Saturday, February 9, 2013

चिनियाँ युद्ध-पोतले आफ्नो युद्ध-पोतको रडार प्रणालीलाई अवरुद्ध गरेको भन्ने जापानी आरोपको चीनद्वारा खण्डन


चीनको रक्षा मन्त्रालयले चिनियाँ युद्ध-पोतले गत महिना दुइ पटक आफ्नो युद्ध-पोतको रडार प्रणालीलाई अवरुद्ध गरेको भन्ने जापानको आरोपको खण्डन गरेको छ। 
जापानी आरोपका सन्दर्भमा  चिनियाँ रक्षा मन्त्रालयको इन्टरनेट पृष्टमा प्रकाशित सामग्रीमा 'जापानले आफ्नो छवि बिगार्ने मनसायले यस्तो आधारहीन हल्ला चलाएको' कुरा उल्लेख गर्दै यस्तो गैह्र-जिम्मेवार टिप्पणी गर्नछाड्न जापानी पक्षलाई आग्रह गरिएको छ। त्यस सामग्रीमा पूर्वी चिनियाँ समुद्रकों त्यसै पनि तनावपूर्ण स्थितिलाई यसरी झन उक्साउने काम नगर्न चीनका तर्फबाट जापानलाई आग्रह पनि गरिएको छ।  
मानव बसोबस नभएका तर प्राकृतिक सम्पदाले सम्पन्न भएका भनिएका पूर्वी चिनियाँ समुद्रमा अवस्थित जापानमा सेन्काकु र चीनमा तियाओयु भनिने द्वीपलाई यी दुवै देशले आफ्नो भू-भाग भएको दाबी गर्दैआएका छन। 
यस सन्दर्भमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले चीनको छवि बिगार्ने उद्देश्यले जापानले जानीजानी तनाव सिर्जना गर्नखोजेको दाबी गरे।
जापानका रक्षामन्त्री ओनोदेराले यस विषयमा दुइ पक्ष बीच वार्ता शुरु गर्न रक्षा अधिकारीहरूलाई आग्रह गर्नुभएको छ। अमेरिकी रक्षामन्त्री लेओन पेनेटाले पनि  क्षेत्रीय दाबीका समयमा कहिलेकाही परिस्थिति नियन्त्रणभन्दा बाहिर जानसक्छ भन्दै शान्तिपूर्ण वार्ताका लागि दुवै पक्षलाई आग्रह गर्नुभएको छ। 
त्यस द्वीप समूह अन्तर्गतका केही द्वीप निजी प्रयोगकर्ताबाट सरकारले गत सेप्टेम्बर महिनामा किनेको जानकारी जापानले दिएपछि यस तनाव अरु बढेको हो। तस्विर सौजन्य: बिबिसी 

आफ्नै श्रोतमा यात्री आवागमन भवन निर्माण कार्यको थालनी


देशका हरेक निर्माण कार्यका लागि अर्काकै (विदेशी) सहयोग नभई हुँदैन भन्नेजस्तो नेपालीको मानसिकतामा परिवर्तन ल्याउने दिशामा नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो नभए पनि एउटा अर्को कदम भने चालेकै हो। एसियाली विकास बैंकको ऋण सहयोगमा गरिने भनिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आवागमन भवनको विस्तार कार्यमा लागत बढ्नगएकोले देशलाई अनावश्यक भार पर्नबाट जोगाउनका लागि भन्दै प्राधिकरणले आफ्नै स्रोत प्रयोग गरेर विस्तार कार्य शुरु गरेको छ। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आवागमन भवनले हालको बढ्दो यात्री-चापलाई थेग्न नसक्ने स्थिति आएपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ आन्तरिक आवागमन भवनको निर्माण कार्य शुरु गरेको हो। 
झन्डै एक वर्षमा पूरा हुने लक्षानुसार करिब एघार करोड रुपियाँको लागतमा काम थालिएको नयाँ आन्तरिक आवागमन भवनको निर्माणपछि यात्रीहरुका लागि प्रतिक्षालयको क्षेत्र बढ्ने र, यसका साथै परिवहनका लागि विमानमा लगिने र ल्याइने सामानको ओसार-पसार पनि अर्कै बाटोबाट गरिने जानकारी प्राधिकरणले दिएको छ।  
पहिले ब्रिटिस-गोर्खाको घर रहेको क्षेत्र र अहिलेको यात्री आवागमन भवनलाई जोडेर बनाउन लागिएको नयाँ यात्री आवागमन भवनले आगामी आठ-दस वर्षसम्मका लागि यात्री आवागमनको चापलाई थेग्नसक्ने विश्वास विमास्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमन गर्नुहुन्छ।

Friday, February 8, 2013

इलामे चिया-बारी....मिलन लामा

एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन सम्पन्न: पोस्ट बहादुर बोगटी महासचिवमा निर्वाचित, अधक्ष, उपाध्यक्ष यथावत


एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन पुष्पकमल दाहालको अध्यक्षतालाई अर्को अवधिका लागि अनुमोदन गर्दै सम्पन्न भएको छ। पार्टी-उपाध्यक्षहरुमा डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ नै यथावत रहनुभएको छ। 
महाधिवेशनले पार्टी-महासचिवको जिम्मेवारी यस अघि सचिवको कार्यभार सम्हाल्दैआउनुभएका पोष्टबहादुर बोगटीलाई सुम्पेको छ। महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधिहरुले श्री बोगटीलाई आज सर्वसम्मतिले पार्टी-महासचिवमा चुनेका हुन।  


यस अघि पार्टी-महासचिवको जिम्मेवारी सम्हाल्दैआउनुभएका रामबहादुर थापा नेकपा, माओवादीतिर लागेपछि सो पद रिक्त थियो। बोगटी पार्टी-महासचिवमा चुनिएपछि रिक्त रहनगएको सचिवको छनोट केन्द्रीय समितिले गर्ने बताइएको छ।
महाधिवेशलने एक सय एकाउन्न सदसीय केन्द्रीय समितिका लागि अन्ठानब्बेजनाको मनोनय गरेको छ भने बाँकी केन्द्रीय सदस्यको मनोनयन समानुपातिक-आधारमा पछि गरिने जानकारी पार्टीले दिएको छ। 
हेटौंडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योगमा आइतबारदेखि शुरु भएको महाधिवेशनको बन्द सत्रले नेता अमिक शेरचनको संयोजकत्वमा छ-सदसीय अनुशासन समिति गठन गरेको छ।

बंगलादेशको मुन्शीगंजमा डुंगा डुब्दा लगभग चालिसजना मानिस मारिएको आशंका


बंगलादेशको मुन्शीगंजमा करिब एक सयजना यात्री लिएर गैरहेको डुंगा डुब्दा लगभग चालिसजना मानिस मारिएको अनुमान गरिएको छ। 
राजधानी ढाकाबाट चंदपुरका लागि गैरहेको एमवी सरोश नामको सो डुंगा ढाकादेखि करिब तीस किलोमिटर दक्षिणमा दुर्घटनाग्रस्त भएको हो। 
दुर्घटनामा परेका दर्जनौं मानिसको उद्धार गरिएको वा कतिपयले आफै पौडेर ज्यान जोगाएको बिबिसीले जनाएको छ। बंगलादेशमा सामान्य मानिएको डुंगा दुर्घटनामा परी वर्षेनी कयौं मानिसको ज्यान जानेगरेको छ। यस्ता दुर्घटनाहरु सामान्यतः न्यून गुणस्तरका डुंगाहरु र क्षमताभन्दा बढी मानिस बसालिने गरिएका कारण हुनेगरेको बताइञ्छ। 

विपक्षीहरु सहमति गर्न चाहँदैनन भन्ने कुरा प्रष्ट: माओवादी प्रवक्ता सापकोटा


agni sapkotaएकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटोले माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत प्रस्ताव विपक्षी दलहरुले नमान्नु आश्चर्यजनक कुरा भएको विचार व्यक्त गर्नुभएको छ। एमाओवादीको हेटौंडामा जारी अधिवेशनबारे जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सापकोटाले चुनाव हुनुपर्छ भन्ने तर कुनै पनि विकल्पमाथि सहमति गर्न नचाहने  विपक्षीहरुको चालाले उनीहरु सहमति चाहँदैनन भन्ने प्रष्ट हुन्छ भन्नुभयो। 
सहमतिको चुनावी सरकार बनाउने विपक्षीको मागअनुसार नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ विकल्प दिनुभएको कुरा पनि उहाँले बताउनुभयो। 
एमाओवादी अध्यक्ष दाहालले पार्टीको राष्ट्रिय महाधिवेशनका सहभागी-प्रतिनिधिहरुको बन्द सत्रमा छलफलका लागि हिजो प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावमा सहमतिको नयाँ चुनावी सरकारको नेतृत्व प्रधान न्यायाधीश खिलराज रेग्मीलाई दिने प्रस्ताव गर्नुभएको छ, जसलाई पार्टीले सर्बसम्मतिले अनुमोदन गरेको छ।  

