रनगरमा सरकारी अधिकारीहरु, पत्रकार मित्रहरु र अन्य सम्बन्धित निकायका प्रतिनिघिहरुसङ्ग आफ्नो स्थितिका बारेमा छलफल गरी आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग पनि गरेका थिए।
एमाओवादी कार्यकर्ताबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका एकजना पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको थियो। पौडेलले भन्नुभएको थियो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन। हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुस गरेर कार्यथलो छाडेका हौं।’
पत्रकार महासंघका सभापति पुस्कर थापाले गत शुक्रबार एभिन्यूज टेलिभिजनसङ्ग कुराकानी गर्दै प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको प्रतिक्रिया दिनुभएको थियो। आफूहरु आठ वर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी पनि गर्नुभएकोथियो।
अहिले कस्तोखालको सुरक्षा प्रत्याभूति पाएर गृह-जिल्ला दैलेख फर्किनुभयो भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन।
Monday, January 28, 2013
इरानद्वारा बाँदरलाई सफलतापूर्बक अन्तरिक्षमा
इरानले एउटा बाँदरलाई सफलतापूर्बक अन्तरिक्षमा पठाएको छ। पिशगम नामका रकेटमा पठाइएको त्यो बाँदर करिब एक सय बीस किलोमीटरको उचाइसम्म पुगेर सकुशल फर्केको इरानी रक्षा मन्त्रालयले जनाएको छ।
इरानको सरकारी टेलिभिजनले त्यस बाँदरलाई रकेटतिर लैजादैगरेका तस्विर देखाएको थियो।
इरानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई लामो दूरीको क्षेप्यास्त्र बनाउन प्रयोग गरिरहेको आशंका पश्चिमी देशहरुले गरिरहेका छन। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दैआएको छ।
इरानले सन् दुइ हजार दसमा सफलतापूर्वक मुसा, कछुवा र साना किराहरु अन्तरिक्षमा पठाएको थियो। तर दुइ हजारएघारमा बाँदर पठाउने कार्यक्रम भने असफल भएको थियो। तस्विर सौजन्य: बिबिसी
ब्राजिलमा रात्रि क्लबमा मारिएका दुइ सय एकतीसजनाको स्मृतिमा मुलुकभरि तीन-दिने शोक
ब्राजिलको सान्ता मारिया नगरमा संचालित किस नामक रात्रि क्लबमा आगलागी हुँदा मारिएका दुइ सय एकतीसजनाको स्मृतिमा मुलुकभरि तीन-दिने शोकमनाउको घोषणा गरिएको छ।
संगीत मण्डलीका एकजना सदस्यले मन्चमा मशाल बाल्दा सो आगलागी भएको दाबी प्रत्यक्षदर्शीहरुले गरेको भनिएको सो दुर्घटनामा मारिएकामध्ये अधिकांश विद्यार्थी रहेको र उनीहरु धुवाँले निसास्सिएर मरेको त्यहाँका सम्बन्धित अधिकारीहरुले जनाएका छन।
ब्राजिलमा विगत पाँच दशकमा भएको यो सबैभन्दा खतरनाक आगलागी भएको बताइएको छ।
तस्विर सौजन्य: बिबिसी
नेपाली महिला क्रिकेट टोलीसङ्ग हंगकंगको टोली पराजित
थाइल्याण्डको प्रेम ओभल क्रिकेट मैदानमा जारी एसियाली क्रिकेट क्लबअन्तर्गत महिलातर्फको प्रतिगितामा नेपालले लगातार चौथो जित हात पारेको छ। मलेसिया, भुटान र संयुक्त अरब इमिरेट्स (युएइ) सङ्गका पहिला तीनवटा खेलमा जित हासिल गरी सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले औपचारिक खेलमा हङकङलाई छ विकेटले हरायो।
टस टिजेर फिल्डिङ रोजेको नेपाललाई हङकङले चौबीस दसमलव चार ओभरमा ५५ रनको लक्ष्य दिएकोमा नेपालले चार बिकेटको क्षतिमा अठार ओभरमै लक्ष हासिल गर्यो।
