Friday, December 28, 2012

सामाजिक सुधारमा यसले सकारात्मक प्रभाव पारोस


अबैध कार्य भएको हुनसक्ने, वा भएको भनेर, नेपाल सरकारले गाडीहरुमा कालो शीसा राख्न, वा सेतो शीसामा रंग पोतेर भित्र नदेखिने बनाउन नपाइने जस्ता कतिपय निर्णयहरु गरेको थियो। तर त्यो निर्णय कहिलेइ कार्यान्वयन भएको देखिएन। अहिले पनि यस्ता गाडीहरु यदाकदा काठमाडौँका बाटाहरुमागुडिरहेका देखिन्छन। 
यस्तै एक प्रकारको निर्णय अहिले, ठ्याक्कै भन्नुपर्दा, अस्ति बुधबार भक्तपुरको जगातीदेखि साँगासम्मका होटल व्यवसायीहरुको संस्था-  अरनिको पर्यटक व्यवसायी संघ र प्रहरीबीच भएको बैठकमा गरिएको छ। बैठकमा अरनिको राजमार्ग दायाँ-बायाँ खुलेका होटल/रेष्टुरेन्टको कोठामा भित्रबाट चुकुल लगाएर बस्न नपाइने नियम बनाइएको छ। होटल र रेष्टुरेन्टमा हुने अनैतिक कार्य रोक्न प्रहरी र होटल व्यवसायीबीच भएको यस बैठकमा गरिएको भनिएको बाह्र बुदे सहमति कति कार्यान्वयन हुने हो, त्यो त समयले नै देखाउला।
नेपालमा हालसम्म, खासगरी प्रजातन्त्रको पुनर्स्थापनापछि, गरिएका निर्णयहरु, बनाइएका-लागू गरिएका कानूनहरु प्रायजसो अलपत्र परेका देखिन्छन, विशेषतः यदि तिनीहरु ठूलावडा र पहुँचवाला अनि ब्यबसयीहरुका क्रियाकलापमा अंकुश लगाउनेखालका छन् भने। त्यसैले यो सहमति/निर्णय पनि प्रभावकारी रुपमा लागू होला भन्ने कुरामा स्थानीय बासिन्दाहरु नै विश्वस्त देखिदैनन किनकि यसमा 'अनैतिक कार्य गरेमा कानुनी कार्यबाही' गर्ने भन्ने जस्तो कुरा कतै उल्लेख छैन। 
तथापि, होटेल व्यवसायलाई मर्यादिप बनाउने नाममा भक्तपुर प्रहरीले हावादारी निर्णय गरेको भन्नेजस्ता टिप्पणी अहिलेइ हुनथालिसकेको सन्दर्भमा प्रहरीले सजग भएर प्रभावकारी रुपमा कार्य गर्न पनि सक्छ। तर जे होस्, शुरुवात भने राम्रै भएको मान्नुपर्छ- होटलमा कार्यरत महिला कर्मचारीलाई  खाना पकाउने, ग्राहकहरुको सेवा गर्ने लगायतका काममा लगाउन नपाइने, महिलालाई होटल तथा रेष्टरेन्टमा अनैतिक कार्यमा लगाएमा, बोलाएर अनैतिक कार्य गराएमा होटल व्यवसायीको सदस्यता स्वत खारेज हुने, होटल तथा रेष्टुरेन्टमा काम गर्ने महिला कामदारलाई भद्र पोशाकमा मात्र काममा लगाउनुपर्ने जस्ता निर्णय पनि भएको छ, जसलाई सराहनीय नै मान्नुपर्छ। आशा गरौँ, यसले राम्रै परिणाम ल्याउला।   

No comments:

Post a Comment