तर, नेपाली कांग्रेस र नेकपा एमालेसहित आन्दोलनरत नौ दलको कांग्रेस केन्द्रीय कार्यालयमा बसेको संयुक्त बैठकले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमाथि छलफल गरेपछि 'उक्त प्रस्ताव निर्वाचनमा जाने उद्देश्यबाट नआएको' निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव ल्याएर एमाओवादीले न्यायालयलाई प्रभावित पार्न र यसलाई विवादमा तान्न खोजेको दाबी पनि सो बैठकले गरेको छ।  

Monday, February 4, 2013

Timro Haat Samai ... Sashi Rawal

एमाओवादीले सुरु गरेको मौलिक बाटो महत्वपूर्ण र उल्लेखनीय: विदेशी पाहुना


एमाओवादीको सातौं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका विदेशी भाइचारा पार्टीका प्रतिनिधिले नेपालको कम्युनिस्ट आन्दोलन मौलिक ढङ्गले अगाडि बढेको प्रतिक्रिया दिएका छन् ।

तस्विर सौजन्य: इकान्तिपुर 
आइतबार यहाँ रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा उनीहरुले कम्युनिस्ट आन्दोलन परम्परागतरुपले अगाडि बढ्न नसक्ने भन्दै एमाओवादीले सुरु गरेको मौलिक बाटो महत्वपूर्ण र उल्लेखनीय रहेको बताएका हुन् । उनीहरुले एमाओवादीले मौलिक बाटोबाट कम्युनिस्ट क्रन्तिलाई अगाडि बढाएको र सोबाट नै नेपालको सन्दर्भमा जायज भएको बताए ।
रसियन कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य सिन्द्रो यारोस सोल्पाले विश्वका महान् कम्युनिस्ट नेताहरुजस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक ढङ्गले क्रान्तिलाई अगाडि बढाएको भन्दै खुसी व्यक्त गरे ।
उनले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलन नितान्त मौलिक ढङ्गले अगाडि बढेको छ । यसलाई सफल पार्नु विश्वभरिको क्रान्तिहरुको दायित्व हो ।’ उनले राजनीतिक क्रान्तिसँगसँगै आर्थिक क्रान्तिलाई अगाडि बढाउने ढङ्गले राजनीतिक अभियानलाई अगाडि बढाए माओवादी सफल हुने विश्वास व्यक्त गरे ।
यस्तै, रेड पार्टी नर्वेका नेता अर्नेस्टोले नेपालको राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतनको एजेन्डालाई अगाडि बढाएको भन्दै एमाओवादीको उच्च प्रशंसा गरे । उनले  राजनीतिक परिर्वतनसँगै आर्थिक परिर्वतनको एजेन्डालाई अगाडि बढाउन सके नेपालको तीव्रतर रुपमा आर्थिक विकास पनि हुने र नेपालको समृद्धि पनि हुने भएकाले सो कार्यदिशा अपनाउँछौँ भन्ने एमाओवादीको कार्य दिशा वर्तमान सन्दर्भमा जायज र समयसापेक्ष भएको बताए  ।
त्यस्तै, भारतीय कम्युनिस्ट पार्टीका नेता शतिश भट्टचार्यले नेपालको कम्युनिस्ट आन्दोलन अनुकरणका लागि लायक भएको बताउँदै आवश्यक सहयोगका लागि आफूहरु तयार रहेको बताए ।
सो अवसरमा युरोपेली मुलुकका प्रतिनिधिहरुले नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत्लगायतका क्षेत्रमा सहयोग गर्न विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरुले अध्यक्ष प्रचण्डले महाधिवेशनका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समय सान्दर्भिक र यथार्थमा आधारित भएको बताएका थिए । -रासस 

Jhamke phuli nakaima bulaki...Dhrubaraj Khadka & Dharmesh Dulal

Sunday, February 3, 2013

'क्यास’ शब्द चरितार्थ गर्दै एमाओवादी

एमाओवादीको सातौं महाधिवेसन उद्घाटन समारोह सुरु हुने समयको प्रतीक्षा थियो । मध्याह्न १२ बजेको चर्को घाममा महाधिवेशनस्थल हुप्रचौरस्थित खेल मैदानमा केन्द्रीय आयोजक समितिका एक सदस्य हामीसँग गफिँदै थिए । पृष्ठभूमिमा गीत बज्यो, 'जनवादी क्रान्ति उचाइमा पुर्‍याउँछौं ।'

क्रान्ति होला त कमरेड ? एक मित्रको प्रश्नमा उनी फिस्स हाँसे, अनि भने, 'क्रान्ति हुन्छ । खाने क्रान्ति । कमिसन खाने, घूस खाने ।' कुराकानीको सुरुवातदेखि नै उनी पार्टीमा आर्थिक अनियमितता बढेको, भ्रष्टाचार मौलाएकोप्रति चिन्तित देखिन्थे । शिरदेखि पाउसम्म नियाल्दा उनको पहिरन सामान्य थियो, कम्युनिस्टकै
जस्तो । तर उनीजस्ता व्यक्ति एमाओवादीभित्र खोज्न हम्मे पर्न थालेको छ ।

एमाओवादी विभाजन भयो, नेकपा-माओवादी बन्यो । कुन माओवादी भन्ने भ्रम चिर्न गाह्रो परेपछि पछिल्लो माओवादीलाई ड्यास र अघिल्लो माओवादीलाई क्यास भनियो । एक महिनाअघि एमाओवादीबाटै फुटेर बनेको नेकपा-माओवादीको महाधिवेशनमा सहभागी नेता, कार्यकर्ताको पहिरन कम्युनिस्ट पाराकै थियो । तर 'क्यास' भनिएको एमाओवादीको सातौं महाधिवेशनमा उल्टो दृश्य देखियो ।

तपाईंहरू 'क्यास' नै हुनुभयो है ? भन्ने प्रश्न पूरा नहुँदै एमाओवादी मकवानपुर जिल्ला सेक्रेटरी बलराम बलको मोबाइल बज्यो । उनले ग्यालेक्सी एस ३ फोनमा संक्षिप्त कुरा गरे र मिटिङमा छु भन्दै काटे । त्यसपछि भने, 'यो व्यक्ति विशेषमा भर पर्ने कुरा हो । आर्थिक अनुशासन उल्लंघन गर्ने क्रम हाम्रो पार्टीमा बढेको छ, यो गलत प्रवृत्ति हो ।'

महाधिवेशन केन्द्रीय आयोजक समितिका सदस्य रामप्रसाद बन्जाडे त पार्टीभित्र बढ्दो आर्थिकलगायत अनियमितताबाट आजित छन् । भन्छन्, 'नीति, सिद्धान्त, व्यवहार, चरित्र, आनिबानीमा स्खलन आएको छ । आदर्श भत्किएको छ ।' त्यसो त अध्यक्ष पुष्पकमल दाहाल स्वयंको दस्ताबेजमा 'कार्यशैली र अनुशासनको प्रश्न' उपशीर्षकमा भनिएको छ, '...पार्टीभित्र गैरसर्वहारा कार्यशैली र अनुशासनहीनता झांगिन पुगेको छ । सर्वहारा मूल्य मान्यता निकै स्खलित हुन पुगेको छ ।'

कम्युनिस्टहरूको भाषा नै नबुझिने हुन्छ । अध्यक्ष दाहालले महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको दस्तावेजमा समाविष्ट शब्दावलीको आशय हो, 'पार्टी भ्रष्टीकरणको दिशामा उन्मुख छ ।' तर अध्यक्ष दाहालकै जीवनशैली र महल बसाई पार्टीभित्र ठूलो चर्चाको विषय बनेको छ । हेटौंडामा उनी मातहतका कार्यकर्ताको चहलपहल कम थिएन । स्वयंसेवक हुन वा प्रतिनिधि/ पर्यवेक्षक अधिकांशका जुत्तामा 'एडिडास,' 'पुमा' लेखिएको थियो भने पहिरनमा 'जारा,' 'मोन्टेकार्लो' लेखिएको दृश्य सामान्य लाग्थ्यो ।

