Wednesday, January 23, 2013

कसैलाई अछुतको व्यवहार गर्नेले अर्काका तर्फबाट पनि त्यस्तै व्यवहार पाउँछ


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको सुनिश्चितता भएको खण्डमा  कसैको पनि नेतृत्वको सहमतीय सरकार आफूहरूलाई स्वीकार्य हुने कुरा दोहर्याउनु भएको छ। एकीकृत माओवादी, सिन्धुली जिल्ला कमिटिको चौथो सम्मेलनको हिजो उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी जेठभित्र संविधान सभाको निर्वाचन गराउन प्रतिवद्धता जनाउने कुनै पनि दल वा व्यक्तिको नेतृत्वलाई स्वीका गर्न माओवादी तयार रहेको स्पष्ट पार्नुभयो। 

पत्रकार डेकेन्द्र थापाको घटना र बेलायतमा कर्णेल कुमार लामा पक्राउ परेको विषयलाई उठाएर  एमाओवादीलाई कमजोर बनाउने षड्यन्त्र गर्नखोजिएमा भर्खरै फुटेर गएको नेकपा, माओवादीसँग पनि पार्टी एकता हुनसक्ने कुरा अध्यक्ष दाहालले स्पष्ट पार्नुभयो। उहाँले एउटा व्यक्तिको घटनालाई लिएर घेराबन्दी गर्ने काम हुने हो भने जनयुद्धमा शहिद भएका १५ हजारको केस उल्टाउनसकिन्छ, अनि त्यति बेला 'कसको हालत के हुन्छ भनेर आफैं बुझे हुन्छ' भन्नुभयो।  

कार्यक्रममा एमाओवादी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डले भनेजस्तै संविधान सभाको निर्वाचनको सुनिश्चितता भए सहमतीय सरकारका लागि आफू बाधक नबन्ने कुरा दोहर्याउनुभयो। 'जेठ १५ गतेभित्र संविधान सभाको निर्वाचन गराउने प्रत्याभूति दिए सहमतीय सरकारका लागि जुनसुकै विकल्पमा छलफल गर्न तयार छौं', भट्टराईले भन्नुभयो। 

मेरो विचार: एकीकृत नेकपा माओवादीका नेताहरुले निश्चित तिथिमा निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गर्ने कसैको नेतृत्वको सरकार पनि स्वीकार्य हुने कुरा पटक-पटक भन्दैआएका छन। प्रधानमन्त्री बाबुराम भट्टराईले पनि यसो भएमा आफू सहमतिको बाधक नबन्ने कुरा सिन्धुलीको आमसभामा समेत स्पष्ट पारिसक्नुभएको छ। माओवादी नेताहरुका यस्ता अभिव्यक्ति प्रायजसो सबै संचार माध्यमहरुमा आइरहेका छन। यस्तो अवस्थामा सबै दल मिलेर निर्वाचनको तिथि तोक्ने र तोकिएको मितिमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्न कुन दललाई किन अप्ठ्यारो परिरहेको छ? 

आखिर निर्वाचन लोकतान्त्रिक अभ्यास नै हो। त्यसैको लागि प्रतिबद्ध माओवादीलाई सत्ताकब्जा गर्ने रणनीतिमा लागेको दल भनेर आरोपित गर्ने विरोधी दलहरुले निर्वाचनप्रति प्रतिबद्धता नै नजनाइकन सत्ताका लागि मात्र सडक तताएर हुन्छ? नेपाली मतदाताले मुल्यांकन नगर्लान, को सही छ, को गलत छ भनेर? 
सहमतिको सरकारको कुरा गर्दा, तिमीले सत्ता नछोडेसम्म कुनै सहमति हुनसक्दैन भन्नेहरुलाई राम्रैसङ्ग थाहा हुनुपर्छ- हामी सत्तामा गए पनि यस्तै स्थिति आउँछ भन्ने। किनकि तिमीले कसैलाई अछुतको व्यवहार गर्छौ भने अर्काले पनि तिमीप्रति त्यस्तै व्यवहार गर्छ। यसको अर्थ के भयो त भन्दा, अहिले सडक आन्दोलनबाट बाबुरामलाई हटाउन लागिपरेकाहरुको उद्देश्य निर्वाचन गराउने, देशलाई शान्ति सुव्यवस्थातिर निर्देशित गर्ने होइन, बरु जसरी भए पनि सत्तामा जाने र सम्भव भएसम्म लामो समयसम्म सत्तामा टिकेर मोज गर्ने मात्र हो।   तस्विर सौजन्य: इकान्तिपुर 

No comments:

Post a Comment