Wednesday, January 9, 2013

कुनै निश्चित घटनामा नअल्झीउँ भन्नुको अर्थ हिंसा र दण्डहिनताको पक्षपोषण गर्नखोजेको हैन

नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले आज प्रधानमन्त्री डा‌. बाबुराम भट्टराईको अभिब्यक्तीको विरोध र पत्रकार हत्याको निष्पक्ष छानविनको माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिए। धर्नाको समर्थनमा मानव अधिकारकर्मीहरुको पनि सहभागिता थियो । महासंघ अध्यक्ष शिव गाउँलेले प्रधानमन्त्रीको अभिब्यक्ती मुलुकको कार्यकारी प्रमुखको तर्फबाट आएको सबैभन्दा गैरजिम्मेवारपूर्ण रहेको भन्दै त्यसको विरोध गर्न धर्ना आयोजना गरिएको बताउनुभयो। 

यसैबीच, प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले एक प्रेस नोट सार्बजनिक गरी दैलेख घटनाको विषयलाई लिएर प्रधानमन्त्रीसँग जोडेर आएका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको कुरा उल्लेख गर्नुभएको छ।  प्रेस नोटमा उहाँले वुधबारका संञ्चार माध्यममा आएका ‘प्रधानमन्त्रीको आदेशमा अभियुक्तको वयान रोकियो’, ‘अधिकारवादीले उक्साए’ आसयका समाचार निराधार भएको प्रष्ट पार्नुभएको छ


प्रेस नोटमा 'मंगलबार वेपत्ता राजेन्द्र ढकालको स्मृति कार्यक्रममा प्रधानमन्त्रीद्वारा अभिव्यक्त धारणाको आशय व्यक्ति–व्यक्ति गर्दै पक्राउ गरेर समस्या समाधान हुँदैन भन्ने हो। त्यसकारण सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी देशैभरि द्वन्दको क्रममा भएका घटनाको निष्पक्ष अध्ययन अनुसन्धान गरी समग्र प्रक्रियामा अगाडि बढ्नुपर्छ भन्ने हो। व्यक्ति-व्यक्ति गरेर जानथाल्ने हो भने माओवादी मात्र होईन, कांग्रेस, एमाले, सुरक्षा निकाय कोही चोखो रहँदैन्। त्यस्तो प्रक्रियामा जाँदा समस्याको समाधान हुँदैन, द्वन्द्व नयाँ तरिकाबाट फैलिन सक्छ भन्नेतिर ध्यान पुयाउनु जरुरी छ।' भनिएको छ।  
प्रेस नोटमा 'त्यसैले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी आयोगले दोषी ठहराएकाहरु विरुद्ध कारबाही प्रक्रिया अघि बढाउनुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको धारणा हो। र, द्वन्द्व समाधान गर्ने संसारभरि चलेको सही तरिका पनि यही हो। घटनाबारे सत्यतथ्य पत्ता लगाई पहिलो प्राथमिकता मेलमिलापलाई दिउँ र मिल्न नसक्ने गम्भीर प्रकृतिका घटनामाथि कारवाही अघि बढाउँ भन्ने प्रधानमन्त्रीको आशय हो र दलहरुवीच भएको सहमति पनि त्यही हो' भनिएको छ।

लामो समयदेखि रोकिइरहेको सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यादेश राष्ट्रपतिबाट छिटो जारी भएमा यो समस्या छिटो र न्यायपूर्ण ढंगले समाधान हुनेमा सवैको ध्यान जान जरुरी छ। कुनै घटना विशेषमा नजाउँ भन्नुको अर्थ हिंसा र दण्डहिनताको पक्षपोषण गर्नखोजेको हैन, नयाँ द्वन्द्वको सिर्जना नहोस् भनेर सावधानी अपनाउनखोजिएको मात्र हो। द्वन्द्वका घाउलाई निको पारेर मुलुक निर्माण प्रक्रियामा अघि बढ्नुपर्छ भन्ने अन्तरिम संविधान र बृहद् शान्ति सम्झौताको समेत मर्म रहेकाले निश्चीतखालका घटनालाई मात्र उचाल्नु र चर्काउनु प्रत्युतत्पादक हुनसक्छ। दण्डहिनताको अन्त्य गर्नुपर्छ र दोषीलाई कारवाही गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री दृढ हुनुहुन्छ, प्रेस नोटमा भनिएको छ।

यस सन्दर्भमा बेलायत सरकारले नेपाली सेनाका महासेनानी कुमार लामालाई अनधिकृत ढंगले गिरफ्तार गरी द्वन्दकालका मुद्दा लगाउनु सर्वथा आपत्तिजनक र नेपाली सार्वभौमसत्तामाथि गम्भीर अतिक्रमण गरेको दुःखद घटनाप्रति सवै शान्तिप्रेमी, लोकतन्त्रवादी र देशभक्त नेपालीहरु संवेदनशील र एकतावद्ध रहन प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ, प्रेस नोटमा भनिएको छ। तस्विर सौजन्य: इकान्तिपुर


No comments:

Post a Comment