'क्यास’ शब्द चरितार्थ गर्दै एमाओवादी हेटौंडाको बुद्धचोकबाट तीन किलोमिटर परको बन्दसत्र स्थलसम्म कुनै पनि पोल, रूख वा स्थान तुल झुन्ड्याउन मिल्ने ठाउँ बाँकी थिएन । सबैतिर पार्टीका झन्डा, तुल, ब्यानर टाँगिएका थिए । देश नै कुनै उत्सवमा भएजस्तो दृश्य एउटा पार्टीको महाधिवेशनमा देखियो, त्यो पनि हालसालै फुटेको पार्टीको । फुटको असर कम्तीमा हेटौंडामा देखिएन । बिलासिताको सन्दर्भमा बन्दसत्र स्थलमा पार्टीले व्यवस्था गरेको खानपान र बसोबासमा आधाभन्दा बढी प्रतिनिधिको रुचि देखिएन ।
 
धेरैजसो प्रतिनिधि बाहिर होटलको खाना र बसोबासमै रमाएका छन् । पूर्वअर्थराज्यमन्त्री हरि खेवा हामी बसेकै होटलमा रहेछन् । उनका लागि पार्टीले खानासहित बसोबासको बन्दोबस्ती गरेको थियो, लामो समयदेखि बन्द रहेको बन्दसत्रस्थल हेटौंडा कपडा उद्योगमा । तर 'साथीहरू' सँग बसेका उनको लगाव त्यसप्रति थिएन । खेवा उदाहरणमात्र हुन्, उनीजस्ता धेरै नेता, कार्यकर्ता प्रायोजकसहित होटलमा रमेका देखिन्थे ।

'निश्चित स्वार्थबस बाहिरियाहरूले लोकल कुखुरा व्यवस्था गरेको छु भनेर बोलाउँछन्, साथीहरू कुदिहाल्छन्,' आयोजक समिति सदस्य बन्जाडे भन्छन्, 'यस्तो प्रवृत्तिले दलालतन्त्र हावी गराउँछ ।' बिस्तारै पार्टी त्यही दिशामा उन्मुख भएकामा चिन्ता गर्ने कार्यकर्ताका लागि यो सुखद विषय होइन । उनीहरूको आशा छ, महाधिवेशनबाट टुंगो लगाउनुपर्ने धेरै विषयमध्ये एउटा विषय आर्थिक अनुशासनको हुनेछ । साभार:इकान्तिपुर

Thursday, January 31, 2013

Lovely Melodious Folk Song- Khaschha Juna Khasdaina Tika Pun and Mohan Gurung

अहिलेको सरकारमा सहभागी भएर मात्र माओवादीलाई परास्त गर्नसकिने: नेकाँकेस सुजाता कोइरालाले


नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले विपक्षी दलको आन्दोलनको बलमा प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकार नढल्ने कुरा बताउनुभएको छ। भारतको दिल्लीमा भएको बाह्रबुँदे सम्झौता बिपरित अहिलेको दलहरु आन्दोलनमा उत्रिएकाले यो आन्दोलनले भट्टराईको सरकारलाई कुनै असर नपर्ने दाबी उहाँले गर्नुभयो 
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले दलहरुको आन्दोलनले देशमा मुठभेडको अवस्था सिर्जना हुने भएकाले मुठभेड हुन नदिन दलहरुले सहमति र सहकार्यको साथ अघि बढ्नुपर्ने कुरा बताउनुभयो।

अहिलेको सरकारमा सहभागी भएर मात्र माओवादीलाई परास्त पार्नसकिने बताउँदै उहाँले अन्दोलनको बलमा माओवादीलाई परास्त पार्न नसकिने दाबी गर्नुभयो ।


मुलुकको अहिलेको अवस्थामा जननायक विपी कोइरालाको मेलमिलापको नीतिलाई आत्मसात् गरी शान्तिपूर्ण बाटोबाट देशको समस्या समाधान गर्न काँग्रेस र राजनीतिक दलहरुलाई उहाँले आग्रह गर्नुभयो। -रासस 



तत्काल निर्वाचनमा जानेहेतु सहमतिमा आउँन कांग्रेस र एमालेलाई माओवादी अध्यक्ष दाहालको आव्हान


एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले र नेपाली कांग्रेसका कारण संविधान सभा बिघटन भएको कुरा बताउनुभएको छ। सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले खुलामञ्चमा आयोजना गरेको जनजागरण सभामा बोल्दै अध्यक्ष दाहालले यो सभा कसैको भण्डाफोर गर्न नभई जनतालाई यथार्थ कुरा भन्नका लागि गरिएको हो भन्नुभयो।
माओवादी अध्यक्ष दाहालले देशलाई राजनीतिक निकास दिनका लागि नयाँ जनादेश लिनु नितान्त आवश्यक भएकाले तत्काल निर्वाचनमा जानेहेतु सहमतिमा आउँन कांग्रेस र एमालेलाई आव्हान गर्नुभयो।
देशलाई राजनीतिक निकास दिनु आफ्नो गठबन्धनको प्रमुख मुद्दा भएको बताउँदै दाहालले कांग्रेस र एमाले तत्काल सहमतिमा नआए उनीहरुलाई ठूलो क्षति हुनेछ भन्नुभयो।

तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको मृत्युपछि कांग्रेसमा बाह्र-बूंदे समझदारीका विरोधीहरुको बोलबाला भएको विचार पनि व्यक्त गर्नुभयो।
देशको आवश्यकता अनुसार गठन भएको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन संविधान र संघीयताको मुद्दामा एकजुट भएको बताउँदै माओवादी अध्यक्षले गठबन्धन सत्ताको लागि नभएको प्रष्ट पार्नुभयो। 
प्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारुढ गठबन्धन पहिचान सहितको संघीयता, संघीयतासहितको संविधान र संविधान सभाबाटै संविधान जारी गर्न प्रतिबद्ध रहेको कुरा बताउनुभयो। मतदाताले बहुमतको सरकार दिएको खण्डमा आफूहरु काम गर्न सक्छौं भन्ने कुरा आफ्नो सरकारले देखाएको दाबी पनि गर्नुभयो।
यो सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध भएको कुरा पनि प्रधानमन्त्री भट्टराईले स्पष्ट पार्नुभयो। 
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप-प्रधानमन्त्रि एवम् गृहमन्त्री बिजयकुमार गच्छदारले एमाले र कांग्रेसले संघीयता स्वीकार नगर्दा देशको दुर्गति भएको आरोप लगाउनुभयो। यी दुईवटा दलले संघीयता स्वीकार गरेको भए संविधान सभाबाट संविधान जारी भइसक्ने दाबी समेत गर्नुभयो।
मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले समयानुकुल परिवर्तन हुन नसक्ने पुरानो चिन्तन बोक्नेहरु आफै बिलिन हुने दाबी गर्नुभयो।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले  नयाँ संविधान सभाबाटै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान बन्नुपर्ने कुरा बताउनुभयो।
दलित जनजाति पार्टीका अध्यक्ष बिस्वेन्द्र पासवानले सत्ता मागेर नपाइने विचार व्यक्त गर्दै बहुमत जुटाएर सत्ता चलाउन विपक्षीहरुलाई  चुनौति दिनुभयो। तस्वीर सौजन्य: ईकान्तिपुर

इजरेली लडाकु विमानद्वारा सिरियाको सीमाभित्र आक्रमण: दुइजनाको मृत्यु, पाँचजना घाइते

इजरेली लडाकु विमानले सिरियाको सीमाभित्र आक्रमण गरेको कुराको पुष्टि सिरियाली सेनाले गरेको छ। तथापि, लेबनानका लागि हतियारहरु बोकेर गैरहेका गाडीहरु भने त्यस आक्रमणबाट प्रभावित नभएको सेनाले जनाएको छ। 

Iron Dome interceptor battery near Haifa - 28 Januaryसिरियाली सेनाले जारी गरेको विज्ञप्तिमा इजरेली आक्रमणको लक्ष राजधानी दमास्कसदेखि उत्तर-पश्चिममा अवस्थित सैनिक अनुसन्धान केन्द्र बनेको कुरा उल्लेख गरिएको छ। सो आक्रमणमा दुइजना मारिनुका साथै पाचजना घाइते भएको जानकारी विज्ञप्तिमा दिइएको छ। 

लेबनानका सुरक्षा शुत्र, पश्चिमी कुटनीतिज्ञहरु र सिरियाली बिद्रोहीहरुले हतियार बोकेर गैरहेका गाडीहरुको समूहमाथि लेबनानको सिमाना नजिकै सफल आक्रमण गरिएको दाबी गरेका थिए। 