टस टिजेर फिल्डिङ रोजेको नेपाललाई हङकङले चौबीस दसमलव चार ओभरमा ५५ रनको लक्ष्य दिएकोमा नेपालले चार बिकेटको क्षतिमा अठार ओभरमै लक्ष हासिल गर्यो।
नेपाली खेलाडी सरिता मगरले सबैभन्दा बढी, अर्थात चार विकेट लिइन भने नेरी थापा र करुणा भण्डारीले तीन-तीन विकेट।
जबाबी खेलमा नेपालले चार विकेटको क्षतिमा अठार ओभरमै लक्ष हासिल गर्यो। नेपालका लागि नेरी थापाले सर्वाधिक २३ रन बनाइन भने सरिता मगर १४ रन बनाएर खेलबाट बाहिरिइन।
नेरी थापाले यस खेलको उत्कृष्ट खेलाडीको उपाधि पनि जितिन। तस्विर सौजन्य: इकान्तिपुर
Sunday, January 27, 2013
भिक्तोरिया अजारेन्कलाई अस्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि
अस्ट्रेलियाली खुला टेनिस प्रतियोगितामा विजय हासिल गरेर बेलारुसकी टेनिस खेलाडी भिक्तोरिया अजारेन्कले आफ्नो अस्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि कायम राखिन।
यसका साथै उनले विश्व नम्बर एक खेलाडीको उपाधि पनि कायम राखिन।
प्रतियोगिताको अन्तिम खेलमा अजारेन्कले चीनकी खेलाडी लि नालाई 4-6, 6-4 र 6-3ले पराजित गरेकी हुन। तस्विर सौजन्य: बिबिसी
जेठमा निर्वाचन गर्नकै लागि काँग्रेसको नेतृत्व आवश्यक छ:नेकाँ उपसभापति पौडेल
"जेठमा निर्वाचन गर्नकै लागि काँग्रेसको नेतृत्व आवश्यक छ,"- भन्नुभयो। चुनाव हुने सर्तमा जसको पनि नेतृत्व स्वीकार गर्नसकिने बताउने एनेकपा (माओवादी) ले काँग्रेसको नेतृत्व स्वीकार गर्नुपर्ने उहाँको भनाइ थियो।
एमाओवादी चुनाव होस् भन्ने पक्षमा नरहेकाले काँग्रेसको नेतृत्व स्वीकार गर्न हिच्किचाइरहेको पौडेलले रोप लगाउनुभयो।
एमाओवादीका नेताहरूले द्वन्द्वका समयमा भएका घटना उठाउँदा काँग्रेस-एमालेका नेताहरू पनि जेल जानुपर्ने कुरा उठाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले आफूहरूले कुनै अपराध नगरेकाले जेल जानु नपर्ने बताउनुभयो।
अपराध गर्ने माओवादी नै जेल जानुपर्ने उहाँको भनाइ थियो । 'हामीले मान्छे मारेका छैन' उहाँले भन्नुभयो, 'जसले मान्छे मार्यो त्यही जेल जानुपर्छ ।'
मुलुकमा अख्तियार, संसद जस्ता निकाय नभएको समयमा माओवादीले ब्रहृमलुट मच्चाएको पनि उनले आरोप लगाउनुभयो। रासस तस्विर सौजन्य: इकान्तिपुर
द्विपक्षीय पर्यटन प्रवर्धनका लागि नेपालमा चिनियाँ भाषा शिक्षण आबश्यक
नेपाल र चीन दुबै मुलुकले द्विपक्षीय पर्यटन प्रवर्धनका लागि नेपालमा चिनियाँ भाषा शिक्षणको आबश्यकतामा जोड दिएका छन। नेपाल-चीन भाषा तथा संस्कृति आदान-प्रदान एकेडेमी र चिनियाँ अन्तर्राष्ट्रिय रडियो कन्फुसस कक्षा, नेपालको संयुक्त तत्वाबधानमा काठमाडौँमा आयोजित छलफल कार्यक्रममा दुवै पक्षले दुइ छिमेकी बीच विद्यमान भाषागत दूरीलाई कम गर्दैलाने कुरामा एकमत जाहेर गरे।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यांग हौलानले नेपाल र चीन बीचको मित्रताका लागि पर्यटन उद्योग महत्वपूर्ण मंच भएको र दुइ छिमेकी बीच संचारको सेतुका रूपमा भाषाले सेवा गर्ने कुरा बताउनुभयो। एक-अर्काको भाषा बुझेमा पर्यटन-यात्रा झन प्रभावकारी हुने विचार व्यक्त गर्दै राजदूत यांगले नेपालमा चिनियाँ भाषा सिकाउनमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र अन्य संस्थाहरुको भूमिका प्रसंसनीय रहेको कुरा बताउनुभयो।
नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले नेपालले चीनबाट धेरै कुरा सिक्नसक्छ, र फस्टाउँदो चिनियाँ अर्थतन्त्रका बारेमा जानकारी हासिल गर्नका लागि भाषाले महत्वपूर्ण भूमिका निर्बाह गर्दछ भन्नुभयो। उदाउँदो चीन ले नेपालको अर्थतन्त्रमा उत्तोलकको भूमिका खेल्नसक्ने भएकाले चिनियाँ भाषा सिकाइ नेपालको राष्ट्रिय आर्थिक विकासको प्रेरक माध्यम बन्नेसक्ने कुरा मुख्य सचिव पौडेलले बताउनुभयो। नेपालले चीनको भावनालाई बुझी उन्नत भविष्यको मार्गमा अघि बढ्नुपर्ने कुरा पनि पौडेलले बताउनुभयो।
उ चुन थाई नेपालका लागि नयाँ चिनियाँ राजदूत
जन-गणतन्त्र चीन सरकारले उ चुन थाईलाई नेपालका लागि नयाँ चिनियाँ राजदूतमा नियुक्त गरेको छ। श्री उ हाल चिनियाँ विदेश मन्त्रालयमा वाह्य सुरक्षा मामिला विभागका उप-महाप्रबन्धक हुनुहुन्छ।
जन-गणतन्त्र चीनको राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको पछिल्लो निर्णयपछि उहाँलाई समय अगावै बोलाइएको थाहा भएको छ।
सुरक्षा विशेषज्ञका रुपमा परिचित होलान सन् दुइ हजार एघारको जुनमा नेपालका लागि चिनियाँ राजदूतका हैसियतमा नेपाल आउनुभएको थियो।
चीन सरकारले यस अघिका चिनियाँ राजदूत छ्यु कुओ हुङ्गलाई पनि उहाँको कार्यवधि सकिनुअगावै फिर्ता बोलाएको थियो।
काठमाडौँको सडक ठूलो हुँदा जनताकै शिर उच्च हुने : सचिव बाँस्कोटा
नेपाल सरकारले काठमाडौँलाई ऐतिहासिक र विश्वकै मन जित्ने राजधानी बनाउने अवधारणा अघि सारेर त्यसको गुरु योजना तयार गर्नका लागि काठमाडौँ उपत्यका प्राधिकरण गठन गरिसकेको छ। त्यसका लागि काठमाडौँ उपत्यकाका सडक विस्तार सँगसँगै हरियाली काठमाडौँको समेत अवधारणा अघि सारिएको छ। विस्तार गर्न लागिएका कतिपय सडकहरू साइकल लेनसहित अपाङ्गमैत्री हुने छन्।
तथापि केही कूटनीतिक नियोगले समयमा आवश्यक निर्णय गर्न ढिलाइ गरेका कारण काठमाडौँ उपत्यकाका केही ठाउँमा सडक विस्तारको काम प्रभावित भएको देखिएको छ। स्विस् राजदूतावासले भने आफ्नो जमिन छोडदिएर जहाँ जति सरकारको नीति हो, त्योअनुसार आफ्नो पर्खाल सारिसके तापनि अमेरिकन, रसियन, चिनियाँ र इटालियन दूतावासका कारण केही समस्या देखिएको सरकारी अधिकारीले स्वीकारेका छन।
सडक विस्तारको क्रममा सम्बन्धित दूतावासलाई पर्खाललगायतका संरचना सार्न ध्यानाकर्षण गरिसकेको भए पनि उनीहरूले हालसम्म सडकको मापदण्डभित्र परेका ती आफ्ना संरचना हटाएका छैनन। समयमा ती दूतावासले संरचना नहटाइ दिँदा त्यस्ता कूटनीतिक नियोग रहेको ठाउँमा सडक विस्तारमा केही हदसम्म समस्या देखिएको छ। अमेरिका, चीन, रसियालगायतका मुलुक नेपालको अत्यन्त घनिष्ट मित्रका रूपमा रहनुका साथै नेपालको विकासका लागि उनीहरूले महत्वपूर्ण योगदान गर्दैआएका छन।
सरकारले ती दूतावाससँग यस विषयमा छलफल र समन्वय गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई निर्देशन दिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सचिव कृष्णहरि बाँस्कोटाले दिनुभयो।
बेलायती सहयोग नियोग डिएफआइडीले भने सरकारले गरेको अनुरोधलाई सकारात्मक ढङ्गले लिएर आफ्नो पुरानो पर्खाल भत्काएर सडकलाई आवश्यक पर्ने मापदण्डबमोजिमको जग्गा छाडिसकेको जानकारी सचिव बाँस्कोटाले दिनुभयो।
