प्रधानमन्त्री डा बाबुराम भट्टराईले कास्की जिल्लाको सिल्दुजरे गाविसमा निर्माण गर्नलागिएको माथिल्लो मादी जल-विद्युत आयोजनाको आज शिल्यानास गर्नुभयो। पच्चीस मेगावाट क्षमताको उक्त योजनाको निर्माण चीनको त्रि-घाँटी कम्पनी र नेपाली निजी क्षेत्रको गरी पाँच अर्ब अठ्ठाइस करोडको संयुक्त लगानीमा गर्नलागिएको हो ।
शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा भट्टराईले विकास योजनाहरुको सुरक्षामा सरकारका तर्फबाट पूर्ण प्रतिवद्धता व्यक्त गर्दै निर्भिकताका साथ लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो।
वर्तमान राजनीतिक अवस्थाका बारेमा बोल्दै प्रधानमन्त्री भट्टराईले दलहरुबीच सहमति भए आफू पद छोड्न तयार रहेको कुरा बताउनुभयो। आफू सहमतिको बाधक नभएको कुरा दोहर्याउँदै उहाँले अहिले दलहरुबीच कुर्चीका लागि लडाइँ चलिरहेको छ, त्यस बाहेक कुनै सहमति भएको छैन भन्नुभयो। आफू सहमतिको बाधक भएको भनेर लगाइएको आरोप शतप्रतिशत गलत भएको दाबी गर्दै प्रधानमन्त्रीले 'हुँदै नभएको सहमति मैले कसरी भाँडे?' भनेर प्रश्न गर्नुभयो।
कसैलाई प्रधानमन्त्रीको कुर्चीमा ल्याउनकै लागि कसैले भन्दैमा आफूले राजिनामा नदिने, तर मुलभूत विषयहरुमा समग्रमा राजनीतिक सहमति भएमा भने आफू बाधक नबन्ने कुरा स्पष्ट पार्नुभयो।
No comments:
Post a Comment