इजरेलले सिरियाका क्षेप्याश्त्रहरु र रासायनिक हतियारहरु लेबनानको हेजबुल्ला जस्ता बिद्रोही समूहहरुको हातमा पर्नसक्ने चिन्ता व्यक्त गरिरहेका बेला सो आक्रमण गरिएको छ। 

अमेरिका र इजरेलले यस घटनाका बारेमा टिप्पणी गर्न नचाहेको कुरा बिबिसीले जनाएको छ। 
तस्विर सौजन्य: बिबिसी

Wednesday, January 30, 2013

नेकपा माओवादी पनि फागुन एक गतेदेखि सडकमा

mohan-Vaidyaविपक्षी गठबन्धन सरकार ढाल्ने अठोठक साथ सडकमा ओर्लिएको बेला नेकपा–माओवादी पनि थपिनभएको छ। महाधिवेशनपछि बसेको करिव एक साता लामो बैठकपछि माओवादीले फागुन १ गतेदेखि सडक तताउने निर्णय गरेको हो।
सङ्घीय गणतान्त्रिक संविधान निर्माणको सुनिश्चितता, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा तथा वर्तमान सरकारको विस्थापन गरी राष्ट्रिय संयुक्त सरकारको गठन गर्न दबाव सिर्जना गर्नक लागि माओवादी  आन्दोलनमा जानलागेको हो।
पार्टीको सातौं महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय समितिको बैठकले चार दलका शीर्ष नेताहरूले राजनीतिक सङ्कट समाधान गर्न नसकेको भन्दै वर्तमान सरकारले गरेका असमान सन्धि सम्झौता तथा सहमतिहरूको खारेजी तथा माओवादीमाथि लगाइएका दैलेखलगायतका जन=युद्धकालीन मुद्दाहरूको खारेजीका लागि दवाव दिन आगामी फागुन १ गतेबाट जनआन्दोलनमा जाने निष्कर्ष निकालेको हो।
यही माघ ७ देखि १३ गतेसम्म पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत बुधबार सार्वजनिक गर्दै पार्टीले फागुन १ गतेको जन-युद्ध दिवस, सहिद सप्ताह, ८ मार्चको अन्तर्र्राष्ट्रिय महिला दिवस, चैत्र ५ को साँस्कृतिक प्रतिरोध दिवस र चैत २५ गतेको जन-आन्दोलन दिवसको सन्दर्भलाई समेत समेटी प्रचार प्रसार, भेला, गोष्ठी, अन्तरक्रिया, धर्ना, घेराउ, जन-प्रदर्शन र मुख्य सहरमा बृहत् जन-प्रदर्शन गर्ने जानकारी दियो।
राष्ट्रिय स्वाधीनताको रक्षा, जनताको सङ्घीय गणतन्त्रात्मक संविधान निर्माण तथा जन-जीविकासँग सम्बन्धित मुद्दाहरूको आधारमा सबै देशभक्त, राष्ट्रवादी, गणतन्त्रवादी, लोकतन्त्रवादी, सङ्घीय पक्षधर शक्तिहरूसँग बृहत्तररुपमा वार्ता, तालमेल, सहकार्य र कार्यगत एकता कायम गर्दै आन्दोलनलाई व्यापक बनाउने नीति माओवादीले लिएको छ।
यस्तै भूपू केन्द्रीय सल्लाकारहरूलाई राखी केन्द्रीय सल्लाहकार समिति बनाउने, गैर-भौगोलिक राज्य समिति हटाउने, मुख्य–मुख्य सहरमा गैर-भौगोलिक संरचनाको रुपमा साधारण शाखा र एकाईहरू बनाउने र प्रवासमा पार्टी सङ्गठन विस्तार गर्ने निर्णय लिइएको अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा उल्लिखित छ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष वैद्यले राजनीतिक सङ्कट समाधान गरी निर्वाचन सुनिश्चित गर्न दलहरू असफल भएकाले आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो।
उहाँले गोलमेच सम्मेलनबाट राष्ट्रिय सहमतिको सरकार निर्माणमा आफ्नो पार्टी सकारात्मक रहेको कुरा पनि दोहोउनुभयो। –रासस

लाइछौ बेसन...(Laichhau besana...) नारायण रायमाझी र सिन्धु मल्ल

निर्वाचनप्रति प्रतिबद्धता जनाएर सत्ता ग्रहण गर्न विरोधीहरुलाई के समस्या छ?


नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले नयाँ संविधान निर्माणका लागि निर्वाचनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने कुरा बताउनुभएको छ। नेपाली कांग्रेस,  नेकपा एमाले, माले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत नौ राजनीतिक दलहरुले वर्तमान सरकारको बर्हिगमन र सहमतिको सरकारको गठनका लागि भन्दै हिजो मंगलबार शहिदद्वारमा आयोजना गरेको संयुक्त विरोधसभालाई सम्वोधन गर्दै महामन्त्री सिंहले राजनीतिक सङ्कटको अन्त्य तथा राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेको बताउनुभयो

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराईले पनि पटक-पटक हरेकजसो कार्यक्रममा नेकपा माओवादीको नेतृत्वको सरकार प्रतिपक्षलाई मान्य नहुने हो भने संविधान सभाको नयाँ निर्वाचनका लागि प्रतिबद्ध हुने कुनै पनि दल वा व्यक्तिको नेतृत्व स्वीकार्न र सरकार छोड्न नेकपा माओवादी तयार छ भनेको हामीले विभिन्न संचार माध्यमहरुमा सुनेकै छौं। 

नेकपा माओवादी निर्वाचन गराउन प्रतिवद्ध कसैका लागि पनि सत्ता त्याग्न तयार छ, नेपाली कांग्रेस र एमालेलाई 'हामी पक्का निर्वाचन गराउछौ' भनेर सत्ता ग्रहण गर्न के समस्या छ? र उनीहरु किन 'वर्तमान सरकारको बर्हिगमन र सहमतिको सरकारको गठनका लागि' नारा दिंदै सडक तताउन लागिरहेका छन? त्यसोभन्दा बरु 'सहमतिको सरकारको गठन र वर्तमान सरकारको बर्हिगमनका लागि' भन्दै सडकमा उत्रिएको भए राम्रो हुन्थ्यो कि। 

'हामी पक्का निर्वाचन गराउछौ' भनेर प्रतिबद्धता जाहेर गर्दै सत्ता ग्रहण गर्नुको साटो पछाडिबाट कान समाउने प्रयास गरिगहेको जस्तो लाग्ने यस अवस्थामा 'माओवादीको गठबन्धन सरकारलाई जतिसक्दो छिटो सत्ताच्युत गराउने' प्रयासस्वरुप यही माघ २६ गते खुल्लामञ्चबाट बृहत् विरोधसभा गरी निर्णायक आन्दोलन गर्ने उद्घोष पनि उनीहरुले गरे। शहिदका तस्बिरमा माल्यार्पणका साथ शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रारम्भ भएको सभालाई सम्बोधन गर्ने ती दलका नेताहरुले 'हामी निर्वाचन गराउन प्रतिवद्ध छौं' भनेर सत्ता ग्रहण गर्न नचाहेर अस्पष्ट बाटो समातेको देख्ने ज्ञात/अज्ञात शहिदहरुले पनि के सोचेहोलान! तस्विर सौजन्य: इकान्तिपुर  

पशुपति मन्दिरमा दैनिक भक्तजनहरूबाट जम्मा हुने भेटी पारदर्शी- विगत दस महिनामै झन्डै सात करोड भेटी सङ्कलन


आफूले गरेको सबै राम्रो, प्रतिपक्षीहरुले गरेको कुनै पनि काम नराम्रो भन्ने, विरोध गरिहाल्ने, अदालतसम्म धाइहाल्ने र अदालतले पनि तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भन्ने आदेश दिइहाल्ने संस्कारले गर्दा हाम्रो देश र जनताले सास्ती बेहोर्नुपरिरहेको छ। नेपाली जनताको रगत र बलिदानको बलमा ल्याइएको प्रजातन्त्र नेपाली राजनीतिक दलहरुका लागि मोलतोल र सत्ता लुछाचुंडीको खेल खेल्ने साधन बनेकोछ। 

