निर्वाचन आयोगले २०६९ माघ मसान्तसम्म अठार वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान गर्ने अधिकार दिनेभएको छ । निर्वाचन ऐन, कानुन संशोधन प्रस्तावमा उक्त मितिलाई उमेर सीमा तोकिएको छ। अठार वर्ष पुगेको र नागरिकता प्राप्त गरी माघ मसान्तभित्र मतदाता नामावलीमा दर्ता भएको नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने व्यवस्था गरिएको कुरा आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले बताउनुभयो।
आगामी निर्वाचनमा सहभागी गराउने प्रयोजनका लागि आयोगले फोटोसहितको मतदाता नामावली संकलन गर्नेहेतु 'यही पुसभित्र कर्मचारी खटाउने र नामावली दर्ताका निम्ति एउटा गाविसमा तीन दिनसम्म टोली रहने' व्यवस्था गर्नलागिएको जानकारी पनि प्रवक्ता ठाकुरले दिनुभयो।
सरकारले वैशाखमा निर्वाचन गर्ने भनेअनुसार तयारी गर्नथालिएको र त्यसका लागि आबश्यक ऐन, कानुनका बाधाअड्काउ फुकाउन, निर्वाचनको मिति घोषणा गर्न र आयुक्त छिटो नियुक्त गर्नका लागि सरकार र राष्ट्रपतिको ध्यानाकर्षण गराइसकिएको जानकारी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संचारकर्मीहरुलाई दिनुभयो। निर्वाचन आचारसंहिता र राजनीतिक दलसम्बन्धी विधेयकबारे आयोगले यसै साता छलफलको तयारी गरेको जानकारी पनि गुरुङले दिनुभयो।
आगामी राष्ट्रिय निर्वाचनमा विद्युतीय मतदान यन्त्रको उपयोग गर्ने प्रस्ताव आयोगले गरेको छ । यस सन्दर्भको अनुरोध-प्रस्ताब भारत सरकारसित गरिसकिएको छ ।
No comments:
Post a Comment