काठमाडौँ उपत्यकाको सडक विस्तारको क्रममा परेको जग्गाको कसैलाई पनि मुआब्जा सरकारले दिएको छैन, यो विस्तारको सिद्धान्त मुआब्जा दिएर बाटो विस्तार गर्ने होइन, तर पनि आम नागरिकको अग्रभागको कट्टा भएर सडकमा जाने जग्गा र संरचनालाई पछाडि सार्दा लाग्ने मूल्यको सामान्य क्षतिपूर्तिवापतको खर्च दिइएको छ, पुरै घर-जग्गा सडकमा परेर सुकुम्बासी हुनेलाई केही राहतस्वरूप क्षतिपूर्ति दिइएको, कहीँ कतै भत्केका संरचनामा नयाँ बनाउँदा गर्नुपर्ने नक्सा पासवापतको दस्तुर नलिने र ठूलो पर्खाल बनाउनुपर्ने ठाउँमा सरकार स्वयमले बनाइदिने तर रकम नदिने सरकारको नीति रहेको जानकारी उहाँले दिनुभयो।
भत्काइएका संरचनालाई हटाएर छ महिना, १० महिना र १८ महिनामा सक्ने गरी तीन खाले समय तोकेर सडक निर्माणका लागि सरकारले ठेक्का दिएको छ।
छिटो निर्माण गर्ने ठेकेदार र सरकारी इन्जिनियरलाई पुरस्कार दिने नीति भएकाले निर्माणको कामलाई तीव्रताका साथ गर्न उत्प्रेरित तथा प्रोत्साहित गर्ने काम भइरहेको छ। यस वर्षको अन्त्यसम्ममा काठमाडौँमा विस्तार हुने भनिएका सडकहरू कालोपत्रे भइसक्ने दाबी सचिव बाँस्कोटाले गर्नुभयो।
पुस र माघ महिनामा अत्यधिक चिसो भएकाले कालोपत्रे गर्न नमिल्ने हुँदा काम रोकिएको बताइएको छ। पछिल्लो समय भौतिक योजना तथा निर्माण मन्त्रीलगायत सम्बन्धित निकायका पदाधिकारीले नियमित रूपमा विस्तारको क्रममा रहेको सडकको अनुगमन गर्नाले तोकिएको समयमै निर्माण पूरा हुने अपेक्षा गरिएको छ।
सडक विस्तारको क्रमसँगसँगै नयाँ बानेश्वर चोकमा प्रत्येक दिन एकलाखको हाराहारीमा सडक काट्ने भएकाले त्यहाँ फ्लाइओभर बनाउने कामको लागि अन्तिम चरणमा छलफल भइरहेको बताइएको छ ।
अझै पनि कतिपय स्थानमा टेलिफोनका क्याविनेट, विद्युतको ट्रान्सफरमर, मन्दिर र शालिकले गर्दा सडक विस्तारको काममा अबरोध भैरहेको छ। त्यस्तै केही ठाउँमा तोकिएको सीमाङ्कनको विषयमा समस्या देखिएको पाइएको छ।
कहीँ कतै भने सडक छेउमा व्यक्तिले निर्माण गरेको पर्खाल ठूलो भएर फुटफाथ सानो देखिएको समेत भेटिएको छ। सरकारले फुटफाथ कम्तिमा दुई मिटरको हुनुपर्ने मापदण्ड तोकेको छ।
उपत्यकाको २०० किलोमिटर सडक अहिले विस्तारको क्रममा छ। सोमध्ये कतिपय बाटाहरु कालोपत्रे गरिसकिएको छ भने कतिपय कालोपत्रे गर्ने अन्तिम अवस्थामा छन। केही ठाउँमा फुटपाथ बनेपछि तुरुन्तै कालोपत्रे गर्नसकिने अवस्थामा छन। केही स्थानमा भने अझै पनि ढलको काम भइरहेकाले सो काम सकिनासाथ पक्की गरिने छ।
काठमाडौँ उपत्यकाभित्रका सडक विस्तार गर्ने सरकारको नीतिअनुसार हालको चक्रपथको स्तरोन्नति गरेर आठ लेन चौडा बनाउने कामको थालनी भइसकेको छ।
चिनियाँ सरकारको सहयोगमा पहिलो चरणमा चक्रपथ विस्तारको काम कोटेश्वरदेखि सातदोबाटो हुँदै कलङ्कीसम्म गरिनेछ।
सडक विस्तारमा भइरहेको काम र प्रगतिका बारेमा जानकारी लिन सचिव बाँस्कोटाको नेतृत्वमा रहेको टोलीले आज उपत्यकाका विभिन्न सडकको अवलोकन गर्यो। टोलीले हालसम्म भएको प्रगतिको समीक्षा गरी सन्तोषजनक ढङ्गले काम भइरहेको प्रतिक्रियासमेत दिएको छ।