नेपालको पहिलो गणतान्त्रिक सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले पशुपतिको व्यवस्थापनसम्बन्धमा गर्नुभएको निर्णय नेपाली कांग्रेसका लागि स्वीकार्य हुनसकेन। दाहालले दाहाललाई मूलभट्ट तोक्यो भन्दै हल्लाखल्ला मच्चाइयो, कांग्रेसका गगन थापा र सुप्रभा घिमिरेहरू भारतीय मूलभट्टलाई हटाउन पाइदैन भन्दै पशुपतिको मूलद्वारमा सुत्न पुगे। प्रतिपक्षको मागलाई स्वीकार गर्दै दाहाल सरकारले आफ्नो निर्णय फिर्ता लियो, अनि कांग्रेसी नेताहरुले फेरि दक्षिण भारत पुगेर भारतीय मूलभट्ट ल्याएर पशुपतिमा विराजमान गराए। 
Pashupatinath Temple
हिनामिना भैरहेको पशुपतिको भेटीलाई व्यवस्थित गर्ने र त्यसबाट बचत हुने रकमबाट पशुपतिकै विकास निर्माणको काम गर्ने भन्ने मनसायले गरिएको दाहाल सरकारको निर्णय नमाने पनि भारतीय मूलभट्टलाई हटाएर नेपाली मूलभट्ट तोक्ने बाहेक माओवादीपछि सत्ता रोहण गर्ने सौभाग्य पाएको एमाले सरकारले गरेको निर्णय दाहाल सरकारले गरेको निर्णय नै हो। 

यहाँनेर स्मरण गर्नलायक कुरा के छ भने, कांग्रेस समर्थनको एमाले सरकारले गरेको यो निर्णय पशुपति क्षेत्रको विकासका लागि हितकर छ भनेर त्यति बेला प्रतिपक्षमा रहेको माओवादीले कुनै विरोध गरेन। यस अर्थमा नेपाल र नेपालीको हित हुनेखालका निर्णयहरु प्रतिपक्षले गरेको भए पनि तीनलाई स्वीकार गर्नुपर्छ भन्ने विवेक नेपाल कम्युनिस्ट पार्टी माओवादीमा भएको देखिन्छ। 

माओवादी सरकारले त्यति बेला पशुपतिका मूलभट्टलगायतका पुजारीहरुको तलब तोक्ने, दैनिक भेटी गणना गर्नेलगायतका विषयमा गरेको निर्णय फलदायी भएको देखिएको थियो। दैनिक भेटी गणना गर्ने क्रममा त्यति बेला एकै दिनमा एक लाख एघार हजार रुपियाँसम्म जम्मा भएको थियो। 

नेपाल सरकारले गत वर्षको चैत्र महिनामा पशुपति मन्दिरमा दैनिक भक्तजनहरूबाट जम्मा हुने भेटीलाई पारदर्शी बनाउन 'पशुपति मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८' लागू गरेपछि विगत दस महिनामै झन्डै सात करोड रुपियाँ भेटी संकलन भएको देखिएको छ, जसमध्ये भेटीबाट ४ करोड २४ लाख ३१ हजार ९ सय ८ रुपियाँ र विशेष पूजाबाट २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपियाँ संकलन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आर्थिक वर्ष २०६७/६८ मा ९६ लाख रुपियाँ र आर्थिक वर्ष २०६८/६९ मा १ करोड १२  लाख रुपियाँ संकलन भएको जानकारी कोषको आर्थिक शाखाले दिएको छ। 

नियमावली लागू हुनुभन्दा अघि पशुपतिका मूलभट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो  नियमावली लागू भएपछि मूलभट्टको तलब निर्धारण गरिएको छ । मासिक डेढ लाख रुपैयाँ मूलभट्टको तलब तोकिएको छ । मूलभट्टको बस्न, खान, टेलिफोन लगायतका सेवा सुविधासमेत डेढ लाख रुपैयाँ निर्धारण गरिएको छ । अन्य पुजारीको पनि करिब एक लाख रुपैयाँ तलब तोकिएको छ ।

मन्दिरमा हाल दैनिक तीसवटा भन्दा बढी विशेष पूजा हुनेगरेका छन्। विशेष पूजामा भक्तजनले तीस हजारदेखि एक लाख रुपियाँ भेटी चढाउने गरेका छन। नवग्रह, हनुमान, उन्मत्तभैरव र चौसठ्ठी लगायतका मन्दिरबाट हाल भेटी संकलन गरिन्छ। मन्दिरमा चढाएकोबहुमूल्य धातु र अन्य जिन्सीको हिसाबकिताब भने कोषले हालसम्म सार्वजनिक गरेको छैन। 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहाटाका अनुसार, जिन्सीमध्येको लत्ताकपडा बिक्रीका लागि राखिन्छ र सुन, चाँदी नियमावलीअनुसार कोषमा राखिन्छ, अन्य चीज बिक्री गरेर पैसा कोषमा जम्मा गरिन्छ। 

संकलित रकममध्ये ३३ प्रतिशत सामाजिक क्षेत्रमा, ३३ प्रतिशत अक्षय कोषमा र बाँकी मन्दिर सत्तल जीर्णोद्धारका लागि प्रयोग गर्नुपर्ने नियमावलीमा उल्लेख छ।

Tuesday, January 29, 2013

नजिस्काउ आँखाको सानले... विजय लामा

जमेको हिउँमाथि नांगै बसेर योग गर्ने हल्याण्डेली नागरिक बीम खोफ

बाउन्न वर्षीय  हल्याण्डेली नागरिक बीम खोफ यस कुरामा प्रतिष्ठित छन, कि उनी आरामदायी गलैंचामा नभई जमेको हिउँमाथि, त्यो पनि नांगै बसेर, योग गर्छन। अझ आश्चर्यको कुरा त के भने, यसरी योगमा तल्लिन रहँदा उनि कत्ति पनि अशान्त देखिदैनन, अथवा जाडोले काँपेको वा हलचल गरेको देखिदैन। 

उनको यस्तो व्यवहारका लागि उनलाई 'ध्रुबीय मानिस'को संज्ञा दिइएको छ। शून्य डिग्रीभन्दा न्यून तापक्रममा यसरी बसेर खोफले आठ पटक विश्व किर्तिमान बनाइसकेका छन्। 

दुइ वर्षअघि फिनल्याण्डमा आयोजित दौड प्रतियोगितामा खोफले शून्यभन्दा बीस डिग्री न्यून तापक्रममा एउटा जाङ्गे मात्र लगाएर बाइस किलोमिटर दौड पूरा गरेर विश्व कीर्तिमान कायम गरेका थिए। अनि सन् दुइ हजार आठमा उनले त्रिहत्तर मिनेट अठ्चालीस सेकेन्ड हिउँको गुफाभित्र बसेर अर्को कीर्तिमान बनाएका छन। त्यसपछि चिकित्सकहरुले गरेको परीक्षणमा उनको शरिरमा कुनै पनि प्रकारको नकारात्मक प्रभाव परेको पाइएन। 

चिसोले कुनै असर नपार्ने खोफको शारीरिक अवस्थाबारे वास्तविकता पत्ता लगाउन वैज्ञानिकहरु समेत असमर्थ देखिएका छन। अन्य कुनै पनि सर्बसाधारण मानिसका लागि घातक साबित हुनसक्ने त्यस कठाङ्ग्रिने चिसोमा बीम खोफले सहज तरिकाले व्यवहार गरेको देख्ने अरु मानिसहरु पनि छक्क पर्नेगरेका छन। तस्विर तथा सामग्री सौजन्य:  ज्नाडेली इचे लि बुइ?

लोकतन्त्र विरोधीहरुको आफै पतन हुने: कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला


sasanka koiralaनेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइरालाले लोकतन्त्रका विरोधीहरु आफै पतन भएर जाने दाबी गरेका छन् ।

एकीकृत (माओवादी) लोकतन्त्रको विरुद्धमा लागेको आरोप लगाउँदै कोइरालाले भने, "लोकतन्त्रलाई नमान्दा राजा रजौटा तथा पञ्चायती पक्षधर जसरी पतन भएका थिए, एमाओवादी पनि यही रवैया जारी राखे  त्यसरी नै पतन भएर जानेछ ।"

स्याङ्जाको कुवाकोटमा दियालो गैरसरकारी संस्थाले आयोजना गरेको विशेषज्ञ स्वास्थ्य शिविरको सोमबार उद्घाटन गर्दै उहाले वर्तमान सरकारका तानाशाही कार्यका विरोधमा जनता सडकमा आइसकेकाले सडकबाटै सरकार ढल्ने दाबी गरे।

मुलुकलाई सही निकास दिन सम्पूर्ण दलहरू मिल्नुको विकल्प नभएको बताउँदै  कोइरालाले भने, "सबै दलहरू बसेर सहमतीय सरकार गठन गर्ने र सोही सरकारले निष्पक्ष निर्वाचन गराउनु नै उत्तम विकल्प हो । रासस

