नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाल प्रेस युनियनले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालमा सहमतिको कुनै पनि विकल्प नभएको कुरा बताउनुभयो। तर दु:खको कुरा, त्यस्तो सहमतिका लागि सर्वप्रथम प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा गर्नुपर्ने कुरा उहाँले दोहर्याउनुभयो। 'राजीनमा गर्दैगर्दैन त समहति कहाँबाट हुन्छ', देउवाका शब्द हुन् यी। दलहरु बीचको सहमति विना राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने र राष्ट्रले निकास पनि नपाउने जिकीर गर्ने देउबाले 'प्रधानमन्त्रीले राजीनामा गरेपछि राष्ट्रिय सहमति बनी हाल्छ' भन्नुभयो।
राष्ट्रपति रामबरण यादवले जेठ सोह्र गते नै चिट्ठी लेखेर कामचलाउ घोषित गरिसकेका प्रधानमन्त्री बाबुराम भट्टराईको 'राजिनामा' माग्दामाग्दै आठ महिना बिताउने नेपाली कांग्रेस र एमालेले आफ्नो प्रधानमन्त्रीको उम्मेदवारको नाम समेत दिन सकेनन। तिमी राजिनामा देउ, अनि हामी उम्मेदवारको नाम भन्छौं भनिरहे। जब यिनीहरुले आखिरमा उम्मेदवारको नाम भन्ने आँट गरे, तब माओवादीले राखेका निर्वाचनको मिती घोषणा, निर्वाचन गराउने प्रत्याभूति, विघटित संविधान सभाले हालसम्म गरेको कार्यको स्वामित्व ग्रहण, सम्वैधानिक निकायहरुमा नियुक्तिलगायतका कुनै पनि विषयमा सहमति नै नगरिकन कुर्ची मात्र मागे, शायद। त्यसैले सहमति हुनसकेन। अनि यिनीहरु भन्नथाले, माओवादीले धोका दियो।
अब देउबा भन्नुहुन्छ, 'प्रधानमन्त्रीले राजीनामा गरेपछि राष्ट्रिय सहमति बनी हाल्छ' भनेर। कसरी बन्ला राष्ट्रिय सहमति, एउटा सबैभन्दा ठूलो राजनीतिक दललाई बाहिर राखेर? प्रधानमन्त्री बाबुराम भट्टराईलाई अछुतको व्यवहार गर्ने, माओवादीलाई सर्बसत्तावाद लाद्नाखोज्ने दल भन्ने, उसलाई अविश्वास गर्ने, भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमति बन्नै नसक्ने उद्घोष गर्ने, अनि तिम्रो नेतृत्वमा कसरी बन्छ राष्ट्रिय सहमति। कि गणतन्त्रमा राष्ट्रिय सहमतिको परिभाषा फरक हुन्छ?
सहमति गरेर राष्ट्रिय समस्याहरुको समाधानतिर लाग्नुपर्ने दलहरु अहिले एक-अर्कामाथि हिलो छ्याप्न मात्र व्यस्त देखिन्छन, प्रधानमन्त्रीको कुर्चीका लागि मात्र संघर्षमा जुटिरहेका देखिन्छन। यस्तो व्यवहार नेपाल र नेपालीका लागि कदापि हितकर छैन भन्ने कुरा राजनीतिक दलका नेताहरुले बुझ्नु अति आबश्यक बेला हो यो। अन्यथा यस अवस्थाले निम्त्याउने अराजकताको शिकार माओवादी मात्र होइन, नेपालका सबै राजनीतिक दलहरु हुनेछन।
सबैभन्दा ठूलो घाटा त नेपाल र नेपालीले बेहोर्नुपर्ने छ। यस वास्तबिकतालाई बुझेर सबैले संयमित भै अघि बढ्नुपर्ने अहिलेको आबश्यकता हो। तस्विर सौजन्य: इकान्तिपुर
No comments:
Post a Comment