सचिव बाँस्कोटाले काठमाडौँबासीलाई सडक विस्तार गर्ने सरकारले लिएको अभियान आमजनताकै अभियान हो, काठमाडौँको सडक ठूलो हुँदा जनताकै शिर उच्च हुने हो, यसमा कुनै किसिमले मन सानो नगरौँ, सडक ठूलो हुँदा मूल्य पनि बढ्छ, भत्काइएका संरचनापछि नयाँ बनेका घर र ठूला सडकले काठमाडौँ सुन्दर देखिएकाले यसमा सहयोग गर्न आह्वानसमेत गर्नुभयो।
सडक विस्तारमा संलग्न निकायका सरकारी अधिकारीहरू भन्छन्– “जुन बेला घर भत्किएको थियो त्यो बेला चित्त दुखेको भए पनि अहिले बाटो ठूलो भएको, भत्काइसकेपछि घर नयाँ बनाएकाले काठमाडौँ अहिले एकदमै नयाँ, फुटफाथ पनि नयाँ, घरपनि नयाँ, पिच पनि नयाँ, बाटो पनि ठूलो चौडा भएको हुनाले काठमाडौँको मुहार नै परिवर्तन आएको छ।”
उनीहरूको विचारमा आगामी दुई/चार महिनामै काठमाडौं नयाँ रूपमा प्रस्तुत हुनेछ। रासस
Saturday, January 26, 2013
आज पौष शुक्ल पूर्णिमा- स्वस्थानी ब्रतारम्भ
आज पौष शुक्ल पूर्णिमा- आजका दिनदेखि स्वस्थानी ब्रत प्रारम्भ भएको छ। आजैदेखि माघ स्नान गर्ने र (अधिकांश हिन्दु नेपालीका घरमा सात्विक भावले श्रद्धा-भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा-आराधना गरी) स्वस्थानीको कथा सुन्ने तथा सुनाउने गरिन्छ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई स्वामीका रूपमा पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरेपछि उनको मनोकांक्षा पूरा भएको कथा नै स्वस्थानी ब्रत कथा हो।
शिव-पार्वतीको बिबाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही ब्रत कथा प्रचलित रहिआएको मानिन्छ।
सुख, सन्तोष, उन्नति तथा परमार्थमा शिव लोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवम् भक्तिभावपूर्वक पौष शुक्ल पूर्णिमादेखि शुरु गरिने श्री स्वस्थानी परमेश्वरीको ब्रत, पूजन तथा कथा-श्रवण गर्ने क्रम एक महिना, अर्थात माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।
इजिप्टको अदालतद्वारा एक्काइसजनालाई मृत्यु दण्डको सजाय
इजिप्टको अदालतले फुटबल क्लबका समर्थकहरु बीच गत बर्षको फरवरी महिनामा भएको भिडन्तका अभियोगी एक्काइसजनालाई मृत्यु दण्डको सजाय सुनाएको छ।
इजिप्टका इतिहासमा सबैभन्दा हिंश्रक मानिएको त्यस भिडन्तमा परी चवहत्तरजना मानिस मारिएका थिए।
सो भिडन्त इजिप्टको पोर्ट सईद रंगशालामा देशका सर्वोच्च फुटबल टोली बीच प्रतिष्पर्धा भैरहेका बेला भएको थियो।
स्वतन्त्र न्यायपालिका र विधिको शासन प्रजातन्त्रको मेरुदण्ड: राष्ट्रपति यादव
राष्ट्रपति रामवरण यादवले स्वतन्त्र न्यायपालिका र विधिको शासन प्रजातन्त्रको मेरुदण्ड भएको कुरा बताउनुभएको छ। एसियाली कानून व्यवसायीहरुको संगठन- एसियन बार एसोसियसन र नेपाल बार असोसिएसनको संयुक्त तत्वावधानमा काठमाडौँमा आयोजित कानुन विषयक दुइ-दिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले कानुन व्यवसायीहरु सामाजिक इन्जिनियर भएको टिप्पणी पनि गर्नुभयो।
नेपालको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति यादवले नयाँ संविधानको निर्माण र घोषणा विना नै संविधान सभाको अवसान हुनु दुर्भाग्यपूर्ण भएको कुरा बताउनुभयो। नेपाली जनताको चाहनाअनुरुप राजनीतिक दलहरु सहमतिमा पुग्न नसकेकोमा दुख व्यक्त गर्दै उहाँले जस्तोसुकै अवस्था आए पनि नयाँ निर्वाचन र संक्रमण कालको अन्त्यका लागि दलहरु मिल्नुको विकल्प नभएको कुरा बताउनुभयो।