मेरो विचार: पेशाले चिकित्सक डा शशाङ्क कोइरालाले दियालो गैर-सरकारी संस्थाद्वारा स्याङ्जाको कुवाकोटमा आयोजित विशेषज्ञ स्वास्थ्य शिविरको हिजो उद्घाटन गर्दै यस्तो कुरा भन्नुभएछ। कांग्रेसको सदस्य, त्यसमा पनि केन्द्रीय, का नाताले अरुलेझै उहाँले पनि विरोधी बिरुद्ध विष बमन गर्नु स्वाभाविक कुरा हो। तर, विशेषज्ञ स्वास्थ्य शिविरको उद्घाटन गर्ने मानिसले स्वास्थ्यका सम्बन्धमा केही पनि नबोलेर खालि माओवादीलाई मात्रै गाली गरेर आफ्नो भाषण सिध्याउनुभयोहोला भन्ने कुरामा मलाई विस्वास लाग्दैन। यसमा समाचार बनाउने मानिस— पत्रकार– ले पूर्णरुपेण आफू संचारकर्मी बन्न नसकेको प्रष्ट देखिन्छ। 

पत्रकारले समाचार लेख्ने हो, राजनीति गर्ने होइन। वक्ताले बोलेकोमध्ये आफूलाई मनपर्ने मात्र छानेर समाचार बनाउनु समाचार लुकाउनु सरह हो।  अनि समाचार लुकाउनु गैह्र-कानूनी पनि हो, शायद। राष्ट्रिय समाचार सिमितिको व्यवस्थापन पक्षले पनि समाचार प्रवाहित गर्नुअघि कार्यक्रमको विषय-वस्तु प्रेषित समाचारको अन्तर्वस्तु मिल्छ कि मिल्दैन हेरेर त्यसलाई पूर्णता दिने प्रयास गर्नुपर्ला कि।  तस्विर सौजन्य: इकान्तिपुर 

आफ्नो ज्यू-ज्यानको सुरक्षा नभएको भन्दै सुर्खेत पुगेका बाइसजना दैलेखी पत्रकारहरु आज फर्किए

आफ्नो ज्यू-ज्यानको सुरक्षा नभएको भन्दै छ दिनअघि दैलेखबाट सुर्खेत पुगेका बाइसजना पत्रकारहरु आज सुर्खेतबाट दैलेख फर्किएका छन। उनीहरुले सुर्खेतमा मध्य-पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा धर्ना दिनुका साथै वीरेन्द्रनगरमा सरकारी अधिकारीहरु, पत्रकार मित्रहरु र अन्य सम्बन्धित निकायका प्रतिनिघिहरुसङ्ग आफ्नो स्थितिका बारेमा छलफल गरी आफ्नो ज्यू-ज्यानको सुरक्षाको माग पनि गरेका थिए। 

एमाओवादी कार्यकर्ताबाट असुरक्षा भएको भन्दै जिल्ला छाड्नेमध्येका एकजना पत्रकार लोकेन्द्र पौडेलले प्रत्यक्षरुपमा कसैबाट धम्की नआए पनि आफैं असुरक्षित महसुस गरेर जिल्ला छाडेको बताउनुभएको थियो। पौडेलले भन्नुभएको थियो-’औपचारिक रुपमा कसैले धम्की दिएको छैन। हामीलाई सुरक्षा दिने जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरीको सरुवा भएपछि असुरक्षाको महसुस गरेर कार्यथलो छाडेका हौं।’ 

पत्रकार महासंघका सभापति पुस्कर थापाले गत शुक्रबार एभिन्यूज टेलिभिजनसङ्ग कुराकानी गर्दै प्रत्यक्षरुपमा कतैबाट धम्की नआए पनि शुभचिन्तकहरुले दिएको सल्लाहअनुसार जिल्ला छाडेको प्रतिक्रिया दिनुभएको थियो। आफूहरु आठ वर्षदेखि लोकतन्त्र र न्यायको आन्दोलनमा लागेको भन्दै थापाले एकतर्फी समाचार नदिएको दावी पनि गर्नुभएकोथियो। 
अहिले कस्तोखालको सुरक्षा प्रत्याभूति पाएर गृह-जिल्ला दैलेख फर्किनुभयो भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन।



Monday, January 28, 2013

इरानद्वारा बाँदरलाई सफलतापूर्बक अन्तरिक्षमा


इरानले एउटा बाँदरलाई सफलतापूर्बक अन्तरिक्षमा पठाएको छ। पिशगम नामका रकेटमा पठाइएको त्यो बाँदर करिब एक सय बीस किलोमीटरको उचाइसम्म पुगेर सकुशल फर्केको इरानी रक्षा मन्त्रालयले जनाएको छ। 
इरानको सरकारी टेलिभिजनले त्यस बाँदरलाई रकेटतिर लैजादैगरेका तस्विर देखाएको थियो। 
इरानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई लामो दूरीको क्षेप्यास्त्र बनाउन प्रयोग गरिरहेको आशंका पश्चिमी देशहरुले गरिरहेका छन। इरानले भने आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दैआएको छ। 
इरानले सन् दुइ हजार दसमा सफलतापूर्वक मुसा, कछुवा र साना किराहरु अन्तरिक्षमा पठाएको थियो। तर दुइ हजारएघारमा बाँदर पठाउने कार्यक्रम भने असफल भएको थियो। तस्विर सौजन्य: बिबिसी 

भिज्ला है आँसुले पछेउरी... रोशन गुरुङ

ब्राजिलमा रात्रि क्लबमा मारिएका दुइ सय एकतीसजनाको स्मृतिमा मुलुकभरि तीन-दिने शोक


ब्राजिलको सान्ता मारिया नगरमा संचालित किस नामक रात्रि क्लबमा आगलागी हुँदा मारिएका दुइ सय एकतीसजनाको स्मृतिमा मुलुकभरि तीन-दिने शोकमनाउको घोषणा गरिएको छ।
संगीत मण्डलीका एकजना सदस्यले मन्चमा मशाल बाल्दा सो आगलागी भएको दाबी प्रत्यक्षदर्शीहरुले गरेको भनिएको सो दुर्घटनामा मारिएकामध्ये अधिकांश विद्यार्थी रहेको र उनीहरु धुवाँले निसास्सिएर मरेको त्यहाँका सम्बन्धित अधिकारीहरुले जनाएका छन। 
ब्राजिलमा विगत पाँच दशकमा भएको यो सबैभन्दा खतरनाक आगलागी भएको बताइएको छ। 
तस्विर सौजन्य: बिबिसी 

नेपाली महिला क्रिकेट टोलीसङ्ग हंगकंगको टोली पराजित

थाइल्याण्डको प्रेम ओभल क्रिकेट मैदानमा जारी एसियाली क्रिकेट क्लबअन्तर्गत महिलातर्फको प्रतिगितामा नेपालले लगातार चौथो जित हात पारेको छ। मलेसिया, भुटान र संयुक्त अरब इमिरेट्स (युएइ) सङ्गका पहिला तीनवटा खेलमा जित हासिल गरी सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले औपचारिक खेलमा हङकङलाई छ विकेटले हरायो। 

टस टिजेर फिल्डिङ रोजेको नेपाललाई हङकङले चौबीस दसमलव चार ओभरमा ५५ रनको लक्ष्य दिएकोमा नेपालले चार बिकेटको क्षतिमा अठार ओभरमै लक्ष हासिल गर्‍यो। 


नेपाली खेलाडी सरिता मगरले सबैभन्दा बढी, अर्थात चार विकेट लिइन भने नेरी थापा र करुणा भण्डारीले तीन-तीन विकेट।
जबाबी खेलमा नेपालले चार विकेटको क्षतिमा अठार ओभरमै लक्ष हासिल र्‍यो। नेपालका लागि नेरी थापाले सर्वाधिक २३ रन बनाइन भने सरिता मगर १४ रन बनाएर खेलबाट बाहिरिइन।
नेरी थापाले यस खेलको उत्कृष्ट खेलाडीको उपाधि पनि जितिन। तस्विर सौजन्य: इकान्तिपुर 


Sunday, January 27, 2013

भिक्तोरिया अजारेन्कलाई अस्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि


अस्ट्रेलियाली खुला टेनिस प्रतियोगितामा विजय हासिल गरेर बेलारुसकी टेनिस खेलाडी भिक्तोरिया अजारेन्कले आफ्नो अस्ट्रेलियाली खुला टेनिस प्रतियोगिताको उपाधि कायम राखिन। 
यसका साथै उनले विश्व नम्बर एक खेलाडीको उपाधि पनि कायम राखिन। 
प्रतियोगिताको अन्तिम खेलमा अजारेन्कले चीनकी खेलाडी लि नालाई 4-6, 6-4 र 6-3ले पराजित गरेकी हुन।  तस्विर सौजन्य: बिबिसी 

