Wednesday, January 9, 2013

हामी नयाँ नेपाल बनाउन चाहन्छौं: नेपाल कम्युनिस्ट पार्टी, माओवादीको सातौं महाधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष वैद्य

नेपाल कम्युनिस्ट पार्टी, माओवादीका अध्यक्ष मोहन वैद्यले सातवटा पानशमा बत्ती बालेर पार्टीको सातौं महाधिवेशनको आज काठमाडौँको खुलामन्चमा उद्घाटन गर्नुभयो। 


सो अवसरमा बोल्दै अध्यक्ष वैद्यले आफ्नो पार्टीले भारतको विरोध गरेर नभई उससङ्ग राम्रो सम्बन्ध बनाएर अघि बढ्नचाहेको कुरा स्पष्ट पार्नुभयो। अध्यक्ष वैद्यले नेपाल विस्तारबादीहरुको स्वार्थपूर्तिको अखडा बन्दैगएको आरोप पनि लगाउनुभयो। भारतसँग भएका असमान सन्धि-सम्झौताका कारण नेपालको राष्ट्रिय स्वाधिनता जोखिममा परेको धारणा व्यक्त गर्नुभयो। 
संसदवादी दलहरुसङ्गको मोर्चाले देश अघि बढ्न नसक्ने विचार व्यक्त गर्दै वैद्यले 'नयाँ मोर्चा बनाएर नयाँ जनवादी क्रान्तिमा लाग्नु जरुरी छ' भन्नुभयो। दस वर्षे सशस्त्र युद्धको उद्देश्य पूरा हुननसकेको कुरा बताउँदै उहाँले दक्षिणपन्थीहरुसँग आफ्नो पार्टीले सम्बन्धबिच्छेद गरेको कुरा बताउनुभयो।
अध्यक्ष वैद्यले सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरेर सबै मुद्दाहरुको छिनोफानो गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आफ्नो पार्टी उत्पीडित जातिहरुको पहिचानसहितको संघीयताकै पक्षमा भएको कुरा पनि वैद्यले प्रष्ट पर्नुभयो।
'हामी पुरानो शैलीमा सिंहदरबारमा छिर्न चाहन्नौं', अध्यक्ष वैद्यले भन्नुभयो, 'हामी नयाँ सिंहदरबार बनाउन चाहन्छौं, नयाँ नेपाल बनाउन चाहन्छौं।'

No comments:

Post a Comment