प्रजातन्त्रलाई संस्थागत गर्ने दिशामा दलहरु गम्भीर नभएमा परिणाम नकारात्मक हुने चिन्ता राष्ट्रपति यादवले व्यक्त गर्नुभयो।
प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायपालिका बलियो भएमा मात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो। कार्यक्रममा महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले पनि मतव्य व्यक्त गर्नुभएको थियो।
तस्विर सौजन्य: इकान्तिपुर
संविधान सभाको निर्वाचन हुने पक्का भए जस्तोसुकै त्याग गर्न आफ्नो पार्टी तयार: दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान सभाको निर्वाचन हुने पक्का भए सरकार त्याग गर्न आफ्नो पार्टी तयार रहेको कुरा बताउनुभएको छ। नेकपा माओबादीको भक्तपुर जिल्ला कमिटिको पाचौ जिल्ला अधिबेशनको उद्घाटन गर्दै उहाँले एमाले र कांग्रेसलाई उम्मेदवार घोषणा गर्न समेत आग्रह गर्नुभयो।
जेठ पन्ध्र गतेभित्र निर्वाचन होस् भन्ने नेकपा माओवादीको चाहना भएकाले यसका लागि जस्तोसुकै त्याग गर्न पनि नेकपा माओवादी तयार छ, अध्यक्ष दाहालले भन्नुभयो। 'कांग्रेस र एमालेको नेताहरुलाई यहीबाट अपिल गर्न चाहन्छु, आउनुस निर्वाचनका लागि के गर्नुपर्यो हामीले? निर्वाचनलाई केन्द्रविन्दुमा राखेर सबै त्याग गर्न तयार छौ', एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालले भन्नुभयो। 'हामीले यति भन्दा पनि तपाईहरुले फेरि माओबादी र प्रचण्डले कुरा फेरे भन्न बेर लगाउनुहुन्न भने अन्तिम फैसला नेपाली जनताले गर्नेछ' अध्यक्ष दाहालले भन्नुभयो।
हुम्लाबाट फर्केपछि एमाले र कांग्रेसको केही नेताहरुसङ्गको छलफलमा आफूले संविधान सभाको निर्वाचन हुने पक्का भए माओवादी अझै ललिचो हुन तयार रहेको आफूले बताएको जानकारी पनि सो अबसरमा माओवादी अध्यक्ष दाहालले दिनुभयो। को सही, को गलत भनेर 'फैसला गर्ने महाअदालत जनता नै' भएकाले जनतामा जाने हाम्रो कुनै विमति छैन,'निर्वाचन गराउनका निम्ती हाम्रो पार्टी अब जस्तोसुकै त्याग गर्न पनि तयार छ' दाहालले दोहर्याउनुभयो।
धम्की आएको छैन --हरि पन्थी
एमाओवादीबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको छ । पौडेलले भन्नुभयो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुुस गरेर कार्यथलो छाडेका हौं ।’
पौडेलको कथन छ-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन । तर, पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापालाई ज्यानमार्ने धम्की आएपछि बसेको महासंघको बैठकले अहिले जिल्लामा बस्न सक्ने अवस्था नहरेकाले आफुहरु सुरक्षित ठाउँमा हिँडेका हौं,’ सुरक्षाको प्रत्याभूति नभएसम्म नर्फकने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी जिल्लामा आएर सुरक्षा प्रत्याभूति गराएपछि काममा र्फकन्छौ,’ उहाँले भन्नुभयो-’त्यतिन्जेलसम्म घटनास्थलमा गएर कुनै रिर्पोटिङ गर्दैनौ ।’
पत्रकार महासंघका सभापति पुस्कर थापाले प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको शुक्रबार एभिन्यूज टेलिभिजनलाई प्रतिक्रिया दिनुभएको छ । आफुहरु आठ बर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी गर्नुभयो । बिपक्षी दलहरुले दैखलबाटै सरकार ढाल्ने आन्दोलन थालेपछि आफुहरु दोहोरो मारमा परेको थापाले प्रतिक्रिया दिनुभयो ।