जेठमा निर्वाचन गर्नकै लागि काँग्रेसको नेतृत्व आवश्यक छ:नेकाँ उपसभापति पौडेल


ramchandra poudel

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्वतन्त्र व्यक्तिको नेतृत्वमा संविधानसभाको निर्वाचन हुन नसक्ने बताउनुभएको छ। नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपसभापति पौडेलले नेपाली काँग्रेसलाई जिम्मा दिएमा जेठभित्रै निर्वाचन गराई छाड्ने दाबी गरे गर्नुभयो
"जेठमा निर्वाचन गर्नकै लागि काँग्रेसको नेतृत्व आवश्यक छ,"-  भन्नुभयो। चुनाव हुने सर्तमा जसको पनि नेतृत्व स्वीकार गर्नसकिने बताउने एनेकपा (माओवादी) ले काँग्रेसको नेतृत्व स्वीकार गर्नुपर्ने उहाँको भनाइ थियो।
एमाओवादी चुनाव होस् भन्ने पक्षमा नरहेकाले काँग्रेसको नेतृत्व स्वीकार गर्न हिच्किचाइरहेको पौडेलले  रोप लगाउनुभयो
एमाओवादीका नेताहरूले द्वन्द्वका समयमा भएका घटना उठाउँदा काँग्रेस-एमालेका नेताहरू पनि जेल जानुपर्ने कुरा उठाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले आफूहरूले कुनै अपराध नगरेकाले जेल जानु नपर्ने बताउनुभयो
अपराध गर्ने माओवादी नै जेल जानुपर्ने उहाँको भनाइ थियो । 'हामीले मान्छे मारेका छैन' उहाँले भन्नुभयो, 'जसले मान्छे मार्‍यो त्यही जेल जानुपर्छ ।'
मुलुकमा अख्तियार, संसद जस्ता निकाय नभएको समयमा माओवादीले ब्रहृमलुट मच्चाएको पनि उनले आरोप लगाउनुभयोरासस                                                          तस्विर सौजन्य: इकान्तिपुर 

निदरी रातमा सन्ध्या दाहाल, अनिल घिमिरे र सुसन तामांग

द्विपक्षीय पर्यटन प्रवर्धनका लागि नेपालमा चिनियाँ भाषा शिक्षण आबश्यक


नेपाल र चीन दुबै मुलुकले द्विपक्षीय पर्यटन प्रवर्धनका लागि नेपालमा चिनियाँ भाषा शिक्षणको आबश्यकतामा जोड दिएका छन। नेपाल-चीन भाषा तथा संस्कृति आदान-प्रदान एकेडेमी र चिनियाँ अन्तर्राष्ट्रिय रडियो कन्फुसस कक्षा, नेपालको संयुक्त तत्वाबधानमा काठमाडौँमा आयोजित छलफल कार्यक्रममा दुवै पक्षले दुइ छिमेकी बीच विद्यमान भाषागत दूरीलाई कम गर्दैलाने कुरामा एकमत जाहेर गरे। 

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यांग हौलानले नेपाल र चीन बीचको मित्रताका लागि पर्यटन उद्योग महत्वपूर्ण मंच भएको र दुइ छिमेकी बीच संचारको सेतुका रूपमा भाषाले सेवा गर्ने कुरा बताउनुभयो। एक-अर्काको भाषा बुझेमा पर्यटन-यात्रा झन प्रभावकारी हुने विचार व्यक्त गर्दै राजदूत यांगले नेपालमा चिनियाँ भाषा सिकाउनमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र अन्य संस्थाहरुको भूमिका प्रसंसनीय रहेको कुरा बताउनुभयो।

नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले नेपालले चीनबाट धेरै कुरा सिक्नसक्छ, र फस्टाउँदो चिनियाँ अर्थतन्त्रका बारेमा जानकारी हासिल गर्नका लागि भाषाले महत्वपूर्ण भूमिका निर्बाह गर्दछ भन्नुभयो। उदाउँदो चीन ले नेपालको अर्थतन्त्रमा उत्तोलकको भूमिका खेल्नसक्ने भएकाले चिनियाँ भाषा सिकाइ नेपालको राष्ट्रिय आर्थिक विकासको प्रेरक माध्यम बन्नेसक्ने कुरा मुख्य सचिव पौडेलले बताउनुभयो। नेपालले चीनको भावनालाई बुझी उन्नत भविष्यको मार्गमा अघि बढ्नुपर्ने कुरा पनि पौडेलले बताउनुभयो।  

उ चुन थाई नेपालका लागि नयाँ चिनियाँ राजदूत


जन-गणतन्त्र चीन सरकारले उ चुन थाईलाई नेपालका लागि नयाँ चिनियाँ राजदूतमा नियुक्त गरेको छ। श्री उ हाल चिनियाँ विदेश मन्त्रालयमा वाह्य सुरक्षा मामिला विभागका उप-महाप्रबन्धक हुनुहुन्छ। 

चीन सरकारले यसै हप्ता नेपालका लागि आफ्ना राजदूत यांग होलानलाई उहाँको तीन वर्षे कार्यावधि सकिनुअगावै फिर्ता बोलाएको थियो। 

जन-गणतन्त्र चीनको राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको पछिल्लो निर्णयपछि उहाँलाई समय अगावै बोलाइएको थाहा भएको छ। 

सुरक्षा विशेषज्ञका रुपमा परिचित होलान सन् दुइ हजार एघारको जुनमा नेपालका लागि चिनियाँ राजदूतका हैसियतमा नेपाल आउनुभएको थियो। 

चीन सरकारले यस अघिका चिनियाँ राजदूत छ्यु कुओ हुङ्गलाई पनि उहाँको कार्यवधि सकिनुअगावै फिर्ता बोलाएको थियो। 

काठमाडौँको सडक ठूलो हुँदा जनताकै शिर उच्च हुने : सचिव बाँस्कोटा


नेपाल सरकारले काठमाडौँलाई ऐतिहासिक र विश्वकै मन जित्ने राजधानी बनाउने अवधारणा अघि सारेर त्यसको गुरु योजना तयार गर्नका लागि काठमाडौँ उपत्यका प्राधिकरण गठन गरिसकेको छ। त्यसका लागि काठमाडौँ उपत्यकाका सडक विस्तार सँगसँगै हरियाली काठमाडौँको समेत अवधारणा अघि सारिएको छ। विस्तार गर्न लागिएका कतिपय सडकहरू साइकल लेनसहित अपाङ्गमैत्री हुने छन्।

तथापि केही कूटनीतिक नियोगले समयमा आवश्यक निर्णय गर्न ढिलाइ गरेका कारण काठमाडौँ उपत्यकाका केही ठाउँमा सडक विस्तारको काम प्रभावित भएको देखिएको छ। स्विस् राजदूतावासले भने आफ्नो जमिन छोडदिएर जहाँ जति सरकारको नीति हो, त्योअनुसार आफ्नो पर्खाल सारिसके तापनि अमेरिकन, रसियन, चिनियाँ र इटालियन दूतावासका कारण केही समस्या देखिएको सरकारी अधिकारीले स्वीकारेका छन।

