Wednesday, January 9, 2013

नेपाल कम्युनिस्ट पार्टी माओवादीको सातौं महाधिवेशन आज काठमाडौँमा शुरु हुँदै


नेपाल कम्युनिस्ट पार्टी माओवादीको सातौं महाधिवेशन आज काठमाडौँमा शुरु हुँदैछ। महाधिवेशनमा मुलुकभरिका नेता, कार्यकर्ता र प्रतिनिधि, अनि देश बाहिरका संगठनका प्रतिनिधि गरी करिब दुइ हजारको सहभागिता रहने छ। महाधिवेशनले  पार्टी अध्यक्ष मोहन वैद्यद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ। बन्द सत्रका अवधिमा पार्टी सचिव देव गुरुङ्गले प्रस्तुत गर्नुहुने वैधानिकता सम्बन्धी प्रतिवेदनमाथी पनि छलफल हुने कार्यक्रम छ। 

महाधिवेशनको उद्घाटन समारोह टुँडिखेल खुला मन्चमा आज दिउँसो एक बजे हुने र भोलिदेखि नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा बन्द सत्र शुरु हुने कार्यक्रम तय गरिएको छ। 

पार्टी प्रवक्ता पम्फा भुसालले दिनुभएको जानकारीअनुसार, अधिराज्य तेरवटा राज्य समितिबाट आठ सय प्रतिनिधि, आठ सयजना पर्यवेक्षक र देश भित्र तथा बाहिरबाट आएका पाँच सय स्वयंसेवकले महाधिवेशनमा भाग लिनेछन। यसका साथै, भारतमा रहेका प्रवासी राज्य समिति, अन्तर्राष्ट्रिय राज्य समितिहरु (यूरोप)का प्रतिनिधिहरुका साथै क्यानाडा, फिलिपिन्स र प्रजातान्त्रिक गणतन्त्र कोरियाका कम्युनिस्ट पार्टी नेताहरुले उद्घाटन र समापन समारोहमा भाग लिने जानकारी उहाँले दिनुभयो।  

यसैबीच, नेकपा माओवादीका कार्यकर्ताहरूले महाधिवेशनबाट 'जन-युद्ध' को दिशा नै पारित गराउन आफ्ना अगुवामार्फत केन्द्रीय नेताहरुलाई सन्देश पठाएका छन् । अधिकांश राज्यसमितिले आज शुरु हुने पार्टीको सातौं महाधिवेशनबाट 'जन-युद्धको बलमा जन-विद्रोह' को कार्य-दिशा पारित गर्न दबाब दिएका हुन् । जिल्ला तथा राज्य समितिस्तरमा भएका अधिवेशनबाट पनि 'जन-युद्ध'को दिशालाई नै पार्टीको कार्य-दिशाका रूपमा पारित गरेर पठाएका छन् ।

No comments:

Post a Comment