नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच रुकुम जिल्लाको सदरमुकाम खलङ्गामा आज विहान भएको झडपमा नेपाली कांग्रेसका नेता एवम् भूतपूर्व राज्यमन्त्री गोपालजीजङ्ग शाह, जिल्ला सभापति मानबहादुर नेपाली, नेपाल तरुण दलका अध्यक्ष नन्द विष्ट, जिल्ला कार्य-समिति सदस्य खडक डाँगीलगायतका बाह्रजनाभन्दा बढी कार्यकर्ता सामान्य घाइते भएका छन्।
नेपाली कांग्रेसको दुलीगाउँ कार्य-समिति सभापति कविराम खत्रीको हत्या भएको विरोधमा कांग्रेसले रुकुम बन्दको आह्वान गरेकोमा बन्दको अवज्ञा गरी बस चलाउनथालेको भन्दै बसमा तोडफोड गरेपछि झडप भएको हो ।
लामो दूरीका बस चलाउने विषयमा छलफल भइरहेको बेला नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि तनाबको स्थिति सिर्जना भए पनि छलफलपछि लामो दूरिको यातायात सेवा सुचारु गर्ने सहमति भएको छ। यातायात सेवा सञ्चालन भए पनि सदरमुकाम आसपासका बजार तथा विद्यालय, कलेज बन्द रहेका छन्।
नेपाली कांग्रेसका कार्यकर्ताले बन्दलाई सफल बनाउन विहानैदेखि बजार र चोकचोकमा निस्कनुका साथै सडकका विभिन्न ठाउँमा ढुङ्गा लडाएर अवरोध सिर्जना गरेका थिए । आजको बन्दबाट पनि आफ्ना मागमाथि कुनै सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी नेपाली कांग्रेसले दिएको छ ।
No comments:
Post a Comment