सडक विस्तारको क्रममा सम्बन्धित दूतावासलाई पर्खाललगायतका संरचना सार्न ध्यानाकर्षण गरिसकेको भए पनि उनीहरूले हालसम्म सडकको मापदण्डभित्र परेका ती आफ्ना संरचना हटाएका छैनन। समयमा ती दूतावासले संरचना नहटाइ दिँदा त्यस्ता कूटनीतिक नियोग रहेको ठाउँमा सडक विस्तारमा केही हदसम्म समस्या देखिएको छ। अमेरिका, चीन, रसियालगायतका मुलुक नेपालको अत्यन्त घनिष्ट मित्रका रूपमा रहनुका साथै नेपालको विकासका लागि उनीहरूले महत्वपूर्ण योगदान गर्दैआएका छन।
सरकारले ती दूतावाससँग यस विषयमा छलफल र समन्वय गर्न  परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई निर्देशन दिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सचिव कृष्णहरि बाँस्कोटाले दिनुभयो।
बेलायती सहयोग नियोग डिएफआइडीले भने  सरकारले गरेको अनुरोधलाई सकारात्मक ढङ्गले लिएर आफ्नो पुरानो पर्खाल भत्काएर सडकलाई आवश्यक पर्ने मापदण्डबमोजिमको जग्गा छाडिसकेको जानकारी सचिव बाँस्कोटाले दिनुभयो।
काठमाडौँ उपत्यकाको सडक विस्तारको क्रममा परेको जग्गाको कसैलाई पनि मुआब्जा सरकारले दिएको छैन, यो विस्तारको सिद्धान्त मुआब्जा दिएर बाटो विस्तार गर्ने होइन, तर पनि आम नागरिकको अग्रभागको कट्टा भएर सडकमा जाने जग्गा र संरचनालाई पछाडि सार्दा लाग्ने मूल्यको सामान्य क्षतिपूर्तिवापतको खर्च दिइएको छ, पुरै घर-जग्गा सडकमा परेर सुकुम्बासी हुनेलाई केही राहतस्वरूप क्षतिपूर्ति दिइएको, कहीँ कतै भत्केका संरचनामा नयाँ बनाउँदा गर्नुपर्ने नक्सा पासवापतको दस्तुर नलिने र ठूलो पर्खाल बनाउनुपर्ने ठाउँमा सरकार स्वयमले बनाइदिने तर रकम नदिने सरकारको नीति रहेको जानकारी उहाँले दिनुभयो।
भत्काइएका संरचनालाई हटाएर छ महिना, १० महिना र १८ महिनामा सक्ने गरी तीन खाले समय तोकेर सडक निर्माणका लागि सरकारले ठेक्का दिएको छ।
छिटो निर्माण गर्ने ठेकेदार र सरकारी इन्जिनियरलाई पुरस्कार दिने नीति भएकाले निर्माणको कामलाई तीव्रताका साथ गर्न उत्प्रेरित तथा प्रोत्साहित गर्ने काम भइरहेको छ। यस वर्षको अन्त्यसम्ममा काठमाडौँमा विस्तार हुने भनिएका सडकहरू कालोपत्रे भइसक्ने दाबी सचिव बाँस्कोटाले गर्नुभयो।
पुस र माघ महिनामा अत्यधिक चिसो भएकाले कालोपत्रे गर्न नमिल्ने हुँदा काम रोकिएको बताइएको छ। पछिल्लो समय भौतिक योजना तथा निर्माण मन्त्रीलगायत सम्बन्धित निकायका पदाधिकारीले नियमित रूपमा विस्तारको क्रममा रहेको सडकको अनुगमन गर्नाले तोकिएको समयमै निर्माण पूरा हुने अपेक्षा गरिएको छ।
सडक विस्तारको क्रमसँगसँगै नयाँ बानेश्वर चोकमा प्रत्येक दिन एकलाखको हाराहारीमा सडक काट्ने भएकाले त्यहाँ फ्लाइओभर बनाउने कामको लागि अन्तिम चरणमा छलफल भइरहेको बताइएको छ ।
अझै पनि कतिपय स्थानमा टेलिफोनका क्याविनेट, विद्युतको ट्रान्सफरमर, मन्दिर र शालिकले गर्दा सडक विस्तारको काममा अबरोध भैरहेको छ। त्यस्तै केही ठाउँमा तोकिएको सीमाङ्कनको विषयमा समस्या देखिएको पाइएको छ।
कहीँ कतै भने सडक छेउमा व्यक्तिले निर्माण गरेको पर्खाल ठूलो भएर फुटफाथ सानो देखिएको समेत भेटिएको छ। सरकारले फुटफाथ कम्तिमा दुई मिटरको हुनुपर्ने मापदण्ड तोकेको छ।
उपत्यकाको २०० किलोमिटर सडक अहिले विस्तारको क्रममा छ। सोमध्ये कतिपय बाटाहरु कालोपत्रे गरिसकिएको छ भने कतिपय कालोपत्रे गर्ने अन्तिम अवस्थामा छन। केही ठाउँमा फुटपाथ बनेपछि  तुरुन्तै कालोपत्रे गर्नसकिने अवस्थामा छन। केही स्थानमा भने अझै पनि ढलको काम भइरहेकाले सो काम सकिनासाथ पक्की गरिने छ।
काठमाडौँ उपत्यकाभित्रका सडक विस्तार गर्ने सरकारको नीतिअनुसार हालको चक्रपथको स्तरोन्नति गरेर आठ लेन चौडा बनाउने कामको थालनी भइसकेको छ।
चिनियाँ सरकारको सहयोगमा पहिलो चरणमा चक्रपथ विस्तारको काम कोटेश्वरदेखि सातदोबाटो हुँदै कलङ्कीसम्म गरिनेछ।
सडक विस्तारमा भइरहेको काम र  प्रगतिका बारेमा जानकारी लिन सचिव बाँस्कोटाको नेतृत्वमा रहेको टोलीले आज उपत्यकाका विभिन्न सडकको अवलोकन गर्‍यो। टोलीले हालसम्म भएको प्रगतिको समीक्षा गरी सन्तोषजनक ढङ्गले काम भइरहेको प्रतिक्रियासमेत दिएको छ।
सचिव बाँस्कोटाले काठमाडौँबासीलाई सडक विस्तार गर्ने सरकारले लिएको अभियान आमजनताकै अभियान हो, काठमाडौँको सडक ठूलो हुँदा जनताकै शिर उच्च  हुने हो, यसमा कुनै किसिमले मन सानो नगरौँ, सडक ठूलो हुँदा मूल्य पनि बढ्छ, भत्काइएका संरचनापछि नयाँ बनेका घर र ठूला सडकले काठमाडौँ सुन्दर देखिएकाले यसमा सहयोग गर्न आह्वानसमेत गर्नुभयो।
सडक विस्तारमा संलग्न निकायका सरकारी अधिकारीहरू भन्छन्– “जुन बेला घर भत्किएको थियो त्यो बेला चित्त दुखेको भए पनि अहिले बाटो ठूलो भएको, भत्काइसकेपछि घर नयाँ बनाएकाले काठमाडौँ अहिले एकदमै नयाँ, फुटफाथ पनि नयाँ, घरपनि नयाँ, पिच पनि नयाँ, बाटो पनि ठूलो चौडा भएको हुनाले काठमाडौँको मुहार नै परिवर्तन आएको छ।”
उनीहरूको विचारमा आगामी दुई/चार महिनामै काठमाडौं नयाँ रूपमा प्रस्तुत हुनेछ। रासस 

Saturday, January 26, 2013

आज पौष शुक्ल पूर्णिमा- स्वस्थानी ब्रतारम्भ



आज पौष शुक्ल पूर्णिमा- आजका दिनदेखि स्वस्थानी ब्रत प्रारम्भ भएको छ। आजैदेखि माघ स्नान गर्ने र (अधिकांश हिन्दु नेपालीका घरमा सात्विक भावले श्रद्धा-भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा-आराधना गरी) स्वस्थानीको कथा सुन्ने तथा सुनाउने गरिन्छ। 

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई स्वामीका रूपमा पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरेपछि उनको मनोकांक्षा पूरा भएको कथा नै स्वस्थानी ब्रत कथा हो।

शिव-पार्वतीको बिबाह भइसकेपछि लोक कल्याणका निम्ति परम्परागतरुपमा सोही ब्रत कथा प्रचलित रहिआएको मानिन्छ। 

सुख, सन्तोष, उन्नति तथा परमार्थमा शिव लोक पाउने कामनाका साथ जगदीश्वर महादेवको स्तुति एवम् भक्तिभावपूर्वक पौष शुक्ल पूर्णिमादेखि शुरु गरिने श्री स्वस्थानी परमेश्वरीको ब्रत, पूजन तथा कथा-श्रवण गर्ने क्रम एक महिना, अर्थात माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।  

इजिप्टको अदालतद्वारा एक्काइसजनालाई मृत्यु दण्डको सजाय

इजिप्टको अदालतले फुटबल क्लबका समर्थकहरु बीच गत बर्षको फरवरी महिनामा भएको भिडन्तका अभियोगी एक्काइसजनालाई मृत्यु दण्डको सजाय सुनाएको छ। 

इजिप्टका इतिहासमा सबैभन्दा हिंश्रक मानिएको त्यस भिडन्तमा परी चवहत्तरजना मानिस मारिएका थिए।

सो भिडन्त इजिप्टको पोर्ट सईद रंगशालामा देशका सर्वोच्च फुटबल टोली बीच प्रतिष्पर्धा भैरहेका बेला भएको थियो। 

सो घटनामा दिबंगत भएकाहरुका आफन्तहरुले अदालतको निर्णयको स्वागत गरेका छन भने, कतिपय स्थानमा त्यसको विरोध पनि भएको छ।