दरबारियाहरुले आत्महत्या गर्न बाध्य पारिएका भीमसेन थापाकी श्रीमतीले सती जाँदा यस देशका मानिसमा कहिलेइ बुद्धी नआवस भनेर श्राप दिएकी थिइन भनेर दस कक्षाको इतिहासमा पढ्न पाइएको थियो। त्यतिबेला त यस्तो श्राप पनि लाग्छ र भन्नेजस्तो लाग्थ्यो। तर लाग्दोरहेछ, खासगरी, आफूलाई प्रजातन्त्रका योद्धा भन्न रुचाउने ठेकेदारहरुलाई।
त्यस श्रापले यी 'प्रजातन्त्रवादीहरु'को दिमागमा यसरी जरो गाडेछ कि यिनीहरुको बुद्धी आफ्नै खुट्टामा ढुंगा हान्नेसम्म भ्रष्ट भैसकेछ। यिनीहरुको दिमागमा प्रजातन्त्र भन्ने शब्दको ठाउँमा 'साम, दाम, दण्ड, भेद' भन्ने शब्दहरुको समूहले मात्र बास गरेछ। त्यसैले यिनीहरु जसरी पनि प्रधानमन्त्रीको कुर्चीसम्म पुग्ने बाहेक अर्को कुरा सोच्नै नसक्ने भैसके।
आफ्ना यस्ता कुकर्मका कारण जनतामाझ जान डराइरहेका यी राजनीतिक दलका नेताहरु कुर्चीमा पुगेर आफूखुशी समय बढाउँदै खान तयार देखिन्छन, तर रिक्त संवैधानिक पदहरुमा नियुक्ति गर्न चाहदैनन।
निर्वाचनको घोषणा त गरे, तर त्यसलाई कार्य रूप दिन यिनीहरु तयार देखिदैनन। हुँदाहुँदा अब त निर्वाचन आयोग आयुक्त विहिन हुँदा समेत यिनीहरु ती खाली ठाउँ पूर्ति गर्नका लागि सहमति गर्न चाहदैनन। निर्वाचन आयोगका कार्यवाहक आयुक्त दोलखबहादुर गुरुङ र अर्का आयुक्त अयोधिप्रसाद यादवले बिहीबारदेखि अनिवार्य अवकास पाएपछि आयोग हिजोदेखि पदाधिकारी विहीन भएको छ। यसप्रति यिनलाई कुनै चासो छैन। चिन्ता छ त खालि अर्कालाई कसरी कुर्चीबाट हटाएर आफू त्यसमा बस्ने भन्ने कुराको!
बेइमानीको पनि हद हुन्छ, देश चल्नुपर्दैन? अब निर्वाचन आयोगका आयुक्तहरुले खाने तलब-भत्ता पनि आफै खाने विचार गरेका छन कि राजनीतिक दलका नेताहरुले?
तत्काल पदाधिकारी नियुक्ति र नीति निर्माणको काम शुरु भए आगामी जेठ महिनामा चुनाव गराउन सकिने निर्बाचन आयोगले जनाएको छ। तर यी खेलाडीहरु तत्काल त के, सात-सात महिनासम्म कुर्चीकै लडाइंमा व्यस्त देखिन्छन। यिनलाई अन्तर्राष्ट्रिय नियम, मान्यता, अभ्यास कुनै कुराको पनि मतलब छैन। मतलब छ त खालि बाबुरामलाई हटाएर आफू सत्तामा जाने चिन्ताको। त्यसैले, निर्वाचन आयोग जस्तै अन्य संवैधानिक निकायहरु, जस्तै महालेखा परीक्षकको कार्यालय, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रमुखविहीन भैसकेका छन, तर यिनीहरु योग्य मानिस नियुक्त गर्नुको साटो आफ्नो नजिकको समर्थकलाई नियुक्त गर्ने प्रतिस्पर्धामा जुटका छन्- अर्काले गरेको मान्दैनौं भन्छन, आफू गर्न चाहदैनन।
No comments:
Post a Comment