अहिलेको आबश्यकता अलिकति छोडेर भए पनि संक्रमण कालको अन्त्य गर्नु हो
संचारकर्मी पत्रकारले संचार गर्नुपर्छ, सूचना प्रवाहित गर्नुपर्छ, जस्ताको तस्तै। उसले समाचार लेख्ने हो, समाचारको सिर्जना गर्ने होइन। हरेक प्राणी चेतनशील भएका हुनाले उसको चेतनाले यो सही, यो गलत भन्नसक्छ। यो एकदम राम्रो कुरा हो। त्यसैले त उ सही कुरा मात्र लेख्छ। यसर्थमा जो सही कुरा लेख्छ, त्यो पत्रकार हो, जो गलत लेख्छ, त्यो राजनीतिज्ञ।
पत्रकारले पत्रकार बन्न सक्नुपर्छ, राजनीतिज्ञ बन्ने प्रयास गर्नु हुँदैन। किन त भन्दा राज्यको चौथो अङ्गको हैसियतमा पत्रकारको ठूलो जिम्मेवारी छ, समाजप्रति। यसैले उसले समाचारको आफूलाई मन नपर्ने पाटोका बारेमा उल्लेखै नगरिकन आफूलाई मनपर्ने पक्षलाई मात्र उल्लेख गर्नसक्छ (यद्धेपि यो पनि अपराध नै हो, कारण सत्यलाई लुकाउने प्रयास गरियो), तर घटनालाई आफूखुशी बंग्याएर समाजलाई दिग्भ्रमित गर्ने काम कदापि गर्नु हुन्दैन। किनकि यो त महापाप हो।
गृहमन्त्री विजयकुमार गच्छदारले प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकलाई गोली हान्ने आदेश नदिएकै कारण सरुवा गरिएको भन्ने भनाइ गलत हो भन्दाभन्दै फेरि त्यसै कुरालाई कोट्याइरहनु गलत कुरा हो। 'झुटो कुरा काटे मिल्दैन', 'असत्य धुरिबात कुर्लिन्छ' भन्ने हाम्रा नेपाली उखान त्यसै बनाएका होइनन, यिनीहरु सामाजिक परिपाटीका परिष्कृत उपज हुन। यस वास्तविकतालाई नबुझेर आफ्नो राजनीतिक रंगलाई मात्र अरु चर्का बनाउने प्रयास गर्दा, र अहिलेको संक्रमणकालीन अवस्थालाई चर्काउने गरी घटनालाई धेरै उत्तेजित नपारिदिने गृहमन्त्रीको आग्रहलाई वास्ता नगर्दा प्रजातन्त्र साँच्चिकै बिस्थापित हुनसक्छ। अनि त्यसको जिम्मेवारी इतिहासले कसको टाउकामा हाल्ला, बुझ्नुपर्ने कुरा छ।
नेपालको अहिलेको यो अवस्थाको समाधान जुझेर होइन, मिलेर हुनसक्छ। अहिलेको आबश्यकता अलिकति छोडेर भए पनि संक्रमण कालको अन्त्य गर्ने हो। होइन, कुर्चीकै लागि लडिरहने हो भने तिम्रो निधारमा कलंकको दाग त लाग्छ लाग्छ, त्यसका अतिरिक्त नेपाली जनताले तिमीलाई पाखा लगाउने अधिकार त आफूसँगै राखेको छ।
Friday, January 25, 2013
सूचना तथा सञ्चार मन्त्रीद्वारा पत्रकारहरुलाई जिल्लामै बसेर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता
सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले दैलेखका विस्थापित पत्रकारहरुलाई शनिबारसम्म गृह-जिल्ला दैलेख फर्काउने प्रतिबद्धता जनाउनुभएको छ।
प्रेस चौतारी नेपालद्वारा आज दियिएको ज्ञापनपत्र बुझ्दै सञ्चार मन्त्री यादवले प्रधानमन्त्री र गृहमन्त्रीसँग पत्रकारहरुको सुरक्षाका विषयमा छलफल गरेर पत्रकारहरुलाई जिल्लामै बसेर काम गर्ने सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दैलेखमा अस्ति भएको घटनापछि 'ज्यान मार्ने धम्की दिइएको' भन्दै त्यहाँका बाइसजना पत्रकारहरु सुर्खेत सदरमुकाम वीरेन्द्रनगर पुगेका छन्। उनीहरुले आज मध्य-पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिए। एक घण्टा चलेको धर्ना कार्यक्रम नेपाल पत्रकार महासंघ मध्य-पश्चिम क्षेत्रीय समन्वय समितिको अगुवाइमा भएको थियो।
ती पत्रकारहरुले वीरेन्द्रनगरमा सरकारी अधिकारीहरु, पत्रकार मित्रहरु र अन्य सम्बन्धित निकायका प्रतिनिघिहरुसङ्ग आफ्नो स्थितिका बारेमा छलफल गर्नुका साथै आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग पनि गरेका छन्। पत्रकारहरु सुर्खेत गएपछि दैलेखबाट प्रकाशित हुने दुइवटा दैनिक र दुइवटा एफएम रेडियो बन्द भएको बताइएको छ।
दैलेखबाट सुर्खेत पुगेका पत्रकारहरुद्वारा आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग
दैलेखमा अस्ति भएको घटनापछि 'ज्यान मार्ने धम्की दिइएको' भन्दै त्यहाँका बाइसजना पत्रकारहरु सुर्खेत सदरमुकाम वीरेन्द्रनगर पुगेका छन्।
नेपाल पत्रकार महासंघ मध्य-पश्चिम क्षेत्रीय समन्वय समितिको अगुवाइमा उनीहरुले आज मध्य-पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिए। एक घण्टा चलेको धर्ना महासंघ क्षेत्रीय संयोजक सुर्यमणी गौतमको नेतृत्वमा भएको थियो। धर्नामा नेपाल पत्रकार महासंघ प्रतिनिधि र सुर्खेतका पत्रकारहरु पनि सहभागी भए।
ती पत्रकारहरुले वीरेन्द्रनगरमा सरकारी अधिकारीहरु, पत्रकार मित्रहरु र अन्य सम्बन्धित निकायका प्रतिनिघिहरुसङ्ग आफ्नो स्थितिका बारेमा छलफल गर्नुका साथै आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग पनि गरेका छन्।
पत्रकारहरु सुर्खेत गएपछि दैलेखबाट प्रकाशित हुने दुइवटा दैनिक र दुइवटा एफएम रेडियो बन्द भएको बताइएको छ।
देशको अहिलेको आवश्यकता प्रधानमन्त्रीको राजीनामा नभई राजनीतिक सहमतिको: दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देशको अहिलेको आवश्यकता प्रधानमन्त्रीको राजीनामा नभई राजनीतिक सहमति भएकोमा कुरा बताउनुभएको छ। सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले नयाँ निर्बाचन, कानुनी अवरोध निवारण र संघीयतालगायतका विषयमा राजनीतिक दलहरुबीच सहमति भएमा प्रधानमन्त्रीले राजीनामा दिने कुरा स्पष्ट पार्नुभयो।
कसैलाई जवर्जस्ती निकाल्न लगाएर सहमति नहुने कुरा स्पष्ट पार्दै अध्यक्ष दाहालले यस वास्तविकतालाई बुझ्न लोकतन्त्रवादी दलहरुलाई आग्रह गर्नुभयो।
आगामी जेठ पन्ध्रभित्र कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने विचार व्यक्त गर्दै दाहालले काठमाडौं जाने बित्तिकै आफूले निर्वाचनका विषयमा प्रमुख दलहरुसँग छलफल गर्ने जानकारी दिनुभयो।जेठ पन्ध्रभित्र निर्वाचन गराउन प्रतिबद्ध हुने कुनै पनि दलको उम्मेदवार नेकपा माओवादीलाई मान्य हुने कुरा स्पष्ट पर्दै एमाओवादी अध्यक्ष दाहालले 'यसका लागि कांग्रेस र एमाले पनि लचिलो हुनुपर्छ' भन्नुभयो।
दैलेख घटनाका सन्दर्भमा दुख व्यक्त गर्दै अध्यक्ष दाहालले 'दैलेखमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न व्यक्तिहरुलाई कारवाही नहोस् भन्ने हाम्रो चाहना होइन, तर द्वन्द्वकालका सबै घटनाका दोषीहरु त्यतिकै जिम्मेवार भएकाले द्वन्द्वकालमा भएका सम्पूर्ण घटनालाई बिस्तृत शान्ति सम्झौताको भावनाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर छानविन गरिनुपर्ने बताउनुभयो।
Subscribe to:
Posts (Atom)